समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

Read Time = 3 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आज आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ ।”

जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादीरूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गर्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्तीमगरले तीजमार्फत अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्टहरू भौतिकवाद र विज्ञानमा विश्वास गर्छन्, उनीहरूले तीजलाई समाज रूपान्तरणका लागि चेतना विस्तार गर्ने पर्वका रूपमा मनाउनुपर्छ ।”

अखिल (क्रन्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी महासङघ, महिला विभागले पनि आज यहाँ तीज विशेष कार्यक्रमम आयोजना गरेको छ । सो कार्यक्रममा विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीले तीज मनाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?