नवौँ राष्ट्रिय खेलकुद : पोखरा रङ्गशालामा स्वास्थ्य केन्द्र सञ्चालन

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमितरूपमा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुदलगायत प्रदेश र जिल्ला छनोटलाई मध्यनजर गर्दै खेलाडीको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीको सहज पहुँच र उनीहरूको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यलाई आग्रह गर्नुभयो ।
खेलाडीको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड बनाई तयारीमा जुट्नसमेत उहाँले आग्रह गर्नुभयो । उपसमितिको बैठकमा सिनियर फिजियोथेरापिस्ट तथा सल्लाहकार डा. खड्गसिंह गुरुङ, नेपाली सेना फूलबारी ब्यारेकका सेनानी जीवन पौडेल, सोही ब्यारेकका स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्य शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा बैठकमा सहभागी हुनुहुन्थ्यो ।

पोखरा रङ्गशालामा सञ्चालन हुने स्वास्थ्य केन्द्रमा हाल एकजना स्वयंसेवी परिचारिका नियुक्त गरिएको छ भने थप चिकित्सक र फिजियोथेरापिस्टसहितको जनशक्तिका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ । गण्डकीका विभिन्न जिल्लामा खेलाडी प्रशिक्षण सुरु भएको छ भने निर्माणाधीन खेल पूर्वाधारलाई पूर्णता दिन लागिएको छ ।

पोखरा रङ्गशालामा राष्ट्रिय खेलकुद मूल आयोजक समितिको कार्यकारी सचिवालयको स्थापना गरी आवश्यक व्यवस्थापकीय र प्रशासनिक कार्य सुरु भएको छ । प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, प्रचारप्रसार, स्वास्थ्य, स्वयंसेवक व्यवस्थापनलगायत विभिन्न उपसमितिमार्फत् काम अघि बढाइएको छ ।

१६ खेलमा खेलाडी छनोट हुने
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरबाट १६ खेलमा खेलाडी छनोट हुने भएका छन् । जिल्ला खेलकुद विकास समिति पाँचथरका अनुसार प्रदेश नं. १ प्रदेश खेलकुद विकास बोर्डले पाँचथरलाई विभिन्न १६ खेलमा खेलाडी छनोट गर्ने कोटा निर्धारण गरेको छ ।
भदौ १ गतेबाट खेलाडी छनोट सुरु भएको हो । जिल्लामा छनोट भएका खेलाडी प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने र प्रदेश खेलकुद प्रतियोगिताबाट छनोट भएपछि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउँछन् । जिल्लाबाट फुटबल, भलिबल, ब्याडमिन्टन, तेक्वान्दो, कराँते, बक्सिङ, टेबलटेनिस, कबड्डी, उसु, बुद्धिचाल, कुस्ती, एथलेटिक्स, फुलकन्ट्र्याक्ट कराँते, जुडो र आइटिएफ तेक्वान्दोका खेलाडी छनोट हुन लागेको जिल्ला खेलकुद विकास समिति पाँचथरले जनाएको छ ।

छनोट कार्य यही भदौ ९ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समिति पाँचथरका कार्यालय प्रमुख दुस्यन्त बस्नेतले जानकारी दिनुभयो । खेलमैदान तथा अन्य संरचनाको अभावले खेलाडी छनोटको कार्य यसपटक सदरमुकामभन्दा बाहिरसमेत भइरहेको छ । अधिकांश खेलको छनोट सुरु भएको बस्नेतले जानकारी दिनुभयो । जिल्लाबाट छनोट हुने खेलाडीको सङ्ख्या यकिन हुन बाँकी रहेको तर प्रशिक्षकले आवश्यकभन्दा बढी खेलाडी योग्यताक्रमअनुसार छनोट गर्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?