✍️ श्रीमन नारायण
दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न नेपाल भ्रमणले दुई देशवीचको सम्बन्धमा नयाँ ऊर्जाको सञ्चार गर्नमा सफलता प्राप्त गरेको छ । केही अघिमात्रै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दक्षिणी छिमेकी भारतको भ्रमण गरेका थिए । भारत भ्रमणकाबेला प्रधानमन्त्री देउवाले काशी (बनारस) पुगी भगवान विश्वनाथको पूजा गर्नु र भारतका प्रधानमन्त्री मोदीले बुद्धपूर्णिमाका दिन लुम्बिनीमा भगवान बुद्धको पूजा गर्नुले हाम्रो धार्मिक एवं सांस्कृतिक सम्बन्ध एवं समानताको प्रगाढता र महत्वलाई दर्शाउँछ ।
जसरी दुवै देशले आफ्ना नेताहरूको भ्रमणमा धार्मिक महत्वका शहरहरूलाई प्राथमिकता दिने काम गरे, यसको उद्देश्य निकै गहिरो र दूरगामी परिणाम दिने खालको हुने सम्भानवालाई खारेज गर्न सकिँदैन । यथार्थमा भारत हाम्रो नजिकको छिमकेकी र मित्रराष्ट्र मात्रै होइन, हाम्रो महत्वपूर्ण र अग्रणी सहयोगी पनि रही आएको छ । दुई देशबीच रोटी-बेटी र रोजगारीको सम्बन्ध छ । सांस्कृतिक रूपले यी दुई देशबीचको सम्बन्ध निकै गहिरो र अटुट रही आएको छ ।
हाल यताका केही वर्षमा नेपालको उत्तरी छिकेकी चीनले नेपालसितको सम्बन्धमा प्रगाढता ल्याउन सांस्कृतिक पक्षलाई महत्व दिन थालेको छ । लुम्बिनीमा उसको चासो र सक्रियता यसैको उदाहरण हो । बुद्ध धर्म र संस्कृतिको विकासको नाममा चीनको बढ्दो सक्रियता भारतलाई मन नपर्नु स्वभाविक नै हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त स्वयं नै सनातन धर्म संस्कृतिका गहिरो जानकार र मर्मज्ञ पनि हुन् । धार्मिक आधारमा कूटनीतिक सम्बन्ध कायम गर्ने प्रश्नमा मोदीसित विश्वका कुनै नेताले प्रतिस्पर्धा गर्न सक्दैनन् ।
नेपालको पूर्वाधार विकास साथै धार्मिक क्षेत्रमा समेत चीनको बढ्दो अभिरुचिलाई कमजोर बनाउन मोदीको लुम्बिनी भ्रमण भएको हुनसक्ने टिप्पणी गरिन्छ । मायादेवी मन्दिरमा उनले जुन एकाग्रचित्त मनले ध्यानपूर्वक पूजा गरे त्यसले उनलाई आध्यात्मिक भावका व्यक्तिहरूमा थप सम्मानित स्थान दिलाएको छ । एक किसिमले यो मोदीको धार्मिक कूटनीति थियो, साथै नेपालको लुम्बिनी र भारतको कुशीनगर तथा बिहारको बोधगयाको भू-भागलाई समेत समेटी ‘बुद्ध सर्किट’ निर्माणको विषय जुन चर्चामा ल्याइएको छ त्यसले नेपाल-भारत सम्बन्धको सांस्कृतिक पक्षलाई थप बलियो बनाउनेछ । भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा चिसिएको दुईपक्षीय सम्बन्धलाई पुरानो अवस्थामा फर्काउन हाम्रा प्रधानमन्त्रीले धेरै प्रयास गरेका छन् ।
बुद्धका कारण लुम्बिनी विश्व भरिका बौद्ध अनुयायीहरूको निम्ति आस्थाको प्रमुख केन्द्र रहेको छ । बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्न चीन विगत एक दशकदेखि त्यहाँ लगानी गरिरहेको छ । लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा उसको भूमिका देखिनुका कारण त्यही नै हो । अब चीन त्यहाँ विश्व शान्ति केन्द्रको स्थापना गर्न चाहन्छ । मोदीको लुम्बिनी भ्रमणमा ‘इण्डिया इन्टरनेसनल सेन्टर फर बौद्ध कल्चर एण्ड हेरिटेज’को शिलान्यास हुनुलाई भारतको लुम्बिनीप्रतिको प्राथमिकताको रूपमा बुझ्नुपर्ने हुन्छ ।
मोदीले आफ्नो लुम्बिनी भ्रमणको थालनी मायादेवी मन्दिरको दर्शनसित गरे । भगवान बुद्धको जन्म यसै ठाउँमा भएको मान्यता छ । मोदी देउवा दुई पक्षीय वार्तामा भारतीयद्वारा नेपालमा सञ्चालित परियोजनालाई निर्धारित समयमा पूरा गर्न अहिलेसम्म भएका कार्य प्रगतिको समीक्षा पनि भयो । भारत अहिले नेपालमा बिजुली परियोजना, सञ्चार एवं डिजिटलसहित कतिपय क्षेत्रमा काम गरिरहेको छ । यसबाहेक भारत र नेपालबीच बिजुली उत्पादनका क्षेत्रमा सम्झौता भएका छन् । भारत र नेपालका विभिन्न विश्वविद्यालयबीच कतिपय सम्झौता भएका छन् । उच्च शिक्षाको दृष्टिकोणले यी सम्झौता महत्वपूर्ण हुन् । दुवै नेताबीच खुला सिमानाको दुरुपयोग हुन नदिन, आपसी समन्वय एवं सहयोगबाट अपराधजन्य घट्नालाई रोक्ने विषयमा वार्ता भएको बुझिन्छ ।
वि.सं २०७४ सालको आमनिर्वाचन पश्चात् नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्वमा झण्डै दुई तिहाइ बहुमतको सरकार अस्तित्वमा आएपछि नेपाल-भारत सम्बन्धमा तिक्तता आउन थालेको थियो । त्यस सरकार प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी दलभित्रको अन्तरकलहलाई रोक्न भावनात्मक विषयलाई बढी चर्चामा आए । भावनात्मक मुद्दालाई राष्ट्रवादको आवरण दिएर आफूलाई एकमात्र राष्ट्रवादी तथा यसबारे समीक्षा, पुनर्विचार अथवा संयमित सुझाव दिनेलाई राष्ट्र विरोधको कित्तामा उभ्याउने ओलीको नितिले नेपाल-भारत सम्बन्धमा हिउँ जमाउने काम नै गरे । नेपाल-भारत सम्बन्धमा चिसोपन ल्याउने खालका जति दुई पक्षीय मुद्दाहरू चर्चामा ल्याउन सकिन्थ्यो ती सबै विषयलाई ओलीले चर्चामा ल्याइदिए । यसले दुई पक्षीय सम्बन्धलाई कमजोर बनाउने काम गर्यो ।
सत्ताधारी दलको बढ्दो अन्तरकलहलाई रोक्न ओलीले एकपछि अर्को विधेयक ल्याउँदै गए । नेपालको राजनीतिमा निर्णय गरिसकेपछि फुर्सतमा समीक्षा, चिन्तन अथवा विश्लेषण गर्ने काम गरिन्छ जबकि विश्वका प्रायः सबैजसो देशहरूमा पहिले प्रमाण एवं नक्शाको खोजी गरिन्छ, त्यसको सम्भावित परिणाम र प्रत्येक सम्भव विषयमा गहन छानविन, विचार विमर्श र व्यापक अध्ययन अनुसन्धान पश्चात् मात्रै दुई देशसित सम्बन्धित विषयमा नक्शा जारी गर्ने काम गरिन्छ । देशको भौगोलिक सिमानासित जोडिएको विषयमा कसैले विरोध गर्ने प्रश्न नै आउँदैन तर यसको प्राप्तिको सम्भावना र असरको बारेमा पनि समीक्षा हुनुपर्दथ्यो ।
त्यतिमात्रै होइन ओली सरकारले वीरगञ्जको ठोरीमा भगवान रामको जन्मस्थल अयोध्या भएको दाबीसमेत गर्न थाले । एककिसिमले नेपाल-भारत सांस्कृति सम्बन्धलाई गलत दिशा दिने यो प्रयास थियो । विनाअध्ययन प्रमाण एवं तयारी उनले अयोध्याको घोषणा त गरे तरपछि त्यस अयोध्यायलाई चितवनको ठोरी र एक वर्षपछि चितवनकै माडीलाई नै अयोध्याभूमि बताएर आफ्नै भनाइलाई अपुष्ट सावित गर्ने काम गरे ।
कोभिड-१९ को संक्रमणका बेला पूरै विश्व आफ्नो नागरिकको आधारभूत आवश्यकताको पूर्ति र जीउ-ज्यानको सुरक्षाको चिन्ता गरिरहेका बेला ओलीले भारतीय भेरिएन्ट भनेर भारतलाई जिस्काउने काम गरेका थिए । काठमाडौंको बिमेस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले बिमस्टेक राष्ट्रका सदस्यहरूबीच सैन्य अभ्यासको प्रस्ताव गरे तर ओली सरकारले यसमा सहभागिता जनाएन जबकि चीनद्वारा आयोजित सैन्य अभ्यासमा नेपालको सहभागिता थियो । केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा यस्ता खालका अनेकौं निर्णय गरेका थिए ।
ओली सरकारको बहिर्गमन हुनुभन्दा केहीअघि सरकारले दक्षिणी छिमेकीसितको सम्बन्धलाई सुधार्ने प्रयास गरेको थियो तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । प्रधानमन्त्री शेरबहादु देउवाले आफ्नो एक वर्षको कार्यकालमै भारतसितको सम्बन्धलाई पूर्ववत् अवस्थामा फर्काइदिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले अहिलेसम्म छ पटक नेपालको भ्रमण गरिसकेका छन् । डेढ मिहनाभित्रै दुवै देशका प्रधानमन्त्रीले एकअर्का देशको भ्रमण गर्नुले नेपाल-भारत सम्बन्ध सही दिशामा उन्मुख रहेको मान्न सकिन्छ । दुई पक्षीय सम्बन्ध र सांस्कृतिक पक्षलाई बलियो बनाउनमा मोदीको यो नेपाल भ्रमण सफल सावित भएको छ ।