साहुकारको जालसाजीले हेर्दाहेर्दै सुकुमबासी, ४५ हजार ऋणको ब्याज दुई वर्षमै आठ लाख

हिमालय टाइम्स
Read Time = 11 mins

डिबी शर्मा/प्रकाश मैनाली/हिटा
काठमाडौं, सर्लाही । २०७६ जेठमा सर्लाहीको चन्द्रनगर गाउँपालिका-३ दनुवार बस्तीकी सुशीला देवीकी नातिनी बिरामी पर्नुभयो । उपचार गर्ने खर्च थिएन । बड्कुर्वाका साहुकार नरेश चौधरीसँग १० हजार ऋण लिनुभयो । १० हजारले उपचार पुगेन । थप तीनपटक गरी ४५ हजार ऋण लिनुपर्‍यो । ऋण लिएको तीन महिनापछि नरेश सुशीलाको घरमा पुगे । कागजपत्र गर्न ताकेता गरे । उहाँले सावाँ-ब्याजसहित हिसाब माग्नुभयो । नरेशले तीन महिनामै दुई लाख २० हजार पुगेको सुनाए । उहाँ छाँगाबाट खसेझै हुनुभयो । ‘म त छाँगाबाट खसेझैँ भएँ । ४५ हजार ऋणको तीन महिनामै दुई लाख २० हजार कसरी पुग्यो भनेँ,’ त्यो दिन सम्झिँदै सुशीलाले भन्नुभयो, ‘साहुले गाउँमा हप्तेब्याज चलेकाले सबैलाई यही नियम लागू हुने सुनाए ।’ साहुकारको आदेश मान्नुको विकल्प थिएन । नरेशले गाउँकै लेखनदास हेमलाल महतोलाई कपाली तमसुक बनाउन लगाए । मूलधन दुई लाख २० हजार रुपैयाँको तमसुक बनाइदिए । तिर्नुपर्ने म्याद अवधि १० वर्षको तोके । त्यस अवधिको सावाँ, ब्याज हिसाब गर्दा ६ लाख ८१ हजार निस्कियो । यही रकम उल्लेख गरेको कागजमा नरेशले सुशीलालाई हस्ताक्षर गर्न लगाए । साहुको बदमासी लेखपढ नगर्नुभएका सुशीला र उहाँका श्रीमान् पुनेधरसिंह दनुवारले मेसो पाउनुभएन । साहुले भनेअनुसार तमसुकमा सही गरेको सुशीलाले बताउनुभयो ।

दुई महिनापछि सुशीलाले बयलवास बजारस्थित निर्धन लघुवित्तबाट एक लाख ७० हजार ऋण काढेर नरेशलाई बुझाउनुभयो । तर, एक महिनापछि ऋणको ब्याज धेरै रहेको भन्दै नरेशले दनुवार परिवारको १० कठ्ठा जमिन कब्जा गरे । आफूलाई जग्गा कमाउन दिए ब्याज तिर्नु नपर्ने आश्वासन दिएर जमिन प्रयोग गरे । त्यसपछि मालपोत र नापीका कर्मचारीको साथ लिएर जग्गा रोक्का गरिदिए । लगत्तै आठ लाख ४५ हजार रुपैयाँ दाबी गर्दै अदालतमा मुद्दा हाले । साहुसँग कानुनी लडाइँ गर्न सक्नेबारे सुशीलाले सोच्न पनि सक्नुभएन । कुनै उपाय नलागेपछि उहाँसँग भएको १० कठ्ठा जमिन छिमेकी मनिराम साहलाई पास गर्न राजी हुनुभयो । त्यसबापत आएको आठ लाख ४५ हजार रुपैयाँ साहुकार नरेशलाई बुझाउनुभयो ।

‘नरेश साहुसँग मैले लिएको ४५ हजार मात्रै हो । तर, आठ लाख ४५ हजारको हिसाब कसरी निस्कियो । हाल बस्दै आएको झुपडी रहेको १५ धुर जमिन पनि अहिले सुशीलाको परिवारसँग छैन । यो जग्गामा मोही हक दाबी परेपछि आधा-आधा गर्नुपर्ने भयो या आधा जमिनको पैसा तिर्नुपर्ने भयो । तर, पैसा नभएपछि उहाँले आफन्तलाई गुहार्नुभयो । मोही दाबी गर्नेलाई नन्दले पैसा बुझाइदिइन् र पूरै जमिन आफ्नै नाममा पार्नुभयो । त्यही घडेरीमा रहेको झुपडी पनि चुहिने भइसकेको छ । प्लाष्टिकले बेरेर जेनतेन पानी तर्काउनुभएको छ । भएको जग्गा गुमेपछि भकारी पनि रित्तिएको छ ।

न जग्गा बच्यो न पैसा
साहुकर नरेशपीडित सुशीला देवी मात्रै हुनुहुन्न । नरेशकै कारण चन्द्रनगर-७ नाडीटोलका विजयसिंह दनुवारको परिवार पनि सुकुमबासी बनेको छ । घर बनाउन विजयसिंहले नरेशसँग तीन लाख ऋण लिनुभएको थियो । जसका लागि उहाँले पाँच कठ्ठा ११ धुर जमिन साहुको नाममा दृष्टिबन्धक राख्नुभएको थियो  । केही समयपछि विजयसिंहले गाउँमै रहेको लघुवित्तबाट एक लाख ५० हजार निकालेर नरेशलाई बुझाउनुभयो । ऋण कम भएको अनुमानपछि उहाँले साहुकारसँग हिसाब माग्नुभयो । तर, नरेशले सुरुमा हिसाब देखाउन इन्कार गर्नुभयो । पटक-पटक कर गरेपछि उहाँले हिसाब उतारेको कागज देखाउनुभयो । तर, ऋण पुगेको थियो, नौ लाख ६६ हजार ।

‘हामीलाई लेखपढ गर्न आउँदैन । सादा कागज ल्याए । त्यसैमा हस्ताक्षर गर्न लगाए,’ विजयसिंहकी श्रीमती ज्योति देवीले भन्नुभयो, ‘हामीले तीन लाख रुपैयाँ मात्रै लिएका थियौँ । लघुवित्तबाट लिएको एक लाख ५० हजार रुपैयाँ पनि उनैलाई दिएका थियौँ । तर, उनले हामीलाई नौ लाख ६६ हजारको कागज देखाए । हामी केही गर्न सक्ने अवस्थामै भएनौँ ।’

साहुको जालसाजी थाहा पाएपछि विजयसिंहलाई तनाव भयो । उहाँ अन्यायबाट मुक्ति पाउने उपायको खोजी गर्न थाल्नुभयो । जब जग्गा धितो राखेर ऋण निकाल्ने सोचमा बैंक पुगे तब थाहा भयो साहुकार नरेशले दृष्टिबन्धकमा रहेको जग्गा श्रीमती सुभद्रा कुमारीको नाममा पास गराइसकेका रहेछन् । हेर्दाहेर्दै विजयसिंह सुकुमबासी बन्नुभयो । ‘म त हेर्दाहेर्दै सुकुमबासी भएँ । मेरो जग्गा जालसाजीपूर्वक साहुकारले खाए । हारगुहार गर्दै सबैकहाँ धाएँ, तर मेरो कुरा कसैले सुनेनन् । अन्यायमा परेको म अब कहाँ जाऊँ ?’ विजयसिंह भन्नुहुन्छ ।

विजय अहिले दैनिक गुजाराका लागि बयलवास क्षेत्रमा सोलर मिलमा बोरा बोक्ने काम गर्नुहुन्छ । उहाँकी श्रीमती ज्योति, तीन छोरी र एक छोरा छन् । श्रीमती गाउँमै ज्याला-मजदुरी गर्नुहुन्छ । गाउँमा काम नहुँदा विजय परिवार पाल्न भारत पनि जाने गर्नुहुन्छ ।

साहुकारको जालसाजीले विजयसिंह हेर्दाहेर्दै सुकुमबासी बन्नुभयो । विजय सिंहकी श्रीमती ज्योति देवीले भन्नुभयो, ‘हामीलाई लेखपढ गर्न आउँदैन । सादा कागजमा ल्याप्चे लगाएका थिए । हामीले तीन लाख रुपैयाँ मात्रै ऋण लिएका थियौँ । एक लाख ५० हजार रुपैयाँ साहुकारलाई तिरेका पनि थियौँ । फेरि पनि उनले हामीलाई नौ लाख ६६ हजारको कागज देखाए । हामी गरिब मान्छे, अन्याय हुँदा पनि केही गर्न सकेनौँ ।’

खुल्न थाले पीडित, ४२७ जानले दिए उजुरी
सरकारले ‘मिटरब्याजी’ आरोपितविरुद्ध उजुरी दिन आ≈वान गरेपछि पीडितहरू धमाधम खुल्न थालेका छन् । सरकारले गरेको आ≈वानपछि सर्लाहीमा मात्र ४२७ जनाले उजुरी गरेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो । सरकारले भदौ ५ गतेसम्म उजुरीको समय दिएको थियो । समय सकिए पनि कतिपयले अझै उजुरी दिइरहेको उहाँले बताउनुभयो । भदौ ५ पछि आएका उजुरीको छुट्टै लगत राखेर दर्ता गर्ने काम भइरहेको उहाँको भनाइ छ । गत बिहीबार सबैभन्दा धेरै उजुरी परेको उहाँले जानकारी दिनुभयो ।

गत बिहीबार पीडितहरूले सदरमुकाम मलंगवामा प्रदर्शनसमेत गरेका थिए । पीडितहरूले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले समेत सहभागी भई समर्थन जनाएका थिए । सर्लाहीमा मुख्यत ‘मिटरब्याजी’ आरोपितमा ‘श्याम परदेशी’ भन्ने श्यामकृष्ण साह, रामबाबु राय, सञ्जय साह रौनियारको नाम पहिलेदेखि चर्चामा रहे पनि पछिलो समय इन्दल राय, रामस्वरूप राय, रामचन्द्र राय लगायतको नाम पनि आउन थालेको छ ।

यो समस्या सर्लाहीको मात्रै होइन । मुलुकका विभिन्न ठाउँमा ‘मिटरब्याज’को अवैध धन्दाले जरा गाडेको छ । धेरैलाई घरबारविहीन बनाएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटरब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराध पनि बढेको छ । सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । पैसाको गर्जोे टार्न विशेष गरी गरिबहरूले ब्याजमा पैसा लगाउने धन्दा गर्नेहरूसँग प्रचलित दरभन्दा धेरै बढी ब्याज तिर्ने कबोल गरेर पैसा लिने गरेका छन् । यसरी ऋण लिनेमध्ये अधिकांश त गरिब मात्र होइन निरक्षरसमेत छन् । उनीहरू नै बढी ठगिएका छन् । तिनलाई पैसा दिने बेलामा गराइएको घरायसी कागजमा प्रायः ऋणको अंक नै बढाउने गरेको धेरै उदाहरण देखिएको छ । दिनेको नियत नै ऋणीको सर्वस्व हरण लुट्ने हुने गरेको पनि देखिएको छ । नेपालको प्रचलित कानुनअनुसार यसरी पैसा सापटी दिएर चर्को ब्याजमा पैसा असुल्न पाइँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?