-राधिका बुढाथोकी
सिन्धुली । कमलामाई नगरपालिका–२ भद्रकालीमा रहेको गणेस्थान मन्दिर भक्तजनको आस्था केन्द्र बन्दै गएको छ । यस मन्दिरमा मंगलबारको दिन भक्तजनहरुको विशेष उपस्थिति हुने स्थानीय मन्दिर संरक्षक तथा साविकको भद्रकाली गाविस सचिव थलकुमार गौतम बताउनु हुन्छ ।
मन्दिरमा आफूले चिताएको कुरा सम्झेपछि पूरा हुने जनविश्वास छ । ‘मन्दिरको दर्शन गरेपछि निःसन्तानलाई सन्तान प्राप्त भएको छ,’ उहाँले भन्नु भयो, ‘एउटा मात्र बर माग्नुस, तीन पटक मन्दिरमा आएर भगवानको दर्शन गर्नुस्, चिताएको कुरा पूरा हुन्छ ।’
उहाँकाअनुसार, प्रत्यक मंगलबार दुई सय जनाको हाराहारी दर्शनार्थिहरुको भीड हुुन्छ । मंसिरे पूर्णिमाको पंचमीका दिन मेला लाग्ने गर्दछ । सिन्धुलीमाढी सदरमुकामबाट नजिकै भएको र मन्दिरसम्म पुग्ने बाटो सजिलै भएकाले यहाँ जान समस्या नहुने उहाँले बताउनु भयो ।
गणेस्थानको सौन्र्दयता कालीनाग झरनाले झनै बढाएको छ । झरनाको शीरमा कालीनागको बास भएकाले कालीनाग झरना भन्ने गरिएको दर्शनार्थीहरु बताउँछन् । यहाँको पानीले नुहाउँदा, पिउँदा शारीरिक, मानसिक रोग कम हुने र सोचाईमा सकारात्मता आउने जनविश्वास छ ।
मन्दिरमा सिन्धुली आसपास र छिमेकी जिल्लाहरुबाट भक्तजनहरु आउने गरेका छन् । त्यस्तै, हेटौडा, जनकपुर, वीरगंज लगायत देश, विदेशका भक्तजनहरु मन्दिरमा दर्शन गर्न आउने गरेको स्थानीय मन्दिर संरक्षक गौतमले बताउनु भयो ।
धार्मीक आस्था र विश्वासले मात्र होइन, यहाँको प्राकृतिक सौन्दयको कारण पनि सबै उमेर समुहका आन्तरीक तथा बाह्रय पर्यटकहरु आउने गर्दछन् । बाह्रै महिना छछल्किरहने झरना, बगिरहने खोला, रसाइरहने खोल्सी, रुख, बुट्याङले बनाएको हरियाली र चराचुरुङगीले बजाएको मीठो धुनले सधैं सबैको मन लोभ्याइरहन्छ । गर्मीयाममा शीतल्ताकाे खोजी गदैँ तराईबाट समेत गर्मी छल्न आउने व्यक्तिहरुको संख्या बढ्दै गएको उहाँले बताउनु भयो ।
गणेश मन्दिर नजिकै झरना छ । गणेशमा मन्दिरमा गणेश भगवानको शिला देख्न सकिन्छ । मन्दिर परिसरमा महादेव भगवानको मुर्ति पनि राखिएको छ । धार्मिक, प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण भएको यस स्थल परिसरभित्र बेलाबेलामा धार्मिक, सामाजिक र राजनीतिक कार्यक्रम समेत हुने गरेको छ ।
४० बर्षअघिसम्म उक्त ठाउँ महाविकट भएका कारण हत्तपत्त कोही जाने आँट गर्दैन थिए । स्थानीय सरकारले दुर्गम ठाउँमा सडक विस्तार गरेपछि र स्थानीयहरुले जनश्रमदान गरेर मन्दिर परिसर क्षेत्र विकटबाट विकासमा रुपान्तरित गर्न थालेपछि यहाँ भक्तजन तथा पर्यटकहरुको राम्रो उपस्थिति देखिन थालेको हो ।
गाउँको बस्तीबाट टाढा रहेको यस्तो मनमोहक, पवित्र ठाउँ २०३९ सालमा स्वर्गीय शुरबहादुर गौतमले पहिलो देख्नु भएको उहाँका नाति थलकुमार बताउनु हुन्छ । यस मन्दिरको इतिहास आफ्नो हजुरबुवासँग जोडिएको उहाँले बताउनु भयो । ‘घना जंगलमा ओडार, ओडारभित्र भीरबाट पानी झरिरहने र त्यसको पेरिफेरीमा आफू (भगवान गणेश) प्राकृतिक आकृतिमा साक्षतकार हुने सपना देखेपछि हजुरबुबा स्थानीय अगुवाहरु मेघनाथ चौलाई, केदारबहादुर कार्की, झलकबहादुर कार्की लगायतको समूहलाई लिएर सपनामा संकेत दिएको ठाउँ खोज्न निस्कनु भएछ । १०/१२ दिनमा यो ठाउँ पत्ता लागेपछि उहाँले नियमित रुपमा पूजाआजा गर्न थाल्नु भयो । स्वर्गारोहण हुने केही दिनअघिसम्म उहाँ यहाँको पुजारी हुनुहुन्थ्यो । हजुरबुवा स्वर्गारोहण भएपछि यहाँको पुजारी ठूलो बुबा हुनुहुन्छ,’ थलकुमारले सुनाउनु भयो ।
मन्दिरका संस्थापक तथा पुजारी स्वर्गीय शुरबहादुर गौतमले भेट्दा चुन ढुङ्गामा गणेश भगवानको आकृती (प्राकृतिक मुर्ति), त्यसको पछाडीपट्टी ढुङ्गा थियो । उक्त ढुङ्गा भीरमा टाँसिएर रहेको अवस्थामा देखिन्थ्यो । २०५० सालमा आएको बाढीपहिरोले दुबै ढुङ्गालाई सारिदियो । गणेश भगवानको प्राकृतिक मुर्ति ढालिदियो । त्यसबेला, स्वर्गीय पुजारी गौतमले भगवान भएको भए बाढीपहिरो केहीले पनि असर गर्न नपर्ने, भगवान होइन रहेछन् भनेर पूजा गर्न छाड्नु भएको थियो । तर, भक्तजनहरु आउने क्रम रोकिएन, दर्शनार्थी बढ्दै गए । त्यही ढलेको आकृतिमा पूजा गरिरहे । हजुरबाले पनि आफू भ्रममा परेको भनेर शिला राखेर पूजा गर्न थाल्नु भएको थियो,’ उहाँले स्वर्गीय हजुरबुबालाई उद्धत गदैँ मन्दिरको इतिहास सुनाउनु भयो ।
पहिला त्यहाँको संरचना विकट भएपनि भगवान प्रतिको विश्वासले सबैको नीकट भयो । धार्मिक तथा पर्यटकीय स्थलका रुपमा उजागर गर्न स्थानीयहरु कृषि औजार ल्याएर जुटे । मन्दिरको नाममा श्रमदान भयो । यी र यस्ता कतिपय क्रियाकलाप गर्दाको प्रत्यक्षदर्शी उहाँ पनि हुनुहुन्थ्यो । स्थानीय मन्दिर संरक्षक थलाकुमारले मन्दिरको इतिहास मात्र बताउनु भएन, मन्दिरको वर्तमान अवस्था र भावी योजनाबारेमा पनि एक्लै सुनाउनु भयो ।
उहाँले अझै भन्नुभयो, ‘स्वर्गीय पूजारी गौतमले गणेश भगवानको प्राकृतिक आकृतिमा मात्र पूजा गर्न पाउनु भयो । उहाँलाई गणेश मन्दिर बनाएर व्यवस्थित रुपमा पूजा गर्ने मन थियो । गणेश मन्दिर बनाउने बारे गाउँका अगुवाहरुसँग छलफल पनि गर्नु भयो । सबैले बनाउनु पर्छ भन्नेमा सहमती जनाए । तर, बनाउनका लागि कम्मर कसेर अगाडी बढ्ने कोही भएनन् । पुजारी गौतमले देह त्याग गर्नु भयो । त्यसपछि श्रीमद् भागवत महापुराण सप्ताह लगाएर गणेश मन्दिरको स्थापन गरियो । मन्दिरस्थलसम्म सजिलै पुग्ने बाटो (भर्याङ्ग) बनाइएको छ ।’
कालीनाग झरना स्थलमा पोखरी बनाएर नुहाउने ठाउँ बनाउने, झरनामा कालीनागको मन्दिर बनाउने लगायतका योजनामा उहाँ हुनु हुन्छ छ । ‘महाकाली, महालक्ष्मी, महासरस्वती, पाथीभरा, यस क्षेत्रमा बौधलम्बी धेरै भएकाले बुद्धको शिला र नाग भगवानको शिला राखेर नुहाउन मिल्ने पोखरी बनाउन पाइयो भने यसको आर्कषण र महत्व अझ बढ्ने थियो,‘ उहाँले भन्नु भयो ।
सरकारी पक्षबाट सहयोग भएन भने फेरी पुराण लगाएर संरचना बनाउने उहाँको लक्ष्य छ । धार्मिक, प्राकृतिक सौन्र्दय, सम्पदाहरुकको संरक्षण, प्रर्वधन गरेर पर्यटक भित्त्राउन सके देशलाई समृद्ध बनाउन सहयोग पुग्ने उहाँको बुझाई छ ।
प्राकृतिक सौन्र्दयता बढी भएका धार्मिकस्थलहरुमा आस्तिक मात्र जाँदैनन्, नास्तिक पनि जान्छन् । कमलामाई नगरपालिका–२ भद्रकालीमा रहेको गणेशस्थान मन्दिरको सौन्र्दय बढाउन र उक्त स्थलप्रति सबैलाई आर्कषण गराउन मन्दिरनजिकैको झरनाले विशेष भूमिका खेलेको छ । यसले मन्दिरको प्रचारप्रसारमा समेत सहयोग पुगेको स्थानीयबासी बताउँछन् ।
मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले मन्दिर नजिकै रहेको झरनामा फोटो खिचेर फेसबुकमा हाल्ने र भिडियो बनाएर टिकटकमा हाल्ने गरेपछि उक्त ठाउँको प्रचारप्रसारमा निकै सहयोग पुगेको स्थानीयबासिन्दा कान्छीमाया तामाङले बताउनु भयो । ‘झरनामा रमाउनेको भीड शनिबार र अन्य सार्वजनीक बिदाको दिन हुन्छ । यी दिनमा सिन्धुलीमाढी बजारबाट सरकारी, गैरसरकारी संघसंस्थाका कर्मचारी पनि आउँछन्,’ उहाँले भन्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच