स्वतन्त्रता सेनानी होमनाथ दाहाल र कमल चित्रकार सम्मानित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रजातान्त्रिक विचार समाजले वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी होमनाथ दाहाल र स्वतन्त्रता सेनानी संघका संस्थापक अध्यक्ष तथा लोकतान्त्रिक आन्दोलनका अभियन्ता कमल चित्रकारलाई सम्मान प्रदान गरेको छ ।

सम्मान पत्र दोसल्ला तथा नगद रु पच्चीस हजार सहित उहाँहरुलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा सम्मान गर्नुभएको हो ।

कार्यक्रममा वोल्दै प्रधानमन्त्री देउवाले निर्दलीय निरंकुशताको कठीन दमनका समयमा समेत होमनाथ दाहालले सम्पादन र प्रकाशन गरेको साप्ताहिक राष्ट्रपुकार नै लोकतान्त्रिक आन्दोलनको प्रचारप्रसारको मुख्य माध्यम भएको बताउनु हुँदै दाहालले लोकतन्त्रकालागि पुर्याएको योगदान महत्वपूर्ण रहेको विचार प्रकट गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, 'कमल चित्रकार कठीन दिनमा समेत दृढतापूर्वक लोकतन्त्रमा सक्रिय हुनु भएको हुनाले योगदानलाई सबैले सम्मान गर्नु पर्ने छ ।' दाहाल र चित्रकारलाई सम्मान गरेर प्रजातान्त्रिक विचार समाजले सराहनीय काम गरेको प्रधानमन्त्रीको विचार थियो ।
दाहाल र चित्रकार दुवैजना आठदशक वय पार गरिसक्नुभएको स्वतन्त्रता सेनानी हुनुहुन्छ । दाहाल प्रजातान्त्रिक विचार समाजको संस्थापक र पूर्व सभापति समेत हुनुहुन्छ ।

वि.सं. २०५२ सालमा तत्कालीन पार्टी नेता गिरिजाप्रसाद कोइरालाको विशेष आग्रहमा प्राध्यापक विसी मल्लको नेतृत्वमा समाजको स्थापना भएको स्मरण गर्दै संमानित दाहालले लोकतान्त्रिक आन्दोलनलाई सचेत गराउन, यसलाई बौद्धिक ऊर्जा प्रदान गर्न नै यसकोपरिकल्पना गरिएको जानकारी दिनु भएको थियो ।

चित्रकारको स्वास्थ्य कमजोर रहेका कारण उहाँकी धर्मपत्नी गंगा चित्रकारले सम्मान ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहालले अहिले लोकतन्त्रको वटवृक्षका जराहरु कुहिन लागेको तर टुप्पामा देखिएका सासाना मुनाहरुलाई हेरे सन्तुष्टि लिने प्रयास भइरहेकोमा चिन्ता प्रकट गर्नुभएको थियो । उहाँले वृक्षको भित्री चुरो धूलोपीठो हुँदै गएको अवस्थामा वोक्रा सद्दे छन् भन्ने भ्रम पालेर वस्नु घातक हुनसक्नेतर्फ सबैले सचेत हुनु पर्ने आग्रह गर्नुभयो । उहाँले दाहाल र चित्रकारले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदानको चर्चा गर्नु भएको थियो ।

समाजका सभापति डा. केदार नरसिंह केसीले सभापतिको आसनबाट वोल्दै लोकतन्त्रलाई अपवित्र गठबन्धनले क्षति तुल्याएको र अबका दिनमा नेपाली कांग्रेसलाई कमजोर बनाउने खेलहरु यसैमार्फत हुनसक्ने हुँदा पार्टी सभापति एवम् प्रधानमन्त्रीले विचार पुर्याएर मात्रै कदम चाल्नु पर्ने आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री सुरेश मल्ल, प्रजातन्वादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सेना र समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लले संसथाका विषय र लोकतन्त्रको अवस्थावारे मन्तव्य प्रकट गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?