‘जनताको साथमा कांग्रेस’अभियान सुरु, उम्मेदवार छनोटका लागि मातहतका निकायलाई परिपत्र

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित चुनावी अभियान सुरु गरेको छ । ‘जनताको साथमा कांग्रेस’ नाम दिएर शुक्रबारदेखि सुरु चुनाव लक्षित अभियान भदौ २४ गतेसम्म चल्नेछ । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाइसकेको छ । अभियानको अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति,महाधिवेशन प्रतिनिधि,महासमिति प्रतिनिधिलगायतको बैठक राख्नेछन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले पनि मातहतमा प्रतिनिधि खटाउनेछन् । अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अभियानमा जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र आत्मसात गर्नेमा केन्द्रित हुने जानकारी दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा के–के काम भए भनेर जनतामा प्रस्तुत हुन्छौँ । जनताका समस्या सुन्छौँ, आत्मसाथ गर्छौं । तालमेल गरेर जाने विषयमा जानकारी लिनेछौँ र यसको आवश्यकताको बारेमा पनि चर्चा गर्नेछौँ । सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेलको औचित्य पुष्टि गर्छौँ । केन्द्रीय प्रतिनिधिहरू तोकिएको ठाउँमा पाँच दिनसम्म कार्यक्रममा सहभागी हुनेछन् ।’

कांग्रेसले दोस्रो चरणमा समानुपातिकको उम्मेदवारी दर्तापछि पुनः जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्षतर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गर्ने जनाएको छ । केन्द्रबाट खटाइएको केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने र अभियानका लागि प्रदेश समिति तथा जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् । यसबाहेक जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश निर्वाचन क्षेत्र, पालिका समिति र वडा समितिले पनि मातहतका टोलस्तरसम्म अभियान सञ्चालन गरिने कांग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचनका बेला पनि कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ नारा दिएर एकमहिने अभियान सञ्चालन गरेको थियो ।

यी हुन् अभियानका चार उद्देश्य
१. मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने ।
२. जनताको घर-आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाहरूबारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने ।
३. कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि एवं समसायिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने ।
४. निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने ।

अभियानको उद्घाटन जिल्लामा भिन्नभिन्न स्वरूपमा गरिएको छ । जिल्लाले स्थानीय स्थिति, समय र सम्भावित प्रभावको आंकलन गरेर कतै जिल्लास्तरीय रूपमा, कतै जिल्लाको निर्देशनअनुसार क्षेत्रीय, प्रदेश क्षेत्रीय, पालिका या जिल्लाभर एकसाथ वडा तहमा उद्घाटन समारोह गरेको छ । गाउँ-नगरपालिका कार्यसमितिको संयोजनमा अभियानकै बीचमा हरेक स्थानीय तहमा एउटा पालिकास्तरीय सार्वजनिक कार्यक्रम हुने तर मूलतः सम्पूर्ण अभियान टोल समितिलाई अग्रसर बनाएर टोलकै नेतृत्वमा सम्पन्न गरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिएको छ । ती समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चात्को प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछन् । भदौ २४ गते बिपी जयन्तीका दिन अभियानको पहिलो चरणको समापन कार्यक्रम जिल्लाले निर्धारित गरेबमोजिम केन्द्रीकृत रूपमा अथवा विभिन्न तहमा विकेन्द्रित ढंगले विभिन्न कार्यक्रमका साथ हुने जनाइएको छ ।

निर्वाचन लक्षित कार्यक्रममा सहभागी हुन निर्देशन
नेपाली कांग्रेसका पूर्व-महामन्त्री डा.शशांक कोइरालाले आगामी आमनिर्वाचन लक्षित निर्वाचनका कार्यक्रममा सहभागी हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आगामी निर्वाचनमा नेपाली कांग्रेस विजयी भए मात्र लोकतन्त्र, संविधान बच्नुका साथै मुलुकको विकास सम्भव हुने दाबी गर्दै पूर्व-महामन्त्री कोइरालाले लक्षित आपत्ति तीक्ततालाई बिर्सेर निर्वाचनको तयारीमा होमिन निर्देशन दिनुभएको हो । सत्तारूढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर विवाद भइरहेको बेला पूर्व–महामन्त्री कोइरालाले गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा संघ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो । कांग्रेसले ९५ देखि १०० सिट पाउनुपर्ने र गठबन्धनमा रहेका दलहरू पनि यसका लागि तयार बन्नुपर्ने धारणा राख्दै कोइरालाले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचनमा पाएको संकेत र सत्यताका आधारमा सिट भाग लगाउनुपर्छ । अहिले गठबन्धनको विकल्प छैन, गठबन्धनका दल सहमतिमा आउनुपर्छ ।’

उम्मेदवार छनोटको काम सुरु
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्ने कार्यविधि र समयसीमा सहितको परिपत्र गरेको छ । पार्टी महामन्त्री गगनकुमार थापाले ७७ जिल्लामा उम्मेदवार सिफारिसको मापदण्ड, प्रक्रिया र समयसीमा समेत उल्लेख गरेर परिपत्र गर्नुभएको हो । एक हप्ताको समयसीमा दिएर मातहतका निकायलाई उम्मेदवारको नाम सिफारिस गर्न भनिएको छ । कांग्रेसले प्रदेशसभा सदस्यका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नामावली भदौ १४ गतेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला कार्यसमितिमा र एकभन्दा बढी निर्वाचन क्षेत्रभएका जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने परिपत्र गरेको छ । प्रदेशसभा क्षेत्रीय कार्यसमिति र सो प्रदेशबाट चयन भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्षतर्फ तीनजना र समानुपातिकतर्फ १ महिलासहित उम्मेदवारको नाम सहमति वा निर्वाचन प्रक्रियामार्फत सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट यसरी सिफारिस भई आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले भदौ १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने छ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमार्फत र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रदेशसभा क्षेत्रीय कार्यसमितिमार्फत सिफारिस भई आएका उम्मेदवारको नाममा जिल्ला कार्यसमितिले आफ्नो रायसहित भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाइ सक्नुपर्ने परिपत्रमा उल्लेख छ । यस्तै, प्रतिनिधिसभा उम्मेदवारका लागि योग्यता पुगेका व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा बढीमा तीनजना र समानुपातिकतर्फको लागि समावेशी सिद्धान्तलाईसमेत ध्यानमा राखी कम्तीमा एक महिलासहित बढीमा दुईजनाको नाम निर्णय गरी १६ गतेभित्र जिल्ला कार्यसमितिमा पठाउन परिपत्र गरिएको छ ।

प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, सो क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले गर्नेछ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्लाभित्र रहेका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको संयुक्त बैठकबाट उम्मेदवारको नाम सिफारिस हुनेछ । सिफारिस गर्ने बैठकमा सहमति हुन सकेमा सहमतिबाट र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्नुपर्नेछ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट यसरी सिफारिस भई आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्नेछ । प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी भदौ २० गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने परिपत्रमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?