बिचौलियाबाट ठगिएपछि कृषक आफैंले खोले डेरी

Read Time = 7 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । तानसेनका तुल्सीराम पोखरेल जिल्लाका नमुना कृषक हुनुहुन्छ । उहाँले भैंसीपालन गरी आफैं दूध बिक्री गर्दै आउनुभएको छ । बिहानदेखि बेलुकासम्म कडा मेहनत गर्ने पोखरेलले तानसेनका डेरीमा दूध बिक्रीका लागि पठाउने गर्नुहुन्छ तर उहाँले उचित मूल्य भने पाउन सक्नुभएको छैन । मूल्यमा बिचौलियाको हालिमुहाली त छँदैछ, उता सरकारी अनुदानसमेत एउटै व्यक्तिलाई पटक-पटक विभिन्न नाममा दिँदा उहाँजस्ता कृषक मारमा पर्दै आएका छन् ।

यहाँका कृषकबाट सस्तोमा दूध खरिद गरी बिचौलियाले धेरै नाफा कमाए तर कृषक कहिल्यै उँभो लागेनन् । न त उपभोक्ताले नै राम्रो दूध उपभोग गर्न पाए । लामो समयदेखि बिचौलियाको फन्दामा परेका तानसेनका कृषक अहिले आफैं दूध डेरी खोलेर उचित मूल्य पाउनुका साथै उपभोक्तालाई सस्तो र राम्रो दूध दिन थालेका छन् ।

नगरभित्रका कृषक मिलेर तानसेनमा सस्तो दूध डेरी सञ्चालनमा ल्याएका हुन् । तानसेनका उपभोक्तालाई सस्तो र गुणस्तरीय भंैसीको दूध उपलब्ध गराउने अभियानसाथ तानसेन दुग्ध उत्पादक समूहले तानसेन नगरपालिका-२ असनटोलस्थित महेन्द्रबोधी विद्यालयको गेटमा दूध डेरी सञ्चालनमा ल्याएको हो । तानसेन बजारमा भैंसीको दूधको अत्यधिक माग रहेकाले बजारका उपभोक्तालाई लक्षित गरी डेरी सञ्चालनमा ल्याइएको समूहले जनाएको छ । समूहले एक सय पाँच रुपैयाँ प्रतिलिटरमा भैंसीको दूध बिक्री सुरु गरेको छ । हाल बजारमा अन्य दूध डेरीले एक सय १० रुपैयाँमा भंैसीको दूध बिक्री गर्दै आएका छन् ।

तानसेनका कृषक मिलेर समूह-समूह बनाएका छन् र सोही समूहबाट मूल समूह निर्माण गरी बिचौलियाविहीन तरिकाले आफ्नो उत्पादनको मूल्य आफैं राख्ने, निश्चित नाफा राखेर आफैं बिक्री गर्ने, उपभोक्तालाई अन्य डेरीभन्दा सस्तो दरमा बिक्री गर्ने, व्यवस्थापकीय खर्च कटाएर बचेको रकम सहकारीमार्फत् कृषकलाई नै वितरण गर्ने गरी काम सुरु गरेको समूहका अध्यक्ष तुल्सीराम पोखरेलले बताउनुभयो । तानसेन नगरपालिका, हेफर प्रोजेक्ट, युएनडिपी र ग्रामीण आर्थिक विकास संघ रेडाको सहयोगमा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत् सञ्चालन भएको डेरीले नापजाँचसहितको गुणस्तरीय भैंसीको दूध आगामी दिनमा एक सय रुपैयाँमा बिक्री गर्ने लक्ष्य लिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्तालाई लिटरमा कम्तीमा १० रुपैयाँसम्म सस्तोमा भैंसीको दूध उपलब्ध गराउने गरी गृहकार्यमा जुटेका छौं ।’

समूहले आगामी दिनमा दूधका सबै किसिमका परिकार, स्थानीय उत्पादन तरकारीसमेत बिक्री गर्ने जनाएको छ । सस्तो डेरीको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उप-प्रमुख प्रतिक्षा सिंजाली र निवर्तमान प्रमुख अशोककुमार शाहीले संयुक्तरूपमा शुभारम्भ गर्नुभयो ।

नगरप्रमुख श्रेष्ठले तानसेनको ७० प्रतिशत भू-भाग ग्रामीण क्षेत्र रहेकाले कृषि र पशुपालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । तानसेनको विकास र पहिचान कृषि र पशुपालनबाट मात्र सम्भव भएकाले सोहीअनुसारको काम जनप्रतिनिधिबाट हुने उहाँको भनाइ छ । उप–प्रमुख प्रतिक्षा सिंजालीले तानसेनका जनतालाई गुणस्तर र सस्तो दरमा उपभोग्य सरसामान उपलब्ध गराउनु नगर सरकारको दायित्व भएकाले अहिले दूधबाट सुरु भएको बताउनुभयो ।

निवर्तमान नगरप्रमुख अशोककुमार शाहीले विकास निर्माण भनेको बाटो, घाटो भवनमात्र नभई नगरका जनतालाई दैनिक जीविकासँग प्रत्यक्ष सरोकार राख्ने, उत्पादन, आयआर्जन र श्रमसँग जोडिने र स्वरोजगार बनाउने काम कृषि र पशुपालनबाट मात्र सम्भव रहेको निजी, साझेदारी कार्यक्रमअन्तर्गत कृषि तथा पशु उद्यमशीलता परियोजना तानसेन नगरपालिकाले सुरु गरेको बताउनुभयो ।

अभियानबाट प्रत्यक्षरूपमा चार सय र अप्रत्यक्षरूपमा आठ सयभन्दा बढी व्यक्ति लाभान्वित भएको निवर्तमान नगरप्रमुख शाहीले बताउनुभयो । ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले तत्काल डेरीमा पद्मेटारी, चवनवारी, छेर्लुङ र तिलाहार क्षेत्रको पाँच सय लिटर भैंसीको दूध संकलन भएको र आगामी दिनमा तानसेनका अन्य भागका कृषक र रिब्दीकोट क्षेत्रको दूध संकलन हुने बताउनुभयो । तानसेनमा चिनारी दूग्ध उत्पादक सहकारी संस्था, डुम्रे दूग्ध उत्पादक सहकारी संस्था, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था र निजीरूपमा श्रीनगर डेरी, गोरस घर डेरी सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?