नारायणहिटी संग्रहालयलाई ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्छ : माधव नेपाल

Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार पार्टीको केन्द्रिय पर्यटन विभागले काठमाडौंमा आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौतीहरु’ विषयक गोष्ठिमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नारायणहिटी संग्रहालयलाई इतिहासदेखि राजतन्त्रको समाप्ती सम्मको कालको मात्रै संग्रहालय बनाउनुपर्ने बताउनु भयो । सो संग्रहालयमा नेपालमा हालसम्म शासन गरेका विभिन्न वंशका राजाहरुको पालाको अवस्था झल्किनुपर्ने उहाँले बताउनु भयो । अध्यक्ष नेपालले गणतन्त्रको संग्रहालय छुट्टै बनाउनुपर्ने पनि बताउनु भयो । उहाँले नेपालमा विभिन्न जातजाति र भाषाहरु रहेको भन्दै तिनलाई जनाउने जातिय संग्रहालय पनि बनाउनुपर्ने बताउनु भयो । उहाँले हिन्दु धर्मको पनि खुला संग्रहालय खोल्नुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो , ‘नारायणहिटी संग्रहालयलाई हामीले एउटा ग्रयान्ड संग्रहालयको रुपमा विकास गर्नुपर्छ । त्यो ग्रयान्ड संग्रहालयको रुपमा नेपालको इतिहासको शुरुदेखि लिएर नेपालको आजसम्मको इतिहासको खासगरी राजतन्त्रको समाप्ती भएसम्मको कालको जम्मै चिजहरु त्यहाँ देख्न पाइयोस् । चाहे विभिन्न राजा, महाराजाहरुको वंशको शासन होस् । किराँत वंश, लिच्छवि वंश, महेशपाल वंश, सेन वंश सबै शासनकालका जम्मै झलकहरु देखिने गरी कसरी उनीहरुले शासन सञ्चालन गरे ? त्यतिबेलाको अवस्था कस्तो थियो ? त्यो हेर्नका लागि विदेशीहरु आउन् । त्यस्तो बनाउँ न त हामीले नारायणहिटी म्युजियमलाई । बाहिरका कुनैपनि संरचना रहन नदिउँ । गणतन्त्रको म्युजियम छुट्टै बनाऔँ । जातिय संग्रहायल बनाऔँ । अब एउटा हिन्दु धर्मको पनि संग्रहालय खोल्नुपर्छ खुल्ला संग्रहालय भन्ने मलाई लागेको छ । खुला संग्रहायल कस्तो हुनुपर्दछ भने महादेव, देवीहरुको जति स्वरुपहरु ति सबै स्वरुपहरु राख्ने । के कारणले प्रसिद्ध, ऐतिहासिक छ ? यो भनेर नेपालीहरु र विदेशीहरुलाई पनि आकर्षित गर्न सकिन्छ । देवीदेवताको एउटै साझा थलोमा हामी जम्मैको प्रतिमूर्ति बनाउन सक्दछौँ । प्रतिमूर्ति बनाएर आकर्षणको थलो बनाउन सक्दछौँ ।’

अध्यक्ष नेपालले विकास निर्माणको काममा अदालतले अवरोध गर्ने गरेको बताउनु भयो । कामलाई अदालतले रोकिदिने र सरकार निरिह हुने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले अदालत विकासप्रेमी हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटाले कहाँ समस्या खडा गर्दिन्छ । अर्कोले कहाँ समस्या खडा गर्दिन्छ । ठ्याक्क जान्छ अदालत अदालतले ठ्याक्क रोकिदिन्छ । अनि सरकार निरिह भएर बसेको हुन्छ । अदालत विकासप्रेमी हुनुपर्दछ । निजगढ विमानस्थलको कुनै विकल्प छैन । लुम्बिनी, पोखरा होइन । निजगढमा बनाउन नदिनका लागि षड्यन्त्र किन भइरहेको छ ? मैले त्यो बेलामा के कोसिस गरेको थिए भने अरु ठाउँमा नबनाउने, निजगढमै बनाउने । बीचबाट फाइल छिर्दो रहेछ कहाँ कहाँ हो । सरकारको कुरा त थाहै नपाइँदो रहेछ । थाहा छैन भन्दोरहेछ ब्यूरोकेसी । कहाँ कहाँबाट के के सेटिङमा चल्दो रहेछ । अब पो थाहा पाउन थालियो ।’

अध्यक्ष नेपालले नेपालमा विकास निर्माणको काम गर्दा सम्भाव्यता अध्ययन नगरी गर्ने गरिएको बताउनु भयो । उहाँले विकास निर्माणको काममा अध्ययन तथा अनुसन्धान नगर्ने प्रवृति रहेको भन्दै त्यस्तो प्रवृतिको अन्त्य हुनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?