खेतबारीमा समेत आफ्नोपन गुमाउँदै हामी

हिमालय टाइम्स
Read Time = 8 mins

कृषिप्रधान देश आफैं खाद्यान्न, फलफूल, मल आदिमा हात पसार्नुपर्ने अवस्थामा पुग्नुलाई कसरी बुझ्ने ? कसरी हेर्ने ? र कसरी सामर्थ छौं भनेर दाबी गर्ने ? यी प्रश्नको सिधा उत्तर हो नेपाल कृषिमा समेत आत्मनिर्भर छैन । कृषिमा मात्रै होइन कृषिमलमा पनि हाम्रो पहुँच हराएको छ । परनिर्भर कृषिमल नेपालको खेतबारीमा पुग्नै पर्ने भएको छ । आजबाट होइन यो धेरै वर्ष भयो, कृषिका लागि आवश्यक पर्ने मल, बिउ, औजार, रासायनिक पदार्थ यी सबैमा हामी पूर्णरूपमा परनिर्भर भएको छौं । हाम्रो कृषि उपजले हामीलाई पुग्न छोडेको छ । पुरानो पिँढीका विद्यार्थीहरू जो अहिलेसम्म पनि सेवा निवृत्त भइसकेका छैनन् तिनले सानो कक्षामा मात्र होइन उच्च शिक्षाका सम्बन्धित विषयमा समेत नेपाललाई कृषिप्रधान देशका रूपमा चित्रण गरिएको शिक्षा लिएका थिए । धेरै साना कक्षाका विद्यार्थीहरूलाई हो भने तिनलाई अल्मल्याउनका लागि मात्र त्यसो भनिएको हो भन्नुपर्ने अवस्था रहन्थ्यो । तर उच्च शिक्षामा समेत कृषिमा आत्मनिर्भर अर्थात् कृषि प्रधान देशका रूपमा पढाउने गरिएको हुँदा त्यो यथार्थ यस्तो छली कुरा यथार्थजस्तो पढ्ने विषय बनेको छ । छली कुरा किन हो भने जाँगर भएका अध्ययनशील उच्चशिक्षामा अध्ययनरत विद्यार्थी त आफैं पनि तथ्यांकहरू खोजेर हेर्न सक्ने अवस्थामा हुन्छन् । उनीहरूलाई दिइरहेको गलत पाठ बुझ्ने सामथ्र्य राख्दछन् । तर सानो तहका विद्यार्थीका लागि त योे छली कुरा नै सही हो भन्ने भ्रम रहन्छ ।

छोटो अवधिमै कृषि क्षयीकरणमा तीव्रताका साथ परिर्वतन आएसँगै हाम्रो मौलिकता समाप्त हुँदै गइरहेको छ । अरू सबै क्षेत्रमा जस्तै कृषि क्षेत्रमा पनि हामी हाम्रो मौलिकता सँगसँगै आत्मनिर्भरता गुमाउँदै गइरहेका छौं । पहिले-पहिले कृषिमा हाम्रो आफ्नोपन थियो । रैथाने जातिका बिउबिजनहरू कृषकले आफैं छनौट गर्ने गर्थे । खेती भित्र्याउने समयमा राम्रा पोटिला दाना भएका बालाहरू संकलन गरी राम्ररी सुकाएर घुनपुत्लीले नखाने गरी सुरक्षित रूपमा खरानी वा निमका पातहरू राखेर बिउको जोहो गरिन्थ्यो । धान, कोदो आदिको बिजन यसरी राखिन्थ्यो भने मकै झुता बनाएर झुण्ड्याएर राखिन्थ्यो । फागुन चैतमा तिनलाई झिकेर छोडायिन्थ्यो र छोडाउँदा घुन नलागेका र ठूलाठूला राम्रो पोटिला दानालाई बिउका रूपमा प्रयोग गरिन्थ्यो । यसले गर्दा राम्रो उत्पादनमा सहयोग पुग्थ्यो ।

कृषि औजारहरू पनि किसान आफैंले बनाएका हलो, कुटो, कोदालो, लिडुँको, डल्लेठोलगायत उपकरणको प्रयोग हुन्थे । मल पनि कृषकहरूले आफैं तयार पार्थे । घाँस-स्याउलाहरू कुहाएर गाईबस्तुको गोबर गहुँतसँग त्यसलाई संमिश्रण गरी प्रांगारिक मल तयार पार्ने गरिन्थ्यो । त्यसरी तीन-चार महिनासम्म कुहिएपछि राम्रो प्रांगारिक मल तयार हुन्थ्यो । हिउँदमा त्यही मल खेतबारीमा लगाइन्थ्यो । उत्पादन हानिकारक पनि हुँदैनथ्यो, स्वादिलो र पौष्टिकताले युक्त हुन्थ्यो । तर, तीसको दशकदेखि विकासे मलका नाममा रासायनिक मलको प्रयोग हुन थाल्यो बिउ पनि विकासे नै प्रयोग हुन थालेकाले हाल खेतीका समयमा बिउ र मलको हाहाकार हुने गरेको छ । किसानहरूले दिन रात लाइन लागेर बिउ र मल लिनुपरेको छ । माटोमा रहेको ऊर्वर रासायनिक तत्व समाप्त भएको छ र रासायनिक मलका अभावमा उत्पादन शून्य हुन लागेको छ ।

अजसम्म आइपुग्दा कृषि क्षेत्रमा किसानहरू परनिर्भर भइसकेका छन् । सबै क्षेत्रमा नेपाललाई कमजोर बनाउने खेल भइरहेजस्तै कृषि क्षेत्रमा पनि नेपाललाई परनिर्भर बनाइएको छ । अब नेपाल कृषिमा परनिर्भर भइसकेको छ । कृषि उपकरण र विषादीमा समेत हामी अरूकै भर पर्न बाध्य बनेका छौं । एक प्रकारले भन्ने हो भने विकसित देशहरूको त्यस्ता उत्पादनको बजार हामीलाई बनाइएको छ । रैथाने बिउबिजन र प्रविधि समाप्त पारेर हामीलाई क्रेता बनाएर औद्योगिक देशहरूले कुस्त कमाउने काम गरेका छन् । हामीले हाम्रा सम्पूर्ण कुरा गुमाएर छिटो र बढी उत्पादन प्राप्त गर्ने लालसमा विकासे बाटो अपनाउँदै आएका छौं जसले गर्दा गोबर मल, हरित मल, पिना मलहरू प्रयोग गर्न छोडेर डिएपी तथा युरियाहरू प्रयोगे एकातिर माटो बिग्रिन पुगेको छ भने अर्कातिर आफ्ना पँखेटा गुमाएर अर्काको प्वाँखको अपेक्षा गरेर बसेको चराको जस्तो अवस्थामा हामी पुगेका छौं ।

हाम्रो सरकारले पनि हाम्रो आफ्नोपनको संरक्षणका लागि कुनै योजना बनाएको छ न प्रांगारिक मल उत्पादनमा बजेट नै छुट्याएको छ । सरकार पनि बिस्तारै स्वनिर्भरतालाई प्रोत्साहन दिइरहेको छैन भन्ने प्रमाणित हुन आउँछ । जुन कुराले सरकारबाट सहयोग पाउन सक्दैन त्यसले आफैं विकसित हुनसक्ने कुरै भएन । रैथाने बालीनाली समाप्त हुँदै गएका छन् । नीम, खरानी र पोटास प्रयोग गरी बालीनालीका कीरा मार्ने चलन हराएको छ । मित्रजीवबाट शत्रुजीवको नियन्त्रण गर्न छोडिएको छ भने घैँचाजस्ता हरित मलको प्रयोग हराउँदै गएको छ । हाम्रो आफ्नोपन जोगाउँदै स्वनिर्भरतालाई प्रोत्साहन गर्ने जिम्मा सरकारकै हो, नागरिकले त होष्टेमा हैंसे गर्नेमात्र हो । हाम्रो आग्रह हो : सरकारले समयमै सोचोस् र मौलिकता जोगाउन लागिपरोस् । अहिले आकाश छुनलागेको महँगीको कारण यतै कतै छ भनेर सरकारले तत्काल रणनीति तय गरोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?