नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गर्दा पार्टीभित्र विद्रोह : झलनाथ खनाल

Read Time = 4 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन नेतृत्वले दक्षिणपन्थी अवसरवादसँग सम्झौता गरेका कारण आफूहरु विद्रोह गर्न बाध्य भएको बताउनुभएको छ ।

सुर्खेतमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले लामो समयसम्म अन्तरविरोध चल्दासमेत मुख्य नेतृत्वको कार्यशैलीमा सुधार आउने सम्भावना नदेखेपछि अलग पार्टी गठन गर्नुपरेको बताउनुभयो ।

नेता खनालले तत्कालीन नेकपा विघटन र त्यसपछि नेकपा (एमाले) विभाजन हुनुमा तत्कालीन मुख्य नेतृत्व नै जिम्मेवार रहेको बताउनुभयो । “नेतृत्वले आफ्नो गुटलाई काखा अरुलाई पाखा लगाउने, कम्युनिष्ट आचरण, जीवनशैलीबाट च्यूत हुने र पार्टीलाई सही कार्यदिशामा हिँडाउनुको साटो एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेकाले गम्भीर समस्या पैदा भयो”, उहाँले भन्नुभयो, “अन्तरविरोधबाट सिर्जित समस्याको समाधान नगरी हैकमवादी, निरङ्कुश कार्यशैलीले एउटै पार्टीमा रहन सम्भव भएन, धेरै प्रयास गरियो, अन्ततः समाजवादी क्रान्तिको आधार तय गर्न पुनः गतिलो क्रान्तिकारी पार्टीको आवश्यकता देख्यौँ ।”

उहाँले पार्टीले छोटो अवधिमै सङ्गठन निर्माणमा ठूलो सफलता प्राप्त गरेको टिप्पणी गर्दै भन्नुभयो, “क्रान्तिको ठूलो उभार हाम्रो सामु छ, इमान्दार भएर समयको गति बुझ्नसके हाम्रो कार्यदिशा र नीति एवं सिद्धान्त स्थापित हुनेछ, आम जनता आकर्षित हुने स्थिति छ ।” नेता खनालले कम्युनिष्ट पार्टीबीचको एकताबाट मात्र नेपालमा तीन ऐतिहासिक उपलब्धि हासिल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “२०६२र६३ को जनआन्दोलनबाट निरङ्कुश राजतन्त्रको अन्त्य, विदेशीका अनेक षडयन्त्रका बाबजुद २०७२ सालमा संविधान निर्माण र २०७४ सालको सङ्घ/प्रदेश निर्वाचनमा दुई तिहाइ जनमत हासिल भएको हो ।” एउटा निर्वाचनबाट छ प्रदेश र केन्द्रमा दुई तिहाइ बहुमतको सरकार बनाउनु कम्युनिष्ट पार्टीका लागि चानचुने उपलब्धि नभएको खनालको भनाइ थियो ।

पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले स्थानीय तह निर्वाचनलाई शिक्षाका रूपमा लिँदै पार्टी आगामी निर्वाचनमा जनताका बीचमा थप स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले चुनाव जित्ने–हार्ने विषयमात्र नभएर पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।

कार्यकर्ता भेलामा सो पार्टीका प्रदेश सहइञ्चार्ज चन्द्रबहादुर शाही, शेरबहादुर केसी, प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापालगायतले सम्बोधन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?