मुक्तिनाथ कृषि कम्पनीका आठ सहायक कम्पनी

Read Time = 3 mins

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवसको अवसर पारेर कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक कम्पनी स्थापना गरेको छ । मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेसिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङ गरी आठ सहायक कम्पनीको औपचारिकरूपमा उद्घाटन गरेको हो ।

देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरू प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यका साथ मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिनुभएको छ ।

स्थापनाकालदेखि नै कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार, कम्पनी तथा फर्म, कृषक समूह, सहकारीसँग सहकार्य गर्दै कृषिको मूल्य शृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको उहाँले बताउनुभयो । जसका लागि गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा र समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियान सुरुवात गरी सोहीअनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

हालसम्म कम्पनीले ६२ जिल्लामा विभिन्न व्यावसायिक साझेदारमार्फत् सेवा प्रदान गर्दै आएको छ । सहायक कम्पनीमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?