कोहलपुरमा नापी र मालपोत कार्यालयको शाखा

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा पहिलोपटक जिल्ला सदरमुकामबाहिर मालपोत र नापी कार्यालयको शाखा विस्तार गरिएको छ । लामो समयदेखि करिब ७५ किलोमिटरसम्म यात्रा गरेर जिल्ला सदरमुकाम पुग्न बाध्य जनताहरूलाई लक्षित गरेर सरकारले मालपोत र नापी कार्यालयको शाखा स्थापना गरेको हो । एक कार्यक्रमका बीच नेपाल सरकारका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यालयले बाँकेका आठमध्ये तीनवटा पालिकालाई समेट्नेछ ।

कोहलपुर नगरपालिकामा यसको कार्यालय रहनेछ । बैजनाथ र राप्तीसोनारी गाउँपालिकाले समेत अब यसै कार्यालयबाट मालपोत र नापीको सेवा लिन सक्ने मन्त्री श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार सरकारले जनताका आवश्यकता र सहजतालाई मध्यनजर गरेर कोहलपुरसहित देशका थप चार स्थानमा मालपोत र नापीका शाखा खोल्ने निर्णय गरेको हो । स्थानीय तहका नागरिकलाई सहज र सरल सेवा प्रवाहका लागि शाखा स्थापना गरिएको उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले कार्यालय बोर्ड झुण्ड्याउन र सस्तो लोकप्रियताका लागि मात्रै उद्घाटन नगरिएको दाबी गर्नुभएको छ ।

उक्त अवसरमा बोल्दै नेपाल सरकार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले कोहलपुरमा मालपोत र नापी कार्यालय उद्घाटन हुनु खुशीको क्षण भएको प्रतिक्रिया दिनुभयो । तीन पालिकाका नागरिक सेवाका लागि नेपालगञ्ज जानुपर्ने दिनको अन्त्य हुने भएको भन्दै आफूलाई निकै खुशी लागेको मन्त्री अथकले बताउनुभयो । उक्त अवसरमा बोल्दै नेपाल सरकार कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदीले कार्यालय उद्घाटन हुँदा गाउँगाउँमा सिंहदरबार आएको अनुभूति भएको बताउनुभएको छ ।

कार्यालय सञ्चालनका लागि तत्काल कोहलपुर नगरपालिकाले कार्यालय व्यवस्थापन गरेको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कार्यालय स्थापनाका लागि भूमिका खेल्ने सम्पूर्ण राजनीतिक दललाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त अवसरमा बोल्दै नापी विभागका महानिर्देशक प्रकाश जोशीले कोहलपुरलाई विशेष प्राथमिकतामा राखेर कार्यालय स्थापना गरिएको र तत्काल काम सुरु हुने बताउनुभएको छ । उहाँले तीन तहका नागरिकले अब गाउँ नजिकै सहज र सरलरूपमा सेवा पाउने बताउनुभयो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले यहाँका नागरिकको निरन्तरको खबरदारीको प्रभाव भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?