लुम्बिनी प्रदेशसभा दाङमै हुने

फेरि चुनावी एजेण्डामा प्रदेश राजधानी

Read Time = 5 mins

-विवेक खड्का
दाङ । गृहमन्त्री बालकृष्ण खाँडका दवावका वावजुत लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानी दाङमै सार्ने तयारी थालेको छ । यस अघि शंकर पोख्रेलको नेतृत्वको सरकारले प्रदेशसभा स्थायी राजधानीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । वर्तमान सरकारले सोही निर्णयलाई टेकेर प्रदेशसभा सार्ने तयारी थालेको छ । निर्वाचनको मुखैमा राजधानी सार्न थालिएको भन्दै बिरोध भएपछि यो प्रदेशको राजधानीको मुद्धा अहिले फेरी चुनावी अजेण्डा बन्न पुगेकोे छ ।

आफ्नो गृह जिल्ला बुटवलमा रहेको लुम्बिनी प्रदेशको प्रदेशसभा स्थायी राजधानीमा नसार्न गृहमन्त्री खाँडले दबाब दिएको भएपनि चुनाव अघि नै प्रदेशसभाको अन्तिम बैठक दाङमै बस्ने गरि तयारी भैरहेको छ । स्थायी संरचना तयार नहुँदा सम्म राजधानी सार्न नहुने भन्दै गृहमन्त्री खाँडले मुख्यमन्त्री कुल वहादुर केसीलाई राजधानी सार्ने तयारीबाट पछि हट्न भन्नु भएको थियो ।

तर मुख्यमन्त्री केसी भने चुनाव अगाडीनै प्रदेशसभाको अन्तिम बैठक दाङमै बसाल्ने निर्णयमा अडिग देखिनुभएको छ । प्रदेश राजधानी दाङमा प्रदेशसभाको भवन निर्माण भैरहेको छ । अहिले भवन निर्माणको काम अन्तिम चरणमा छ ।

चुनावको मुखैमा राजधानी सारिँदा चुनावमा असर पर्ने खतरा देखेपछि गृहमन्त्रीले खाँडले मुख्य मन्त्रीलाई दवाव दिएको वुझिएको छ । आफ्नो गृह जिल्लामा रहेको प्रदेशसभा सारिँदा स्थायी राजधानीमै राजधानी स्थानान्तरण हुने र यसले चुनावमा ठूलो असर पर्ने खाँडको आँकलन छ । यसकारण अहिले नै प्रदेशसभा सार्न नहुने दबाब दिएको एक मन्त्रीले जानकारी दिएका छन । ‘अहिले प्रदेशसभा सर्यो भने राजधानी पुरै सर्छ भन्ने उहाँको आँकलन छ,’ प्रदेशका ति मन्त्रीले भने ‘यसो हुँदा आगामी निर्वाचनमा आफूलाई असर पर्ने खतरा देखि उहाँ सजग बन्नु भएको हो ।’ गृहमन्त्री खाँड दाङमा राजधानी हुनु हुँदैन भनेर सुरु देखिनै कठोर बन्दै आउनुभएको छ । अस्थायी मुकाम पनि उहाँकै भनसुनका आधारमा तत्कालीन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अपायक थलो बुटवलमा अस्थायी मुकाम तोकेको बताईएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्रीलाई प्रदेश सभा सार्ने निर्णयबाट पछि हट्न भनेपनि गृहमन्त्रीको आग्रहलाई कार्यान्वयन पक्षमा प्रदेश सरकार भने देखिन्न । उसले स्थायी राजधानी कार्यान्वयनको प्रकृयालाई जसरी पनि कार्यान्वयन गर्ने अडान लिएको छ । अहिले स्थायी राजधानीमा स्वास्थ्य मन्त्रालय सरिसकेको छ । यो मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय पनि केहि दिन अघि मात्रै स्थायी राजधानीमा स्थानान्तरण भैसकेको छ । चुनाव अगाडी प्रदेश सभा सारेर स्थायी राधजानी कार्यान्वयनको कामलाई मूर्त रुप दिन खोजेको प्रदेश सरकारले प्रदेशसभा संगै थप केहि मन्त्रालय पनि प्रदेशसभासंगै केहि थप मन्त्रालय पनि स्थानान्तरण तयारी गरेको छ । ‘प्रदेशसभा चाहिँ चुनाव अगाडी अर्थात यो प्रदेशसभाको अन्तिम बैठक स्थायी राजधानीमै बस्ने गरि सर्छ,’ ति मन्त्रीले भने ‘प्रदेशसभा संगै थप केहि मन्त्रालय पनि स्थायी राजधानीमा स्थानान्तरण हुन्छन् ।’ केहि दिन अघि प्रदेशसभा भवनको सामान सर्ने क्रममा बिबाद समेत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?