बुटवल उपमहानगर प्रमुख पाण्डेय र बेलायती राजदूतावासका विकास निर्देशकबीच भेटवार्ता

Read Time = 5 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपालस्थित बेलायती राजदूतावासका विकास निर्देशक पिप्पा वर्डबीच भेटवार्ता भएको छ ।

बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा शुक्रबार बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग नगर प्रमुख पाण्डेयले बुटवलको विकास, यहाँका प्रयासहरु र बेलायतसँग गर्न चाहेको सहकार्यका बारेमा बताउनु भएको थियो ।
भेटवार्ताका क्रममा प्रमुख पाण्डेयले सहमति, सहकार्य, एकता र मेलमिलापका आधारमा बुटवललाई आर्थिक केन्द्रको रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताउनुभयो । उहाँले औद्योगिक र पर्यटकीय हिसाबले पनि बुटवल अगाडि बढ्दै गरेकाले समग्र विकासका लागि सहकार्य गर्न प्रस्ताव गर्नुभयो ।

‘हामीले बुटवललाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार, उद्योग, कलकारखानाजस्ता क्षेत्रमा अग्रणी बनाउन चाहिरहेका छौं, उहाँले भन्नुभयो–त्यसका लागि बेलायतको तर्फबाट के कसरी सहकार्य गर्न सम्भव हुन्छ, त्यसमा चासो दिनका लागि मेरो अनुरोध छ ।’
उहाँले बुटवलमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण भइसकेको र प्रदर्शनी स्थल निर्माणका क्रममा रहेकाले पनि बुटवलले अन्तरराष्ट्रिय स्तरका काम गर्नका लागि तयार भएको बताउनुभयो ।

नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने बेलायती मन्त्रीलाई बुटवलको जितगढी किल्ला र आसपासका पर्यटकीय स्थलको भ्रमण गर्नका लागि राजदुतावासकी विकास निर्देशक वर्डमार्फत निम्तो दिनुभयो ।

नगरप्रमुख पाण्डेयले बुटवलमा मातृ स्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्र र गृहणी महिला रोजगार कार्यक्रममा बेलायत सरकारले सहकार्य गर्न सक्ने भएकाले आवश्यक परामर्श र सहकार्यका लागि प्रस्ताव गर्नुभएको थियो ।

उहाँले बेलायतको विकासबाट सिकेर बुटवलको विकासलाई अझै दिगो र लाभदायी बनाउनका लागि बेलायतको शहरसँग भगिनी सम्बन्ध कायम राख्न चाहेको र यसका लागि आवश्यक समन्वय र सहकार्य गर्नका लागि अनुरोध गर्नुभयो ।
भेटका क्रममा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले बुटवलको बारेमा जानेर आफुलाई खुशी लागेको र सम्भव भएसम्मका सहकार्य गर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकारहरुसँग कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेकोले बुटवललाई प्राथमिकतामा राख्ने र सहकार्यका लागि प्रयास गर्ने बताउनुभयो ।
निर्देशक वर्डले मातृस्वास्थ्य र शिशुस्वास्थ्यका क्षेत्रमा बुटवलसँग सहकार्य गर्न इच्छुक रहेको भन्दै आगामी दिनमा सहकार्यका लागि हात अघि बढाउने बताउनुभयो ।

उहाँले नेपालमा बेलायत सरकारले लामो समयदेखि सहकार्य गर्दै आएकोले आगामी दिनमा पनि सहकार्य गर्ने र त्यसमा बुटवललाई पनि प्राथमिकतामा राख्ने विश्वास दिलाउनुभएको थियो ।
भेटका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, युएनओपिएस प्रोजेक्ट कोहेरेन्स युनिटका टीम लिडर डुयेन जोन्स र बुटवल कार्यालयका प्रमुख सन्तोष खतिवडाले भेटवार्ताको सहजीकरण गर्नुभएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख र निर्देशक वर्ड नेतृत्वको टोलीले शनिबार बिहान बुटवलस्थित जीतगढी किल्लाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?