नेपाल-भारत व्यापार तथा लगानी प्रवद्र्धनमा जोड

Read Time = 3 mins

काठमाडौं । नेपाल-भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणाको नेतृत्वमा उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयालसहितको प्रतिनिधिमण्डलले नवनियुक्त सचिव कृष्णहरि पुस्करसँग भेट गरेको छ ।

सो अवसरमा अध्यक्ष राणाले भारत नेपालको अन्तर्राष्ट्रिय ब्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको, त्यस्तै पारबहनसम्बन्धी मामिलामा निर्भरता शतप्रतिशत रहेको, नेपालको अन्तर्राष्ट्रिय ब्यापारमा पारबहन निर्भरता ९० प्रतिशत रहेको, नेपालमा आएको विदेशी लगानीमध्ये ४० प्रतिशतका साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेका कारण पनि भारत नेपालको आर्थिक विकासको सहयात्री रहेको बताउनुभयो । नेपालको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्षित गर्न संघले निरन्तर सहजकर्ताको भूमिका खेल्दै आएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष राणाले भारतीय पर्यटन प्रवद्र्धन गर्न संघले नेपाल-भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन पनि भारतीय दूतावासमार्फत् पहल गरिरहेको जानकारी गराउँदै सोही विषयलाई लक्षित गर्दै धार्मिक पदमार्गसम्बन्धी कफीटेबल बुक र वेबसाइट निर्माण अन्तिम चरणमा रहेको बताउनुभयो । साथै उहाँले नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउन संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल-भारत लगानी सम्मेलन आयोजना गर्न लागेकाले त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

अर्थसचिव पुष्करले संघले गरेका विगतका कार्यबारे आफू जानकार रहेको भन्दै भारत सरकारले नेपालप्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मकरूपमा नै हेर्ने गरेकाले भारतसँगको सम्बन्धबाट लिन सकिने लाभका लागि मन्त्रालय संघसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको संघमा उपनिर्देशक मार्शल राठौरले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?