धादिङमा डेंगुका विरामी बढे, संक्रमितको संख्या ११४ पुग्यो

हिमालय टाइम्स
Read Time = 5 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङसहित ७५ जिल्लामा डेंगु संक्रमण बढेको छ । पछिल्लो समय धादिङमा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको हो । जिल्ला अस्पताल धादिङको भाद्र १६ गते सम्मको तथ्यांक हेर्ने हो भने जिल्लामा ११४ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् ।

चालु आर्थिक वर्षको साउन महिनामा ६२ जना र भदौको १४ गतेसम्म ५२ जना गरी ११४ जनामा डेँगु देखिएको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा.मधुकर दाहालले जानकारी दिनुभयो । संक्रमण बढ्दै गएपछि धादिङबासी त्रसित बनेका छन् । अहिले संक्रमितहरुको धादिङ अस्पतलामा उपचार भईरहेको छ । यसअघि डेंगु रोगको संक्रमणकै कारण धादिङ अस्पतालमा उपचारत ज्वालामुखी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको थियो ।

७७ जिल्ला मध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा धेरै ललितपुर र काठमाडौमा डेंगु फैलिएको छ । देशभर अहिलेसम्म ५ हजार २९ जनालाई डेंगु भएको मन्त्रालयको तथ्याङ्क छ । यसमध्ये सबैभन्दा धेरै ललितपुरमा १ हजार ८ सय ३२ जना छन् भने काठमाडौमा ८ सय ८८ जना रहेका छन् ।

डेंगुको संक्रमण नदेखिएका दुई जिल्ला मनाङ र हुम्लामा पनि संक्रमणको जोखिम उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । डेंगुको सङ्क्रमण फैलिइरहेकाले स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा महाशाखाले विज्ञहरुसित छलफल थालेको छ । अझै दुई महिना डेङ्गीको सङ्क्रमण फैलिने जोखिम रहेकाले लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् । समुदायमा डेंगु फैलिरहेकाले घर परिवार र समुदाय सचेत हुनुपर्नेमा विज्ञको जोड छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रम लगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न विज्ञको सुझाव छ ।

लामखुट्टेको वृद्धिका लागि उपयुक्त मौसम भएका कारण पनि डेंगुको संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरुले बताएका छन् । डेंगु एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरो हो । उदाउने र डुब्ने समयमा यो लामखुट्टेले मानिसलाई टोक्ने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका शुरुवाती लक्षणहरु हुन् ।

डेंगुबाट कसरी बच्ने ?

डेंगुबाट बच्ने मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइबाट बच्नु हो । तसर्थ लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन जरुरी हुन्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?