खुकुरीको प्रायोजनमा गोर्खाको प्रिमियर शो

Read Time = 2 mins

काठमाडौं । गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्रायोजकत्वमा फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार आयोजना भएको छ भने धरानमा बुधबार गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ । निर्माण पक्षका अनुसार गोर्खा : बिनिथ द ब्रेभरी च्यारिटी फिल्म हो ।

यो फिल्मको शोबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिनेछ । खुकुरी रम प्रमोसनल पार्टनरका रूपमा रहेको फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीसाथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते हुनुभए पनि बाँच्न सफल हुनुभएको थियो ।

घाइते भएको भोलिपल्टै थापा पीडितको उद्धारमा खटिनुभएको थियो । सोही घटनापछि थापालाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भएको थियो । चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ भने फिल्मको कथा निर्देशक शाही आफैंले लेख्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?