कौटिल्यको अर्थशास्त्र अचेलको अर्थशास्त्रको केवल अर्थशास्त्रमात्र होइन । सही अर्थमा यो व्यावहारिक राजनीतिशास्त्र हो । यसले शासनकला, कूटनीति आदि राजनीतिक विषयमा कार्यनिर्देश गरेको छ । अर्थनीति त नाम अनुसार पनि हुने नै भयो । न्याय, सामाजिक व्यवहार, दण्डनीति जस्ता सुशासनको निमित्त आवश्यक विषयमा पनि निर्देशन गरेको छ । धर्म तथा युद्धजस्तो विषम विषयमा विवेचन र निर्देशन गरेको छ । यी विषयलाई व्यावहारिक रूपमा प्रयोग गर्न विभिन्न तरिका प्रतिपादन गरेको छ । सम्भवतः यहाँ प्रतिपादन शब्द त्यति उपयुक्त नहोला त्यसैले परिमाजन गरेको छ भन्न उपयुक्त होला ।
यी विषयमा कौटिल्यको नीति पूर्वीय चिन्तनको पछिल्लो कडी हो । करिब अढाई सहश्राब्दि पहिलेको कौटिल्यको यो चिन्तनपछि अर्को पूर्वीय चिन्तन भएको भेटिँदैन । पहिलेका शुक्राचार्य बृहस्पति जस्ता ऋषिहरूले अ-आफ्नो नीति प्रतिपादन गरेका थिए । विदुर, भीष्मलगायत धेरैले राज्य सञ्चालन, राज्यको चरित्रलगायत विषयमा अ-आफ्नो मत प्रकट गरेका थिए ।
ईश्वी सम्वत् आरम्भ हुनुभन्दा पुगनपुग चार शताब्दि पहिले कौटिल्यको समय थियो । त्यसबेला नन्दवंशका राजा धनानन्दलाई पराजित गरेर चन्द्रगुप्तलाई चक्रवर्ती सम्राट बनाउन उनको प्रमुख भूमिका थियो । उनको युद्धनीतिले राज्य प्राप्त गर्न सकेपछि सुशासनको निमित्त लेखिएको अर्थशास्त्रले राज्य प्राप्ति, सञ्चालन तथा सुशासनका विभिन्न विधि परिमार्जित रूपमा एकत्रित गरेको भेटिन्छ । त्यति प्राचीन ग्रन्थ सामान्य परिमार्जनसहित वर्तमानमा पनि उत्तिकै सान्दर्भिक हुनुले पूर्वीय दर्शन, चिन्तनको गहिराइ देखाउँछ ।
राज्यको भनियोस् कि राजा वा शासकको स्थिरता राज्यकोषमा रहेको हुन्छ । कौटिल्यको अर्थशास्त्रमा भनिएको छ कि कोष अर्थात् राज्यकोषमा नै सबै कार्य हुन्छन् । त्यसैले पहिलो ध्यान कोषमा नै हुनुपर्दछ । राज्यकोषको अवस्थाले राज्यको शक्तिको मापन गर्दछ ।
वर्तमानमा राजनीति नै सबै नीतिको नियन्त्रक हो भन्ने सोच पाइन्छ । यस सोचविपरीत अर्थशास्त्र र अर्थिक व्यवहारको नीति अर्थनीति सबै नीतिको नियन्त्रक हो भन्ने मान्यता पूर्वीय चिन्तक दार्शनिकहरूको रहिआएको छ । धेरै पनि कार्ल माक्र्सले अर्थतन्त्रको महत्व र यसको नियन्त्रक गुणलाई आत्मसात गरे अनि त्यसको चिन्तन गरे । कम्युनिष्ट सिद्धान्तको आधारशिला त्यही कार्ल माक्र्सको सोचमा आधारित ‘दास क्यापिटल’ अर्थात् ‘पुँजी’ नामक ग्रन्थ मानिन्छ ।
राज्यको भनियोस् कि राजा वा शासकको स्थिरता राज्यकोषमा रहेको हुन्छ । कौटिल्यको अर्थशास्त्रको २४/८/१ मा भनिएको छ कि कोष अर्थात् राज्यकोषमा सबै कार्य हुन्छन् । त्यसैले पहिलो ध्यान कोषमै हुनुपर्दछ । राज्यकोषको अवस्थाले राज्यको शक्तिको मापन गर्दछ । राज्यको यो कोष बढ्ने कामहरू पनि निर्दिष्ट छ । निश्चित रूपमा राष्ट्रको सम्पत्ति बढेमा राज्यकोष बढ्छ । राज्य, जनता अनि भूगोल अर्थात् देशको समिष्टि नाम राष्ट्र हो ।
त्यसैले भनिएको छ राज्यकोष बलियो बनाउन राष्ट्रको सम्पत्ति बढाउनुपर्दछ । राष्ट्रको चरित्रमा ध्यान दिनुपर्दछ अर्थात् राष्ट्रिय चरित्र निर्माण गर्नुपर्दछ । यो निर्माण भनेको राष्ट्रका अवयवले आफूहरूको समुच्चयले राष्ट्र निर्माण भएको बुझेर त्यसनुसार चरित्र निर्माण गर्नुपर्दछ । चोरीचकारी रोकथाम गर्नुपर्दछ, कर्मचारीको घुषखोरी प्रवृत्ति रोकथाम गर्नुपर्दछ । बाली उब्जनी बढाउनुपर्दछ । व्यापारयोग्य वस्तुहरूको उत्पादन बढाउनुपर्दछ । उत्पातबाट जोगाउनुपर्दछ, यस्ता उत्पात प्राकृतिक तथा मानवजन्य दुवै हुन सक्छन् । उचित समयमा कर उठाउनुपर्दछ, विभिन्न तरिकाले प्राप्त हुने हिरण्य आदि उपहार ग्रहण गर्नुपर्दछ ।
यसरी संकलित राज्यकोषमा हुने क्षतिको बारेमा उल्लेख भएको छ । राज्यकोष घट्ने कारण राज्यले गर्नुपर्ने र गर्ने खर्च हो भने आन्तरिक धमिरासरह राज्यकोषको उपयोगले हुने क्षति हो । खर्च राज्यको जानकारीमा राज्य सञ्चालनको निमित्त आवश्यक व्यय हो । क्षति राज्यको जानकारीबाट लुकाएर राज्यको सञ्चालनका निमित्त नभई अन्य कारणले हुने व्यय वा लापरबाहीले हुने ह्रास हो । यस्तो ह्रासलाई कौटिल्यले आठ किसिममा विभाजन गरेका छन् । उनले दिएका ती नामहरू हुन १. प्रतिबन्ध २. प्रयोग ३. व्यवहार ४. अवस्तार ५. परिहायण ६. उपभोग ७. परिवर्तन र ८. अपहार । योे विषय वा प्रसंगमा यी शब्दका सामन्य अर्थहरू संकुचित भएका छन् ।
प्रतिबन्ध वर्गीकरणलाई थप तीन किसिममा वर्गीकरण गरिएको छ । पहिलो राजकर असुली नगर्नु, दोस्रो असुली गरेर पनि आफ्नो अधिकारमा नराख्नु, तेस्रो आफ्नो अधिकारमा राखे पनि त्यसलाई राज्यकोषमा जम्मा नगर्नु । तजबिजी अधिकारको कल्पना गरेर कर नै असुल नगर्ने छुट दिएको पाइँदन । अनि कर असुल गरेर पनि त्यसलाई हिसाबमा नदेखाउने कामहरू दण्डनीय मानिएको छ । यस प्रकारको काम गर्नेलाई कोषको जति क्षय भएको छ त्यसको १० गुणा जरिवाना गर्ने निर्देश गरिएको छ । अर्को प्रयोग वर्गीकरण राज्यकोषको धन आफ्नो हितका निमित्त लेनदेन गरेर बढाउनु वा बढाउने प्रयत्न गर्नु । तेस्रो वर्गीकरणको व्यवहारअन्तर्गत राज्यकोषबाट आफ्नो हितको निमित्त व्यापार गर्नु ।
सम्भवतः यी दुई प्रकारमा राज्यकोषको रकम केही समयलाई मात्र क्षय हुने भएकाले हुनसक्छ प्रतिबन्धभन्दा कम सजाय तोकिएको छ, चलाएको रकमको दुई गुणा जरिवाना । अवस्तर भने कर अधिकारीको भ्रष्ट आचार हो । घुष लिने मनसायका साथ निश्चित समयमा कर असुली नगर्नु । पछि म्याद नाध्ने अन्य सजाय हुने डर-त्रास देखाएर आफ्नो निमित्त धन जम्मा गर्नुजस्ता काम यस वर्गीकरणमा परेका छन् । यसका निमित्त पाँच गुणा जरिवानाको प्रवाधन राखिएको छ ।
अपहार वर्गीकरणमा हिसाबमा गडबडी गर्ने कामलाई लिइएको छ । प्राप्त आय खातामा नचढाउने काम, नियमित व्यय अर्थात् खर्चलाई हिसाबमा चढाउने तर त्यो काममा खर्च नगर्ने, उपहारलगायतका कोष तथा वस्तु प्राप्त भए पनि प्राप्त नभएको भनेर छल गर्नु यसअन्तर्गत परेका छन् ।
परिहायण वर्गीकरण भने कोषका अध्यक्षको अकुशल व्यवस्थाको कारणले करको आय घट्ने अनि व्ययभार बढ्ने कारणले हुने कोषको क्षय हो । वर्तमानमा कोषको व्यवस्था र त्यससम्बन्धी नीतिनियम अर्थमन्त्रालयले बनाउँछ र त्यसको प्रमुख निसन्देह अर्थमन्त्री हुन्छ । यस किसिमको क्षयमा कुनै सजाय नै नतोके पनि त्यसको रोकथाम भनेको अकुशललाई कुशल बनाउने हो । चाहे त्यस्तो बनाउन उसलाई सिक्ने जान्ने अवसर दिने होस् वा त्यसलाई बदल्ने हा तर कोषको क्षय भने भइरहन दिन अनुपयुक्त हुने भएकाले यस प्रकारको क्षय उल्लेख भएको मान्न सकिन्छ ।
उपभोग वर्गीकरणमा राज्यकोषको हिनामिना भन्न सकिने अवस्था परेको छ । राज्यकोष आफैँले भोगचलन गर्ने वा अरूलाई भोगचलन गर्न दिने कामलाई यस वर्गीकरणमा राखिएको छ । यस किसिमको क्षयलाई कठोर दण्डको विधान गरिएको छ । उपभोगद्वारा गरिएको अपचलनको धनको किसिम वा मात्रानुसार प्राणदण्ड, जेल सजायदेखि जरिबानासम्म तोकिएका छन् । त्यसबेला वस्तु नै पनि कोषमा रहने भएकाले रत्न आदिको उपभोगको निमित्त प्राणदण्ड, सार द्रव्यको निमित्त मध्यम सहास भनिने दण्ड, फल्गु र कुप्य द्रव्यको निमित्त बिगो जफत गरेर बिगो बराबरको दण्ड व्यवस्था उल्लेख छ ।
परिवर्तन वर्गीकरणमा भने राज्यको कोषका वस्तुहरू साट्ने कामलाई लिइएको छ । राम्रो वस्तुसँग नराम्रो वस्तु साट्ने यस्ता काम गर्नेलाई उपभोग वर्गीकरणमा परेको कामलाई जस्तै सजायको प्रावधान राखिएको पाइन्छ । अपहार वर्गीकरणमा भने हिसाबमा गडबडी गर्ने कामलाई लिइएको छ । प्राप्त आय खातामा नचढाउने काम, नियमित व्यय अर्थात् खर्चलाई हिसाबमा चढाउने तर त्यो काममा खर्च नगर्ने । उपहारलगायत कोष तथा वस्तु प्राप्त भए पनि प्राप्त नभएको भनेर छल गर्नु यस वर्गीकरणअन्तर्गत परेका छन् । यस्तो क्षय गर्नेलाई भएको हानीको १२ गुणा दण्डको विधान गरिएको छ ।
यस किसिमको आर्थिक अपराध राजा अर्थात् शासकले आफूलाई शंका लागेमा अर्थात् शंकाको भरमा पनि अनुसन्धान गर्नुपर्दछ । कसैले गरेको उजुरीका आधारमा गरिएको छानविनमा अपराध प्रमाणित भएमा उजुरी गर्ने वा अनुसन्धानमा सघाउने व्यक्तिलाई पुरष्कारको पनि प्रावधान गरेको पाइन्छ । अन्यलाई बरामद भएको धनको छैटौं भाग र कर्मचारलाई बाह्रौं भाग पुरष्कारको प्रबन्ध गरिएको छ । झुटा उजुरी गरेको पाइएमा वा अनुसन्धानको क्रममा ढाँटेको पाइएमा त्यसलाई पनि सजायको व्यवस्था गरिएको पाइन्छ ।
यस क्रममा जनताको हानी भएको भए त्यसको क्षतिपूर्ति राज्यले गर्नुपर्ने प्रावधान रहेको भेटिन्छ । यी सबै कुरा अढाई सहश्राब्दी अर्थात् अढाई हजार वर्षपछि पनि सान्दर्भिक छन् । सजायको मात्रा फरक पर्न सक्ला तर अपराधलाई भने क्षमा दिइनु हुँदैन भन्ने कौटिल्यको मान्यता रहेको छ । पहिले जस्तो उत्पादनको प्रमुख स्रोत कृषि अहिले नहुन सक्छ । वस्तु नै करको रूपमा हुनुभन्दा नगद हुने गर्दछ तर यसले राजकोषबाट आर्जन गरिएका हरेक वस्तु राजकोषमा रहेका वस्तुसरहका हुन् भन्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच