अवैध लागूऔषधसहित पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । झापा, दाङ, कास्की र मोरङमा अवैध लागूऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाकाे दमक नगरपालिका-२ खरखरे बस्ने ४१ वर्षीय भिम बहादुर खत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै झापाकै मेचीनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ सय मिलिग्रामसहित मोरङ लेटाङ नगरपालिका-४ बस्ने २१ वर्षीय सनिप राई र सोही ठाउँ बस्ने २१ वर्षीय पूर्ण प्रकाश मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उक्त घटनाको थप अनुसन्धानको लागि अन्य १ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङकाे घोराही उपमहानगरपालिका-१० सौडिकुला बस्ने ३५ वर्षीय लाल बहादुर चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ६ सय ८० मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-३० बरालथोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्रामसहित स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका-८ रत्नचोक बस्ने १९ वर्षीय गणेश गुरूङ लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग.९ प ८२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ७ सय ५० मिलिग्रामसहित सुन्दरहरैँचा नगरपालिका-२ बस्ने २८ वर्षीय ज्ञानदीप चौलागाईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश २-०४ प १७५७ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?