कमल थापाले दायर गरेको रिट खारेज, राप्रपा नेपालले ‘गाई’ चिन्ह नपाउने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गाई चुनाव चिन्ह पाउनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार थापाले दायर गरेको रिट खारेज गरिदिएको हो ।

अध्यक्ष थापाका तर्फबाट राप्रपा नेपालका नेता शशी भण्डारीले असार ३० गते चुनाव चिन्ह गाई माग गर्दै सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । जसमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो । नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीबमोजिम दर्ता भएको पार्टी राप्रपा नेपाललाई निर्वाचन आयोगले चुनाव चिन्ह गाई नदिनुपर्ने कुनै कारण नभएको जिकिर रिटमा गरिएका थियो ।

रिट खारेजीसँगै राप्रपा नेपालले गाई चुनाव चिन्ह नपाउने भएको छ । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिन्ह दिएको छ ।
सर्वोच्चले असार ३१ गते चुनाव चिन्ह गाई पाउनुपर्ने राप्रपा नेपालको रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो भने भदौ १२ गते राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिन्ह नदिन अन्तरकालीन आदेश दिएको थियो । थापाले गत फागुन ७ गते राप्रपा नेपाल पार्टीको घोषणा गर्नुभएको थियो । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापाले राप्रपा नेपाल गठन गर्नुभएको थियो ।

गाई चिन्ह नदिने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण : अध्यक्ष थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । गाई चिन्ह माग गर्दै दायर रिट सर्वोच्चले खारेज गरिदिएपछि थापाले चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको टिप्पणी गर्नुभएको छ । चलखेल, दबाब र ‘सेटिङ’ले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण यो फैसला भएको उहाँको भनाइ छ ।

‘अदालतको फैसला शिरोधार्य छ । तर, गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोेच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ,’ उहाँले भन्नुभएको छ, ‘चुनाव चिन्ह रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र सेटिङले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला । अदालतको फैसला मान्नु बाध्यता छ । मान्छु ।’

राप्रपा नेपाललाई गाई चिन्ह नदिने निर्णय देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भइरहेको देशीविदेशी शक्तिहरूको सुनियोजित षड्यन्त्रअन्तर्गतकै एउटा कडी भएको उहाँको आरोप छ । तर, आफूहरू हतोत्साहित वा विचलित नभई अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरू भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने र भ्रष्ट प्रवृत्ति र शक्तिका पूजारीहरूको भण्डाफोर गर्ने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?