सर्वोच्च अदालतका लागि तीनजना न्यायाधीश सिफारिस

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा परिषद्ले नीता गौतम दीक्षित, विनोद शर्मा र डा. डिएन पराजुलीको नाम सिफारिस गरको हो । मंगलबार बसेको न्यायपरिषद्को बैठकले दुईजना उच्च अदालतका मुख्य न्यायाधीश र एकजना नेपाल ल क्याम्पसका अध्यापकलाई सिफारिस गरेको हो ।

गौतम उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश हुनुहुन्छ भने शर्मा जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश हुनुहुन्छ । त्यसैगरी, डा. डिएन पराजुली नेपाल ल क्याम्पसका प्रमुख हुनुहुन्छ । न्यायपरिषद्को मंगलबारको बैठकले उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषद्का सदस्य तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले बताउनुभयो ।

न्यायपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट न्यायाधीश नियुक्त हुने प्रावधान छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी रहेको छ । हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू मीरा खड्का, तेजबहादुर केसीको अवकाशपछि दुई पद रिक्त थिए ।

त्यसैगरी, अहिलेको कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की असोज १६ गते अवकाश पाउने हुँदा रिक्त हुने एक न्यायाधीश पदका लागिसमेत सिफारिस गरिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने महाभियोग लागेर निलम्बनमा रहनुभएको छ । उहाँ पनि कात्तिक २७ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ ।

सिफारिस गरिएका तीनैजना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइका लागि समितिमा पठाइनेछ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उहाँहरू न्यायाधीश पदमा नियुक्त हुनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?