राष्ट्रिय सभाका विषयगत समितिहरुमा सभापतिका लागि मनोनयन दर्ता

Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय सभाका चारवटा विषयगत समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुभएको छ ।

बुधवार सिंहदरबारस्थित राष्ट्रिय सभाको सचिवको निजी सचिवालयमा पुगेर उम्मेदवारहरुले सभापति पदका लागि आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको हो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभाका चारवटा विषयगत समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको जानकारी दिनुभयो । जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ ।

उहाँको प्रश्तावकमा महेशकुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहनुभएको छ । त्यस्तै अनिता देवकोटाको प्रश्ताव र देवेन्द्र दाहालको समर्थनमा विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुषालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ ।

उहाँको प्रश्तावक मदनकुमारी शाह (गरिमा) रहनुभएको छ भने समर्थकमा युवराज शर्मा रहनुभएको छ । त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ । उहाँलाई गोपीबहादुर सार्की आछामीले प्रश्ताव गर्नुभएको छ भने दुर्गा गुरुङले समर्थन गर्नुभएको छ ।

चारवटै विषयगत समितिको सभापतिहरुको निर्वाचन भदौ २३ गते बिहीवार दिउँसो १ बजे हुने राष्ट्रिय सभाका सचिव फुयालले जानकारी दिनुभयो । सम्बन्धित समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकमा प्रश्तावकले प्रश्ताव पेस गरेसँगै प्रक्रिया अगाडी बढी सभापति निर्वाचित हुने उहाँले उल्लेख गर्नुभयो ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै दिगो विकास तथा सुशासन समिति सभापतिका उम्मेदवार प्रकाश पन्थले सुशासन र दिगो विकासको सम्बन्धमा सरकारले गरेको कामको अनुगमन तथा निर्देशन दिन आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले भन्नुभयो , ‘सांसदहरुको काम विधि निर्माण गर्ने, ऐन, कानून बनाउने त भयो । त्यो सँगसँगै सरकारको कामहरुको निगरानी गर्ने, सुशासनदेखि दिगो विकासका कुराहरुमा सरकारको कामलाई अनुगमन गर्ने, निर्देशन दिने, सरकारको काम, कारबाहीमा निगरानी राख्ने हिसावले मैले यो विषयलाई रोजेर आफ्नो उम्मेदवारी दिएँ ।

त्यस्तै संक्षिप्त प्रतिक्रिया दिँदै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति पदका उम्मेदवार माया प्रसाद शर्माले सरकारले दिएको आश्वासन र प्रत्यायोजित भएका अधिकारहरु अनुरुपको काम भए/नभएको हेरी निर्देशन दिन आफ्नो उम्मेदवारी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले गरेका आश्वासनहरु, प्रत्यायोजित अधिकारहरु, नियम, कानूनहरु, विधेयकहरु निर्माण गर्नका निमित्त छलफल, वहस गर्न र सरकारलाई निर्देशन दिने काम भएका कारणले त्यसैको लागि मैले उम्मेदवारी दिएको हुँ ।’

त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पदकी उम्मेदवार दिलकुमारी रावल थापा पार्वतीले सरकारलाई समितिप्रति जवाफदेही बनाउन आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारलाई समितिप्रति जवाफदेही र उत्तरदायी बनाउने । समितिको निर्देशन कार्यान्वयनयोग्य, यथार्थपरक हुनुपर्छ । निर्देशन कार्यान्वयन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ र त्यो औचित्यता समितिले पुष्टि गर्नुपर्छ । कार्यान्वयनका लागि निरन्तर अनुगमन गर्नुपर्नेछ ।’

उहाँले समितिले सरकारलाई दिने निर्देशनलाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउनका लागि पनि आफ्नो भुमिका हुने बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?