नगद प्रोत्साहन सहज बनाउन अर्थमन्त्रीको निर्देशन

Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थ मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालासँगको अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उहाँले कार्यविधि सहज बनाउन निर्देशन दिनुभएको हो ।

मन्त्री शर्माले भन्नुभयो, ‘मैले स्पष्टरूपमा सचिवज्यूहरूलाई भनेको छु सरल र सहजरूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन, सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खालको बनाउनुपर्छ ।’ उहाँले मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने पनि बताउनुभएको छ । मन्त्री शर्माले भन्नुभयो, ‘एक प्रतिशत भ्यालु एडिसनलाई पनि त्यही र अर्कोलाई पनि त्यही हुन सक्दैन, त्यो भ्यालु एडिसनकै आधारमा गर्नुपर्छ ।’

‘मैले स्पष्टरूपमा सचिवज्यूहरूलाई भनेको छु सरल र सहजरूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन, सजिलैसित पाउने बनाउनुपर्छ ।’

उहाँले निजी क्षेत्र सरकारको एक साझेदार नै भएकाले निजी क्षेत्रका समस्या समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने बताउनुभयो । मन्त्री शर्माले व्यवसायीलाई भन्नुभयो, ‘तपाईंहरूले आफ्नो समस्या बताउनुभएको छ । तिनलाई समाधान गर्ने उपाय राष्ट्र बैंक, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर निकाल्छौं, हाम्रो कुरा चाहिँ निजी क्षेत्रलाई समस्या वा गाह्रो नहोस् भन्ने हो । सकेसम्म तपाईंहरूलाई सहज होस् र हामीले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा होस् ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा व्यवस्था गरिएको इन्सेन्टिभले उद्योगी तथा व्यवसायीलाई उत्साहित गरेको बताउनुभयो । उहाँले जुत्ता, छड तथा सिमेन्ट क्षेत्रकै निर्यात क्षमता करिब तीन खर्बको रहेको भन्दै त्यसको ५० प्रतिशतमात्र निर्यात गर्न सके पनि मुलुकको व्यापारघाटा धेरै हदसम्म न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजेटमा उल्लेखित व्यवस्थामध्ये निर्यातकर्तालाई सबभन्दा बढी उत्साहित गरेको भनेको निर्यातमा नगद अनुदानले नै हो, यी तीनवटामात्र क्षेत्रको निर्यात सम्भावना तीन सय अर्बको देखिन्छ । यसको ५० प्रतिशतमात्र निर्यात गर्न सक्यौं भने पनि व्यापारघाटा धेरै हदसम्म कम हुन्छ । यो सम्भावना पनि छ ।’

महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले ठूलो समस्या भनेको तरलता अभाव, बजेटअनुसार मौद्रिक नीति नहुनु, ऐन संशोेधनलगायतका कारण उद्योग संकुचनतिर गएको बताउनुभएको अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार मनऋषि धितालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?