संकटमा चौंरीपालन व्यवसाय

हिमालय टाइम्स
Read Time = 5 mins

सिन्धुपाल्चोक । आफ्नो उमेरभन्दा पनि पाको र ठाडो भिरमा अवस्थित चौंरीखर्क धाउने वृद्धवृद्धाहरूलाई अचेल खर्कमा रमाइलो कम र अत्यास ज्यादा लाग्न थालेको छ । आफ्ना न्यूनतम आवश्यकता पनि यो पेशाबाट पूर्ति हुन सकेको छैन । चौंरी पाल्नेका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । बाँकी बालबालिका गाउँमै चौंरीगोठ र घर गर्दछन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथानको स्पाबल चौंरीखर्कमा भेटिएका नोर्साङ शेर्पा आफूले जति दुःख गरे पनि छोरीछोरीले भने आफ्नोजस्तो जीवन बिताउन नपरोस् भन्ने चाहनुहुन्छ । उहाँले छोराछोरीलाई काठमाडौंमा पढाउन चौंरी पालेर अब सम्भव नभएको बताउनुभयो । उहाँसँगै चौंरीगोठमा भेटिनुभएकी साङ्मु शेर्पाको पनि आफ्नो जीवन चौंरी र खर्क गर्दै बिते पनि छोराछोरीले भने पढेर केही गरून् भन्ने चाहना छ ।

दुर्गम ठाउँ भएकाले पनि सुखसयलको याचना उनीहरूमा छैन । चौंरी, खर्क र त्यहीं वरपरमै उनीहरूको संसार अडिएको छ । किसानको उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीलाई आर्थिक फाइदा भए पनि चौंरीपालक किसान भने मारमा छन् । ऋण गरेर चौंरी पालेको तर वर्षौंसम्म पनि आफू ऋणमुक्त हुन नसकेको नालुङ शेर्पा बताउनुहुन्छ ।

कुनै बेला ‘चौंरीको राजधानी’ भनेर चिनिने सिन्धुपाल्चोकमा चौंरीपालन संकटमा पर्दै गएको छ । चौंरीगोठमा जन्मिएका र हुर्किएका अधिकांश युवा वैदेशिक रोजगारीमा गएपछि यो व्यवसाय संकटमा पर्न थालेको हो । नौ महिनासम्म हिमाली खर्कमा बिताउँदै चौंरीपालन गर्न युवाको आकर्षण नभएपछि यो व्यवसाय संकटमा पर्दै गएको सिन्धुपाल्चोकको तेम्बाथानका किसान पासाङ तेम्बु शेर्पाले बताउनुभयो । अहिले चौंरीपालन पेशा व्यवसायभन्दा पनि बाध्यता बनेकोे छ ।

यस भेगका तामाङ र शेर्पा जातिको मुख्य आम्दानीको स्रोत नै यही हो । चौंरीको दूधबाट बन्ने चिज, मख्खन, छुर्पीलगायत परिकारको बजारमा अझै माग बढ्दो छ । तर, चांैरी पाल्नेहरूको संख्या घटेपछि अहिले मागअनुसारको आपूर्ति हुन सकेको छैन । परम्परा धान्ने नाममा होस् या जानेको कामको निरन्तरता पशुपालनभन्दा परको संसार देख्नै बाँकी छ यहाँका स्थानीयले । परम्परागत पेशा धान्दै आएका बुढाबुढीका लागि अहिले यो पेशा बाध्यता बन्न थालेको छ ।

नयाँ पुस्ताको आकर्षण हट्दै गएपछि चौंरीको संरक्षण गर्न हेलम्बु र जुगल गाउँपालिकाले बीमा कार्यक्रम ल्याएका छन् । एउटा चौंरीकै ८० हजारदेखि एक लाखसम्म मूल्य पर्ने भएकाले बीमाले केही राहत पुगेको किसान नोर्शाङ शेर्पाको भनाइ छ । चौंरी पालनमा सरकारले प्रोत्साहनका कार्यक्रम नल्याएको, शिक्षित स्थानीय युवाहरू गाउँ नभएका, अस्पताल अभाव, व्यावसायिक चौंरी पालनमा पशुपालकको पनि चासो नहुनुलगायत थुप्रै कारणले अबको केही वर्षमा चौंरी पालन जीविकोपार्जनमा मात्र सीमित हुने या हराएरै जाने यहाँका स्थानीय बताउँछन् ।

सिन्धुपाल्चोकमा १३१ कृषक चौंरी पालनमा आबद्ध छन् । बाह्रबिसे नगरपालिका, भोटेकोशी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौंरी पालन हुने गरेको छ । हाल वृद्धवृद्धाले धान्दै आएको परम्परागत पेशाको जगेर्ना गर्न यसमा युवाको आकर्षण बढाउन जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?