मैले गाउने गीतमा हाम्रै माटोको सुगन्ध हुन्छ : दीपेन्द्र दाहाल, देउडा (डोटेली) गायक

Read Time = 9 mins

लोक देउडा गायनमा आफ्नो भिन्न पहिचान बनाउन सफल नाम हो दीपेन्द्रप्रसाद दाहाल । आफ्नै शब्द र लयमा उहाँका धेरै गीत सार्वजनिक भएका छन् । दाहालले २५ वटा एल्बम श्रोतमाझ ल्याउनुभएको छ । पहिलो गीत ‘बाजकली जसमा सेती कर्णाली किल्ला, कठै मेराई प्यारा डोटी जिल्ला’ले नै उहाँलाई धेरै माझ परिचित गरायो । यस्तै ‘परदेशीको रैबार’, ‘झल्को’, ‘साफे सरु खायो’, ‘रङ्गी माल’, ‘हैन भिनाजु’, ‘गुरस्या लेक वन’, ‘मायाको इतिहास’, ‘जुनकिरी’, ‘परदेशी रमिता’, ‘पिरती, बिरहका आँसु’, ‘सेतिको कोसेली कालिको सम्झना’, ‘चोली चौबन्दी’, ‘बुलबुली’, ‘रनपुतला’, ‘लडाइको सिपाही’, ‘मंगलसूत्र’, ‘नला साइ अपुरा झल्का’, ‘दिल छनाइछ चोखो’, ‘बैंलोर सिटीमा’लगायत थुप्रै उहाँका प्रस्तुति लोकप्रिय रहेका छन् । आफूले गाउने गीतमा माटोको सुगन्ध हुने बताउनुहुने लोक देउडा (डोटेली) गायक दीपेन्द्रप्रसाद दाहालसँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं:-

० गीतसंगीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
गीतसंगीतको न जरो छ न त टुप्पो, भनाइको अर्थ के छ भने यसमा न वर्ग छ न विभेद छ, न त आफ्नो छ न त पराया, किन भने यो गीतसंगीतभित्र नरमाउने सजीव प्राणी कोही पनि छैन । कीरा मकौरादेखि लिएर मानव जातिसम्म गीतसंगीतमा रमाउछन् । गीतसंगीतले हरेक प्राणीहरूको अन्तर आत्मामा भएको दुःख पीडालाई निभाउछ, उमंगता प्रदान गर्छ, हसाउँछ रमाउँछ ।

० जीवन र संगीतलाई कसरी बुझ्ने ?
हर कुनै मानवको आमाको काखबाट जन्महुन्छ एक प्रकारको ध्वनीका साथै यो धर्तीमा पाइला टेक्छ, आमाको कोखबाट निस्कँदा हर कुनै बालक रुन्छ । स्वरमा ध्वनि कै साथमा आउँछ, त्यो आमाको पीडा एकातिर छ भने आमाको पेटबाट बाहिर निस्कँदाको रुन्चे ध्वनिका साथै कराउँछ बालक । तर, आमाले बालक कराएको सुन्दा आफ्नो शारीरिक पीडालाई बिर्सेर बच्चालाई अंगालो हाल्न पुग्छिन त्यो ध्वनि पनि संगीतभित्र नै पर्छ भने जीवन नै संगीत हो र संगीत नै जीवन हो ।

मैले गाएको गीतमा सबै कुराहरू समेटिएको हुन्छ । अनुशासन, भावुकता, सामाजिक सद्भाव, नैतिकता, देशकाल र परिस्थिति अनुसारका गीत छन् । उच्छृंखल, नांगो पाराको, छाडा शब्द र सामाजिक सद्भावभन्दा बाहिरको छैन ।

० संगीतमा मनोरञ्जन र सन्देश के कस्तो हुनुपर्छ ?
हेर्नुहोस् काग आउँछ आँगनमा कराउँछ मनुष्यको ध्यान कागतिर जान्छ र सोच्छ काग करायो खै के खबर आउने हो राम्रो/नराम्रो दुवै हुन्छ यो सन्देश हुन जान्छ । कतै दुःखको गीत गाइन्छ, कतै हर्सको गीत गाइन्छ भने कतै सबै दुःख सुख बिर्सनेगरी रमाइन्छ । संगीतमा हर्ष र विस्मात् दुवै मिसिएको हुन्छ । यसमा आ-आफ्नो बुझाइ हुन्छ । तेसैले गीतसंगीतमा मनोरञ्जन र सन्देशको आ-आफ्नो स्थान छ ।

० तपाईंको गायनमा मनोरञ्जन माथि कि सन्देश ?
मैले गाएको गीतमा सबै कुराहरू समेटिएको छ, अनुसासन छ, भावुकता छ, सामाजिक सद्भाव छ, नैतिकता छ, देश काल र परिस्थिति अनुसारको छ, सबै जनमानस तथा परिवारभित्र बसेर सुन्न सकिने शब्द छ । न कि उछृंखल, नाग्गो पाराको, छाडा शब्द र सामाजिक सद्भावभन्दा बाहिरको छैन ।

० तपाईं कसका लागि गाउनुहुन्छ ?
म सबैका लागि गाउछु । दिन दुःखीहरूका लागि, सभ्य समाजका लागि, असल शासनका लागि, देश भक्तिका लागि, असल राष्ट्र निर्माताका लागि, आफ्नो कथा व्यथाका लागि, वास्तविक संस्कारका लागि, यथार्थ संस्कृतिका लागि तथा समस्त सभ्य दृष्ट्रिकोणका लागि ।

० यहाँले प्रायः देउडा गीत गाउनुको कारण ?
मेरो जन्मभूमि नेपाली भाषाको उद्गम क्षेत्र, हाम्रो भेषभूषा, रहनसहन अनि हाम्रो संस्कृति र परम्पराको सम्मान छ । त्यसैले देउडामात्रै नभनी डोट्याली भाषाका लोक गीतहरूभन्दा असल होला । डोट्याली गीतहरूको भाव भिन्न छ । अनुशासित छ, शब्दमा पूर्ण आर्थ छ, लोक साहित्यलाई अंगालेको छ तेसैले म लोक देउडा गीतहरू गाउन प्रेरित हुन्छु ।

० देउडा र अन्य गीतमा के फरक छ ?
कृपया डेउडामात्रै नभनिकन डोट्याली लोक गीत भनिदिनुभएको भए आभारी हुनेथिए । हाम्रो आफ्नै किसमको भेषभूषा छ भने अन्य गीतहरूमा पाश्चात्य संगीत छ । लोक देउडामा वास्तविकता छ, त्यस क्षेत्रको माटोको सुग्न्ध छ ।

० देउडा गीतले एउटा क्षेत्रको प्रतिनिधित्व गर्छ राष्ट्रिय मूलधारमा आएर सबै प्रकारका गाउँ जस्तै लाग्दैन ?
म सबै प्रकारका गीत गाउन सक्छु । तर मेरो पहिचान भने यिनै गीतमा छ । यसैमा रमाएको छु ।

० डोट्याली गीतको वास्तविक अर्थ ?
डोट्याली गीतहरूको वास्तविक अर्थ भनेको राष्ट्र र राष्ट्रियताको तथा हाम्रो संस्कारको पालना तथा जगेर्ना गर्नुहो ।

० देउडा गीतलाई संगीतको मूलधारमा ल्याउन तपाईंको भूमिका के-के हुनसक्छ ? अहिलेसम्म के-के गर्नुभएको छ ?
मैले गीत गाएको छु आफ्नै संस्कारिक शैलीमा । मैले सम्मान गरेको छु हाम्रो रीतिरिवाजको । म आज्ञाकारी छु मेरै मातृभाषाको । म छत्र छयाँमा छु श्री पशुपतिनाथ तथा मेरै संस्कारको । त्यसैले मैले जे जति समय दिएको छु मेरै भेषभूषा र मेरै रहनसहन तथा आफ्नै परिपाटीको ।

० गीतसंगीतको यात्रामा तपाईंको आदर्श व्यक्ति को-को हुनुहुन्छ ?
यसमा मेरो आफ्नै माइला दाजु हुनुहुन्थ्यो लक्ष्मीप्रसाद दहाल उहाँ यो दुनियाँमा हुनुहुन्न अहिले । उहाँले बढी जस्तो रेडियो सुन्ने र बिग्रेको रेडियोहरूमर्मत गर्नुहुन्थो । मेरोभन्दा नि मीठो स्वर थियो गाउनुहुन्थ्यो । लुकी चोरी मैले पनि सिखो गर्थे र हुबहु गाउँथे । त्यसो गर्दा गर्दै मैले गायन क्षेत्रलाई अँगाल्न पुगे । मेरो आदर्श भनेकै मेरै माइला दाजु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?