काठमाडौं-निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरूलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । बैठकले रेल पूर्वाधार आयोजनाअन्तर्गत जनकपुर-जयनगर र जनकपुर-कुर्था-बर्दिबास-निजगढ खण्डको स्थलगत अवलोकन भ्रमण प्रतिवदेन सुझावसहित पारित गरेको छ ।

समितिकी सभापति खड्का नेतृत्वको संसदीय भ्रमण टोलीले ५, ६ र ७ भदौमा स्थलगत अवलोकन गरी तयार पारिएको प्रतिवेदनमा रेल सञ्चालनका लागि आवश्यक जनशक्ति एवम् यसको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरूको दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने स्पष्ट कार्ययोजना तत्काल अघि बढाउन सरकारलाई भनिएको छ । त्यसैगरी, रेल सेवा चुस्तदुरुस्त राख्नका लागि आफ्नै वासिङ सेन्टर, वर्कसप र फ्युल स्टेसन स्थापना गर्ने कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सरकारलाई निर्देशन गरिएको छ ।

प्रतिवेदनले दिएको सुझावका आधारमा रेल पूर्वाधार आयोजनाअन्तर्गत जनकपुर-जयनगर र जनकपुर-कुर्था-बर्दिबास-निजगढ स्थलगत अवलोकन भ्रमणको मस्यौदा प्रतिवेदन पेश गरी बैठकले सुझावसहित पास गर्ने निर्णय गरेको खड्काले बताउनुभयो । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि बैठकमा पेश गरिएको थियो । बैठकमा समितिका सदस्यले रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण कार्यलाई तत्काल अघि बढाउन सरकारलाई सचेत गराएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले रेल सेवा सञ्चालनको कामलाई अघि बढाउँदा त्यसले दिने प्रतिफललाई ध्यानमा राखेर मात्रै अघि बढाउन उपयुक्त हुने सुझाव दिनुभयो । सांसद सुनुवारले नेपाल वायु सेवा निगम जस्तो जहिल्यै घाटामा जाने गरी सरकारले कुनै पनि आयोजना अघि बढाउन नहुने धारणा राख्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?