देशले प्रधानमन्त्री भएको हेर्न चाहेको छ ?

प्रा. देवीभक्त ढकाल
Read Time = 19 mins

देशले व्यक्ति किटेर प्रधानमन्त्री भएको हेर्न चाहेको छ भन्ने विचार मनगढन्ते हुन् । प्रधानमन्त्रीको चाहना गर्दै म म भन्नेहरूको नामावलीसहितको विज्ञापनको लहर भने आएको छ । प्रधानमन्त्री जस्तो पदको दाबेदारले पद डिमाण्ड गर्नुभन्दा आफ्नो योग्यता, कार्यक्षमता र लोकप्रियताले कमाण्ड गर्न सक्नुपर्छ । पदलाई डिमाण्डमात्रै गर्ने कमाण्ड गर्न नसक्ने हाम्रो राजनीतिको मुख्य समस्या हो । प्रधानमन्त्री पदका लागि तपाईं होइन मपाईं भन्नेहरूको तमासा छ । यहाँ पैसाको बलले, बाबुका नामले, यसअघि हुँदै आएका कारणले र यसअघि अवसर नपाएका कारणहरू तेस्र्याएर उम्मेदवार बन्नेहरूको लस्कर छ । कार्यक्षमताले प्रधानमन्त्रीको दाबेदार हुने योग्य व्यक्तित्व हाम्रो राजनीतिले जन्माउन सकेन ।

प्रधानमन्त्री पदको दाबी प्रायः सबै अयोग्यहरू गर्दैछन् । यो साझा चिन्ताको विषय हो । दाबी किन यो लाटाले पनि बुझ्छ ? भइरहेकाले फेरि ढुकुटी लुट्ने अवसर खोज्ने जाल हो भने नपाउनेहरू लुट देखेर मुर्छित भएको प्रमाण हो । राजनीतिका बाठाहरूमा ढुकुटी लुटको भावना नेपालमा जन्मजात गुण बन्यो । मलाई देशले प्रधानमन्त्री भएको हेर्न चाहेको छ भन्नुु आफैँले आफ्नो विज्ञापन गर्नु निर्लज्जताको प्रस्तुतीकरण हो । लोकलाज र लोकतान्त्रिक प्रतिस्पर्धात्मक क्षमतासँगको आत्मसमर्पण र योग्यता शून्यताको जबरजस्त प्रमाण हो । मानिसहरू पदका लागि कतिसम्म गिर्न सक्छन् भन्ने उदाहरण पनि हो यो ।

बीपी कोइरालाले जस्तै कालोटोपी ढल्काएर अनुयायी हुँ भन्नेहरूले बीपी कोइरालाको सरल जीवनशैली र आफ्नो विलासी जीवनशैलीलाई कहिल्यै तुलना गरेका छन् ? बीपी कोइरालाले प्रधानमन्त्रीको पदमा रहँदा आगन्तुक नेता तथा कार्यकर्तालाई दूध हालेको चिया दिन आर्थिक रूपमा सम्भव नभएर कालो चिया दिने सम्झौता सुशीला कोइरालासँग भएको विषय आफ्नो जीवनीमा उल्लेख गरेका छन् । स्वकीय सचिव तारिणीप्रसादले लगाएको जुत्ता कहाँबाट आयो ? कसले दियो भनेर र्‍याखर्‍याख पारेको कुरा हामीले पढेका र सुनेका विषय हुन् । बीपी कोइरालालाई के काठमाडौंको घरको आवश्यकता थिएन ? के उनलाई काठमाडौंको घरको महत्व थाह थिएन ?

अहिले सबै पार्टीहरूका गाउँ तहका नेताहरूले पनि काठमाडौंमा घर खडा गरेका छन् । काठमाडौंमा बनेका घरहरूको आर्थिक स्रोतको स्वच्छ अध्ययन र अनुसन्धान गरौँ त कुन राजनीतिक कार्यकर्ताले वैध आर्जनले घर बनाएको छ ?

उनले काठमाडौंमा घर किन बनाएनन् ? नसकेर कि नजानेर ? कि यसको गलत नजिरले हुने राष्ट्रिय प्रभावलाई जानेर ? बीपीले त्यसबखत काठमाडौंमा घर नबनाएको वा नकिनेका कारणले उनी सधैँ सम्मानित छन् । अहिले महल बनाउनेहरू किन अपमानित छन् ? हिजो बीपीले काठमाडौंमा घर नबनाएर वा नकिनेर जम्मा गरेको प्रतिष्ठालाई अहिले पूर्वजको पुँजी, आफ्नो अन्य व्यवसाय र आयका कुनै स्रोत नभएकाहरूले काठमाडौंमा घर होइन महल बनाएर कांग्रेस पार्टीको र आफ्नो प्रतिष्ठा लिलाम गरे । तसर्थ कांग्रेस पार्टीले निर्वाचनमा प्रतिस्पर्धा गर्न सैद्धान्तिक रूपमा विपरीत धारणा राख्ने पार्टीहरूको बैसाखी टेक्दा कांग्रेसका आमकार्यकर्ता र शुभचिन्तकहरूको तेजोबध भएको छ । यस्तो लज्जाजनक निर्णयलाई बहादुरी ठान्ने नेतृत्वको पक्षमा कांग्रेसका मतदाताले किन मतदान गर्ने ?

अहिले सबै पार्टीहरूका गाउँ तहका नेताहरूले पनि काठमाडौंमा घर खडा गरेका छन् । काठमाडौंमा बनेका घरहरूको आर्थिक स्रोतको स्वच्छ अध्ययन र अनुसन्धान गरौँ त कुन राजनीतिक कार्यकर्ताले वैध आर्जनले घर बनाएको छ ? काठमाडौंमा बनेका अधिकांश घरहरूको आर्थिक स्रोत भ्रष्टाचार हो । यसलाई होइन भनेर अध्ययनबाट पुष्टि गर्न कसैले सक्छ ? प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासम्म र सत्तामा सधैँ नजिक रहने नेताहरूको घरमा रेखदेखको जिम्मेवारी पाउने भाग्यमानी कामदारहरू सबै विलासी कार, काठमाडौंमा घर होइन आलिसान महल बनाएर बसेका छन् ।

उनीहरूको जीवनशैली आमनेपालीसँग तुलना गर्दा कहालीलाग्दो छ । कम्युनिष्ट पार्टीहरूका प्रधानमन्त्रीहरूका आसेपासेहरूको अवस्था अझै उच्च छ । मुख्य-मुख्य पदमा रहनेहरूको लुटको लेखाजोखा गर्न सक्ने अवस्थै छैन । विकृतिको स्रोत यिनै पदमा हुने नेताहरू हुन् । जसले सत्ताको दुरुपयोग आफू र आफ्नाका लागि गरेर देश र जनतालाई धोका दिएका छन् । अहिले प्रधानमन्त्रीको दौडमा तिनै धोकेवाजको लस्कर छ । जनतालाई वर्षौंसम्म धोखा दिनेहरूलाई यसपटक पनि जनताले भोट नदिने इमानदारी निर्वाह गरेनन् भने अबको पाँच वर्षे कुशासनले देशलाई पचास वर्षपछि धकेल्छ । जनताको अहिलेको निर्णयको दुष्प्रभाव सन्ततिलाई पर्छ ।
त्यसैले त्यो दुष्प्रभावबाट सन्ततिलाई जोगाउन पनि आगामी निर्वाचनमा विगतमा निर्वाचनको नाममा सुशासनको मर्यादालाई चोट पुर्‍याउने भ्रष्टहरू कुनैलाई पनि भोट नदिने र नदिलाउने अभियानमा जनता जाग्नुपर्छ र लाग्नुपर्छ । पदमा सधैँ दाइँ हाल्ने विचौलियाका नाइकेहरूको चकाचौध छ । आफूलाई साम्यवादी, समाजवादी, समानतावादी र बीपीवादी भन्नेहरूको आन्तरिक आर्थिक समृद्धिलाई चियाउँदा देश र जनताप्रति यिनीहरूले गरेको धोकाधडीको छारस्ट तस्वीर देखिन्छ ।
राजनीतिमा देशको विकास गर्ने र जनतालाई समृद्ध बनाउने भनेर जनताको समर्थनमा परिवर्तनको यज्ञमा लागेकाहरू जनताको परिवर्तन र देशको विकासको चाहनालाई विचल्ली पार्दै आफू र आफ्नालाई समृद्ध बनाउन लागे । जनताको मनमा यिनीहरूप्रति अहिले असन्तुष्टिको पहाड खडा भएको छ । त्यो असन्तुष्टिलाई सक्रिय कार्यान्वयन गर्न आगामी निर्वाचनमा भ्रष्टाचारीहरूलाई मतदान नगर्ने वातावरण बनाउन सक्रिय भएर लाग्नुपर्छ । लोकतन्त्रमा विज्ञापनबाट भन्दा विगतका राम्रा कामहरूबाट जनतालाई आकर्षण गर्ने विशिष्ट शक्तिको माध्यमले अवसर प्राप्त गरिन्छ ।

हाम्रा पार्टीहरूमा अहिलेसम्म विगतमा राम्रो काम गरेका तारिफयोग्य जीवित नेतृत्व क्षमताका व्यक्ति किन देखिँदैनन् ? अहिलेसम्मको यिनीहरूको क्रियाकलापले के पुष्टि गरेको छ भने यिनीहरू प्रायः सबै नै राजनीतिमा कार्यरतको देश बनाउने, जनतालाई समृद्ध बनाउने भित्री उद्देश्य नै थिएन र छैन । जनतालाई विकास र समृद्धिको घाँस देखाउने र आफ्नो र परिवार तथा नातागोताको विकास गर्ने लक्ष्यका साथ यिनीहरू राजनीतिमा प्रवेश गरेका कारण यिनीहरूको क्रियाकलाप स्वार्थी भयो । लक्ष्य एउटा बोली अर्को भन्ने कुरा यिनीहरूको कार्यशैली र जीवनशैलीले प्रमाणित गरे ।

अब यिनीहरूले अहिलेको निर्वाचनमा जस्तोसुकै बहाना, छलछाम गरेपनि जनताले पुरानाहरूलाई विश्वास गर्नु हुँदैन । जनताको विश्वास पूर्णरूपमा उठेको कुरा प्रमाणित गर्ने दिन अब टाढा छैन । यिनीहरूका अवैध आर्जनको प्रभाव मतदानमा पर्नेछ । यिनीहरूसँग पैसा लिएर मतदानमा इमानदार हुनुभन्दा पैसा लिने तर मत अर्कोलाई दिने इमानदारी गर्ने क्षमता र योग्यता आममतदातामा विकास हुन जरुरी छ । मतदानको बेला सबै पार्टीका मतदाताले पुरानाहरूलाई ‘ल खा’ भन्न सक्नुपर्छ ।

यिनीहरूलाई आफ्नो आपराधिक क्रियाकलापको ज्ञान हुँदाहुँदै यिनीहरूले जनतालाई र देशलाई जबरजस्त धोका दिएका छन् । राजनीति धन कमाउन, आफ्नो व्यवस्था गर्न आर्थिक लगानी नगरीकन सम्भव हुन्छ र सकिन्छ भनेर सबै राजनीतिमा आएका कारण पदमा रहने सबैले आफ्नो र आफ्नाको आर्थिक, सामाजिक र राजनीतिक उन्नति गरे । बाबुराम भट्टराईको भाषामा हिजो साथीहरूका जडौरी चप्पल लगाउनेहरू आज वर्षेनी प्राडो, पजेरो जस्ता संसारकै विलासी कारहरू फेर्न सक्ने हैसियत कसरी बन्यो ?

यिनीहरूसँग भ्रष्टाचारबाहेक आम्दानीको अर्को कुनै स्रोत छैन । न यिनीहरूको जमिनको आय छ न यिनीहरूको कुनै बन्द व्यापार छ ? न जागिर थियो र छ । कसरी बने यिनका काठमाडौं जस्तो महँगो ठाउँमा राणाहरूका भन्दा ठूला र आधुनिक शैलीका महल ? यसको उत्तर शिर ठाडो गरेर दिने साहस र आँट प्रकाशमान सिंहबाहेक यी प्रधानमन्त्रीका उम्मेदवारहरूसँग छ ?

राजदूत, माननीयहरू मात्रै होइन न्यायाधीश, संवैधानिक पदहरू नातेदारलाई पजनी गर्ने कि त्यस्ता मर्यादित पदहरूलाई खुलेयाम बिक्रीवितरण गर्नेलाई फेरि प्रधानमन्त्री हुने अवसरको बाटो खोल्न जनताले आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्नु हुन्छ ? सरुवा, बढुवा र मासिक असुली जस्ता भ्रष्ट चरित्रले सुशासनको चीरहरण भएको छ । यसबारे सबै मतदाताले गम्भीरतापूर्वक सोच्नैपर्छ । लाग्छ यिनीहरू हिजोसम्मका सुकुम्बासीहरू छ, आठ महिना वर्ष दिन मन्त्री भए भने पदबाट निस्कदा उनीहरूले आफूलाई लखनउको नवाबको हैसियत बनाएका हुन्छन् । नियम कानुनसमेत मिलाएर पद समाप्त भएपछि पनि राज्यबाट पालिने व्यवस्था मिलाएका कारण यिनीहरूलाई आकाशिँदो महँगीसमेतले छुँदैन ।

राज्यको जिम्मेवारीमा हुँदा लखनउको लुट मच्चाउनेहरू कसैलाई पनि जनताले प्रधानमन्त्री भएको हेर्न चाहेका छैनन् । आफ्नो विगतलाई बिर्सनेहरूले अहिले प्रधानमन्त्री नै अन्तिम चाहना भनेर रोइकराई गरेका छन् । प्रधानमन्त्री पद रोएर, चिच्याएर पाउने चिज होइन । त्यसको लागि जसले योग्यता हिजै निमिट्यान्न पारेको छ उसले होइन नयाँले पाउँछ । यसअघि सत्तामा हुने कसैले पनि आफूलाई कामबाट योग्य प्रमाणित नै गर्न सकेनन् । उनीहरूको विगतले सबैलाई अयोग्यताको प्रमाणपत्र दिएको विषयमा जानकार मतदाताको अगाडि यो नयाँ शैलीको छलछाम, ढाँटढुँटको शृंखला नाकाम हुनैपर्छ ।

जनता यस्ता प्रपञ्च र ढाँटढुँटलाई बुझ्न सक्छन् भन्ने चेतना, विवेक सम्बन्धित व्यक्तिमा गुम भएको प्रमाण हो प्रधानमन्त्रीको पद प्राप्तिको रोदन । तसर्थ टेष्टेडहरूले यसपटक आश नगर्दा नै राम्रो । हिजो सत्तामा हुनेहरूको अनियमितताको, पक्षपातको एक-एक मूल्यांकन जनतासँग छ । देश लुट्नेहरू फेरि प्रधानमन्त्री भएर सिंगापुर बनाउने ललिपप बाँड्दै छन् । हिजोका ऐस, आराम, धाकधक्कुका दिनहरू सम्झेर अब पुरानाहरूको रोदनले प्रधानमन्त्रीको पद झर्दैन । सत्ता र सम्पत्तिले चुलिएका, भ्रष्टाचारमा मुछिएका, नातावादमा गुटमुटिएका सबै भ्रष्ट जनताका लागि अपाच्य छन् ।

संघीयता र धर्म निरपेक्षताका पक्षधरहरूसँगको गठबन्धनले कांग्रेसलाई निर्वाचनमा सफल हुन सकस छ । गठबन्धन बारे कांग्रेसले अझै पुनर्विचार गरोस् । नेपाली राजनीतिमा त्यो दलको मात्रै भविष्य छ जुन दल भ्रष्टाचार, संघीयता र धर्मनिरपेक्षताको विपक्षमा दरो-खरोसँग उत्रन्छ ।

यो निर्वाचनमा पुरानाहरू कसैलाई पनि सबै पार्टीका मतदाताले मतदान नगर्ने प्रण गरौँ र सबै पार्टीका सडेगलेका भ्रष्टलाई मरेको भैंसीका जुम्राले छोडे झैँ सबै पार्टीका मतदाताले छोडौँ त तत्काल परिवर्तनको अनुभूति पक्कै हुन्छ । परिवर्तनका लागि अहिले उचित समय हो । यसमा सबैले विवेक प्रयोग गरौँ । पुरानालाई मतदान नगरौँ । परिवर्तनको सुरुवात आफैँबाट सम्भव छ भन्ने प्रमाणित अहिलेको निर्वाचनमा सबै मतदाताले गरौँ ।

यहाँ नैतिकता, थुतुनु, चरित्र र भ्रष्टाचारका कारण राजनीति गर्नेहरू सबै चुकेका छन् । प्रदेशको खर्चिलो व्यवस्था र जनभावनाविपरीत धर्म निरपेक्षताको प्रावधानलाई सच्याउने प्रतिबद्धता नगर्ने दलहरूलाई निर्वाचन फलामको चिउरा हुन्छ । रुद्राक्षको जंगललाई सिस्नोघारी नामकरण गर्ने धर्मनिरपेक्षताका पक्षधरलाई यसपटकको निर्वाचनमा जनताले दण्डित गर्ने पक्का भएकाले सबै दलहरूले मतदाताको मन जित्न खुलेर प्रदेशको खारेजी र धर्म निरपेक्षता विरुद्धमा आफूलाई उभ्याउनुपर्छ । धर्मनिरपेक्षता र संघीयताको विपक्षमा खरो प्रमाणित भएका उम्मेदवारलाई छनौटमा प्राथमिकता दिनुपर्छ ।

यस्तो अवस्थामा संघीयता र धर्म निरपेक्षताका पक्षधरसँगको गठबन्धनले कांग्रेसलाई निर्वाचनमा सफल हुन सकस छ । गठबन्धन बारे कांग्रेसले अझै पुनर्विचार गरोस् । नेपाली राजनीतिमा त्यो दलको मात्रै भविष्य छ जुन दल भ्रष्टाचार, संघीयता र धर्मनिरपेक्षताको विपक्षमा दरो-खरोसँग उत्रन्छ । पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, न्यायपालिकाका पूर्वप्रधानन्यायाधीशहरू र सर्वोच्चका पूर्वन्यायाधीशहरू साथै सबै पूर्वसभामुखहरूको सम्पत्तिको छानविन गर्ने दरो योजना जोसँग हुन्छ ऊ नै विजयी बन्न सक्ने हुनाले दलहरूले समयमा दूरदर्शी बन्न सक्नुपर्छ ।

भ्रष्टहरूलाई दण्डित गर्ने र सुशासनको खाका कार्यान्वयनको स्पष्ट कार्यक्रम विना जनताले कुनै पनि पार्टीलाई मतदान गर्दैनन् । जनताको यो प्रतिबद्धताले भ्रष्टाचारमा चुर्लम्म डुबेकाहरू, रुद्राक्षको जंगललाई सिस्नोघारी भनेर नामकरण गर्नेहरू र देशलाई टाट पल्टाउने प्रदेश आवश्यक छ भन्नेहरू साथै भ्रष्टाचारका नाइकेहरू सबै पाखा लाग्छन् । यो समयको माग र जनताको चाहना हो ।

Subscribe
Notify of
guest
7 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devibhakta dhakal
devibhakta dhakal
2022-09-13 1:28 pm

धन्यवाद हिमालय टाइम्स परिवारलाई

Shantikrishna Adhikaree
Shantikrishna Adhikaree
2022-09-13 5:26 pm

अब त मतदाता सचेत हुनैपर्ने हो सर । जनता जागरुक बनाउने लेख राम्रो लाग्यो।

TP Mishra
TP Mishra
2022-09-14 11:48 am

उम्दा

गोविन्द विनोदी
गोविन्द विनोदी
2022-09-16 9:33 am

सान्दर्भिक आलेख !

Cholendra pandit
Cholendra pandit
2022-09-26 5:37 pm

no not again को पक्षमा छु।सबै पशुहरु निमिट्यान्न भएको हेर्ने चाहना छ।
अब प्रतक्ष निर्वाचन मार्फत प्रधानमन्त्री छान्ने ब्यबस्थाका लागि जोरदार आबाज उठाउनु पर्छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?