नेपाली कांग्रेस बाराको विवाद उत्कर्षमा

हिमालय टाइम्स
Read Time = 5 mins

संजीवकुमार मिश्रा/हिटा
बारा । नेपाली कांग्रेस बाराको विवाद उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा पर्नुभएको छ । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरिएको नेपाली कांग्रेस बाराले जानकारी दिएको छ ।

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णयअनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरुण कुमार यादवले बताउनुभयो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्यसमेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवविरुद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत दिलाउन लगाएको, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्र यादवको विरुद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको संयोजक यादवले बताउनुभयो ।

अनुशासन समितिको वैशाख २९ गते सम्पन्न बैठकले चौधरी, यादवद्वयहरूलाई कारबाही गरी पार्टीको केन्द्रीय अनुशासन समिति, मधेश प्रदेश कार्यसमिति धनुषा, जिल्ला कार्य समिति बारा, क्षेत्रिय कार्य समिति क्षेत्र नं. १ र २ बारा, नेपाली कांग्रेस गाउँपालिका कार्य समिति करैयामाई, बारा, नेपाली काँग्रेस वडा कार्य समिति करैयामाई गाउँपालिका ७, बारा, नेपाली काँग्रेस नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुर बारा, नेपाली कांग्रेस वडा कार्य समिति महागढीमाई नगरपालिका-४ बारा, नेपाली कांग्रेस कोल्हवी नगर कार्य समिति कोल्हवी, बारा, नेपाली कांग्रेस वडा कार्य समिति कोल्हवी नगरपालिका-११ बारा लगायतलाई बोधार्थ गरी पत्राचार गरिएको अनुशासन समितिका संयोजक यादवले जानकारी गराउनुभयो ।

यसैगरि केही दिन अगाडि मात्रै नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई राजेश राय यादव गुटको अनुसाशन समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । अनुशासन समितिको २०७९ साल वैशाख २८ गते बसेको बैठकले बुढाथोकीलाई अनुशासन समितिका संयोजक विनोद मणि महतोले साधारण सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभएको थियो ।

पार्टीको अधिवेशनदेखि चुलिएको विवाद अहिलेसम्म साम्य भएको छैन । गुट उपगुटमा विभक्त भएर नेपाली कांग्रेस बारा कमजोर हुँदै गएको अवस्था छ । अहिले पनि नेपाली कांग्रेस बारामा दुई गुट रहेका छन् । एकातिर राजेश राय यादवको गुट छ भने अर्कोतर्फ उपसभापति मनोज भट्टको गुट रहेको छ । यही गुट उपगुटकै कारण प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समेत नेपाली कांग्रेसले चाहेको जस्तो परिणाम ल्याउन नसक्ने भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?