अख्तियारद्वारा ललितपुर नापी र मालपोतका अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ललितपुरको साविक टीकाथली-६ स्थित कित्ता नम्बर १६९९ र १७०१ को जग्गा कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा नापी र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आरोप पत्र दायर गरिएकाहरूमा नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामी, मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवाल तथा राउसाई होल्डिङ्स प्रा.लि., ललितपुर– २ सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठ छन् । ‘तोकिएको न्यूनतम् मापदण्डभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानूनी व्यवस्थाविपरीत कम क्षेत्रफलका कित्ताहरू कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढी कायम गरी टायल चेक गरी बढाएको,’ उनीहरूमाथि अभियोग छ । अख्तियारले सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा कैद र जरिवानाको माग दाबी लिएको छ ।

सार्वजनिक जग्गा हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएको छ । विशेषको फैसला चित्त बुझ्दो नभएकाले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगले जनाएको छ । गंगाप्रसाद यादव, सुनिताकुमारी यादव, लालुप्रसाद अग्रवाल र अशोककुमार अग्रवालले सार्वजनिक जग्गा हिनामिना गरेर भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरूले सार्वजनिक जग्गाको हिनामिना गरेर ९७ लाख दुई हजार ७८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी रहेको थियो । आयोगले सोही बराबरको बिगोसमेत जफतको माग गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर विशेषले उनीहरूलाई सफाइ दिने फैसला गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?