छाडा चौपाया व्यवस्थापनको काम सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडा चौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजनाअन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो । नगरमा छाडा चौपायाको रूपमा विशेष गरी गाई–गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा पाँच वटा गाई–गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खानले नगरमा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई-गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई–गोरुको नियन्त्रणका लागि उनीहरूको कानमा ट्याग लगाइएको बताए । ‘अहिले हामीले कृषकले पालन गरेका गाई-गोरु छाडा नछाडुन् भन्ने उद्देश्यले पहिचानका लागि गाई-गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ’, नगर प्रमुख खानले भन्नुभयो । यसले छाडा छाडिने चौपाया (गाईगोरु) को संख्यामा नियन्त्रण हुने उनको विश्वास छ ।

कृषकले पालन गरेका गाई-गोरुको पहिचानका लागि नम्बरको आधारमा उनीहरूको कानको ट्याग लगाइएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो । ‘कानमा ट्याग लगाइएकाले कृषकहरूले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने विश्वास छ’ उहाँले भन्नुभयो, ‘ट्याग लगाइएको पशु कसैले छाडेको पाइएमा सजिलै पहिचान हुने र पहिलो पटकको लागि दस हजार जरिवाना कारबाही गरिनेछ ।’ नगरमा छाडा चौपायाका कारण सवारी दुर्घटना हुनुका साथै अनेक समस्या छन् ।

सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाहरूबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया (गाईगोरु) को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताउनुभयो । जसका लागि वडा नम्बर ११ मा स्थलगत निरीक्षण गरी स्थलको पहिचान गरिएको छ ।

यस्तै, छाडा चौपायाको व्यवस्थापनअन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको र सञ्चालित यस योजनापश्चात् भुस्याहा कुकुरको व्यवस्थापनतर्फ लागिने उहाँको भनाइ छ । छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगरको एकल प्रयासले मात्र नभई छिमेकी पालिकाहरूले पनि योजना सञ्चालन गर्नुपर्ने र यसले समग्र क्षेत्रलाई नै फाइदा पुग्ने सरोकारवालाहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?