समानुपातिकको बन्दसूचीबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै

यसअघिका समानुपातिक सांसदलाई नदोहोर्‍याउने नीति

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्न आज (शनिबार) केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शनिबार १ बजेपछि बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार शनिबार १ बजेपछि बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको हो । ‘समसामयिक विषयमा छलफल गर्न शनिबार बैठक बोलाइएको छ’, अधिकारीले भन्नुभयो, ‘शनिबारको बैठकमा तलबाट सिफारिस भएका उम्मेदवारको नाममाथि छलफल हुनेछ’ एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिस आएपछि आवश्यक छानबिन गरी बैठक बोलाएको छ ।

निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी र जनवर्गीय संगठनहरूबाट आएको नाममा एकसरो छानबिन सकिसकेको छ । छानबिनपछि आवश्यक नाम काटछाँट गरी सचिवालयमा छलफल गर्न बैठक बोलाइएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीका अनुसार भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गरेर पठाउन दिएको निर्देशनअनुसार सिफारिस भएर आएका उम्मेदवारका नाममाथि छलफल गर्न केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएका कारण सूचीबारे निर्णय गर्न बैठक बस्न लागेको हो । एमालेले समानुपातिकबाट यसअघि सांसद भएकालाई नदोहो¥याउने मापदण्ड तय गरिसकेको छ । समानुपातिकतर्फ ११० जनाको नाम बन्दसूचीमा समावेश गर्नुपर्ने व्यवस्था छ ।

सांसदलाई गाउँगाउँ जान अध्यक्ष ओलीको निर्देशन
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबारदेखि संसद् नरहने भन्दै आफ्ना सांसदलाई गाउँगाउँ जान निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको बैठकमा शुक्रबार पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा परिणाम आउने गरी खटिन गाउँगाउँ जान निर्देशन दिनुभएको हो । ‘शनिबारदेखि संसद् रहँदैन । हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँगाउँ जानुपर्छ’, ओलीले सांसदलाई निर्देशन दिँदै भन्नुभयो, ‘शनिबारदेखि नै हामी निर्वाचन क्षेत्रमा जानुपर्छ । आफ्ना उम्मेदवारलाई जिताउन लाग्नुपर्छ ।’

प्रतिनिधिसभाको कार्यकाल असोज १ गते राति १२ बजेपछि सकिने उल्लेख गर्दै ओलीले सांसदहरूलाई एमालेलाई सरकारमा ल्याउने गरी लाग्न निर्देशन दिएको पनि भट्टराईले बताउनुभयो । ‘शनिबार राति १२ बजेबाट प्रतिनिधिसभाको कार्यकाल सकिन्छ । सरकारले लम्ब्याउने अनेक जालझेल गरिरहेको थियो तर अब सकिन्छ,’ ओलीले संसदीय दलको बैठकमा सांसदहरूलाई निर्देशन दिनुभएको थियो, ‘एमालेलाई बहुमत दिलाएर सरकार बनाउने गरी अहोरात्र खट्नुहोला ।’ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते सकिन लागेको छ । मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोकिएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रतिनिधिसभाको सुरुवाती कालमा आफू नेतृत्वको सरकारले राम्रो साथ पाएको समीक्षा ओलीले सुनाउनुभएको थियो । ‘चुच्चे नक्सा सर्वसम्मत पारित गरियो त्यो ऐतिहासिक काम भयो । संसद्ले सरकारलाई अघिल्लो कार्यकालमा राम्रोसँग सघायो,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भन्नुभयोे, ‘संसद्को पछिल्लो कार्यकालमा पार्टी विभाजनलगायत काम भए । समग्रमा संसद्को यो कार्यकाल सन्तोषजनक मान्नुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?