समानुपातिक उम्मेदवारको नामावली आज तय गर्ने एमालेको निर्णय

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारहरूको नामावली आज (आइतबार) तयार गर्ने निर्णय गरेको छ । शनिबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीनवटा निर्णय भएको जानकारी दिनुभयो ।

महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरूका बारेमा जानकारी गराएको गुरुङले बताउनुभयो । संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरूको सूची बनाउन विविध मापदण्ड, समावेशितलाई ध्यान एवं क्लष्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले बताउनुभयो ।

त्यस्तै, बैठकले अछाम जिल्लामा बाढी-पहिरोका कारण भएको जनधनको क्षतिप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहतका लागि सरकारसँग माग गरेको छ । त्यस्तै, पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठक पुनः आइतबार बिहान ११ बजे बस्ने गुरुङले जानकारी दिनुभयो ।

काठमाडौंमा एमालेको पदयात्रा
नेकपा एमालेले संविधान दिवसको अवसर पारेर शनिबार बिहान काठमाडौंमा वाकाथन अर्थात् बिहानी पैदलयात्रा गरेको छ । बिहान ७ बजेदेखि बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरु भएको पदयात्रा वसन्तपुरमा गएर टुंगिएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गर्नुभएको थियो । ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुग्नुभएको हो ।

पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश अप्ठ्यारो स्थितिबाट ओरालो लागिरहेको बताउनुभयो ।

अध्यक्ष ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढंगले अघि बढ्ने बताउनुभयो । उहाँले यसको फैसला आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावले गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले देशलाई, जनतालाई, लोकतन्त्र, संविधान, विकासको अभियानलाई हार्न दिनु नहुने बताउनुभयो । उहाँले गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्षमा, राष्ट्रियता, राष्ट्रिय अखण्डताको पक्षमा, नेपाल नेपालीले नै चलाउने हो भन्ने अभियानका साथ अघि बढ्न आग्रहसमेत गर्नुभयो ।

संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरूमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै शनिबार मर्निङवाक कार्यक्रम राखेको हो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?