अहिले पनि केही शक्तिहरू संविधानविरुद्ध लागिरहेका छन् : पूर्वप्रधानमन्त्री नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताउनभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उहाँप्रति इंगित गर्दै नेता नेपालले भन्नुभएको छ, ‘दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिविरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ ।’

आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभएको छ । ‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ उहाँले भन्न्ुभएको छ ।

४ मंसिरमा तय भएको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन्,’ उहाँले भन्नुभएको छ, हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्‍भाव र सुझबुझपूर्ण निर्णय हुनेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?