संविधान दिवसमा ४८ जना कलाकारसहित नौ सय ९८ जनालाई विभूषण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । संविधान दिवस-२०७९ तथा राष्ट्रिय दिवसका अवसरमा ४८ जना कलाकारसहित ९९८ जना विभिन्न मानपदवी, अलंकार तथा पदकबाट विभूषित हुनुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उहाँहरूलाई विभूषित गर्ने घोषणा गरिएको हो ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिशमा विभूषण प्राप्त गर्ने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले सोमबार विज्ञप्तिमा मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री १६५, कीर्तिमय राष्ट्रदीप ६, प्रबल जनसेवाश्री ३२२, राष्ट्रदीप दुई, जनसेवाश्री २०७ लाई विभूषण हुने जनाउनुभएको छ । यस्तै अलंकारतर्फ राष्ट्र यशोवद्र्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिने जनाइएको छ ।

पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।

विभूषण प्राप्त गर्ने कलाकारमा सुकीर्तिमय राष्ट्रदीप प्राप्त गर्नेमा नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र नन्दकृष्ण जोशी हुनुहुन्छ । यस्तै, सुप्रबल जनसेवाश्रीमा गायक तथा संगीतकार शम्भु राई (कुथुमी) चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, दीपकराज गिरी, संगीतकार आलोकश्री (सूर्यकुमार खाती), दीपक जंगम, गायक आनन्द कार्की, अभिनेता अर्जुन श्रेष्ठ, गायिका ज्ञानु राणा, कलाकार निरुता सिंह, संगीतकार चेतन सापकोटा, अभिनेता विराज भट्ट (भोजराज भट्ट), दयाहाङ राई र गायिका सत्यकला राई हुनुहुन्छ ।

त्यसैगरी कीर्तिमय राष्ट्रदीप प्राप्त गर्नेमा अभिनेता तथा निर्देशक कृष्णकुमार मल्ल र कलाकार मिथिला शर्मा हुनुहुन्छ । त्यस्तै प्रबल जनसेवाश्री प्राप्त गर्नेमा संगीतकार मिलन मोक्तान, गीतकार धर्मराज उपाध्याय (डा.डीआर उपाध्याय), गायक सीताराम पोखरेल नाट्यकर्मी जीतबहादुर देउजा, अभिनेता तथा निर्देशक निर्मल शर्मा हुनुहुन्छ ।

यस्तै, जनसेवाश्री प्राप्त गर्नुहुनेमा चलचित्र निर्देशक माधवराज खरेल, लोकगायिका सुनिता दुलाल, कलाकार प्रदीप खड्का, गायक तथा संगीतकार कमल सुनार, संगीतकार सन्तोष श्रेष्ठ, दीपक शर्मा, नृत्य निर्देशक शिवराम विक, चलचित्र निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, कुमार बस्नेत विक्रान्त, गायक कुलमान नेपाली, कलाकार मनोहर सुनाम परियार, गीतकार डिल्लिनारायण पाण्डे, गायक सुरेशकुमार नेपाल परियार (यशकुमार) र संगीतकार सानुकान्छा शाही रहनुभएको छ ।

यसैगरी नेपाल सेवा प्रवीण प्राप्त गर्नुहुनेमा कलाकार प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, गायक नवीन पौडेल र किरण गजमेर रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?