पञ्चे बाजा संरक्षणमा जुटे महिला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

रुकुमपूर्व । रुकुमपूर्वमा महिला पञ्चे बाजा संरक्षणमा जुटेका छन् । आधुनिक सामग्रीको बढ्दो प्रयोगले ओझेलमा पर्दै गएको पञ्चेबाजाको अस्तित्व जोगाउन रुकुमपूर्वमा महिला अग्रसर भएका हुन् । उनीहरूले अहिले पञ्चेबाजा बजाउन सिकिरहेका छन् ।

स्थानीय सरकारको सहयोगमा जिल्लाको सिस्ने गाउँपालिका-५ का दुईवटा महिला दिदीबहिनीको समूहले पञ्चेबाजा बजाउन सिकिरहेका छन् । रुमालबारा र शिला टोलका दुईवटा समूहले विगत एक महिनायता बाजा बजाउन सिकिरहेको सिस्ने-५ शिलाकी पम्फा परियारले बताउनुभयो ।

यसअघि जिल्लामा पुरुषले मात्र पञ्चेबाजा बजाउँदै आएका थिए । अब महिलाले पनि सीप सिकेर बाजा बजाउन सुरु गरिसकेको परियारले बताउनुभयो । बाजाको २२ चालामा आफूहरूले एक महिना अवधिमा चार-पाँच चाला सिकिसकेको बताउँदै नेपालीले यसै महिनाको एउटा सामाजिक कार्यमा महिलाको टिमले मात्र बाजा बजाएर काम टारेको सुनाउनुभयो ।

शिलाकै सलिना परियारले चुलोचौकोमा सीमित पारिएका महिला अहिले आएर पुरुषसरह बाजा बजाउन थालेपछि खुसी लागेको बताउनुभयो । समाजमा महिलाले पनि पुरुषसरहको काम गर्न सक्छन् भन्ने खालको उदाहरण दिन भए पनि आफूहरू बाजा बजाउन उत्सुकताका साथ सिकिरहेको उहाँले बताउनुभयो ।

पछिल्लो युवापुस्ता विदेशिरहेको अवस्थामा पञ्चेबाजाको अस्तित्व सङ्कटमा पर्छ कि भन्ने डरले पनि आफूहरूले स्थानीय सरकारसँग बजेटको माग गरी तालिम लिएको डल्ली नेपालीले बताउनुभयो । युवापुस्ता विदेश गइरहँदा गाउँघरमा बाजा बजाउने बूढापाकामात्र रहेको बताउँदै नेपालीले आफूहरूले पनि सीप सिकेर गाजाबाजा बजाउन सक्छौँ र नयाँ मान्छेलाई सिकाएर यस क्षेत्रमा ल्याउन सक्छौँ भन्ने हेतुले आफूहरूले सिकेको बताउनुभयो ।

वडाको सिफारिसमा सिस्ने गाउँपालिकाले पञ्चेबाजा सीपका लागि रु दुई लाख बजेट छुट्याएको थियो । यस बजेटबाट एक महिनाको आधारभूत सीप सिकाइएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । जिल्लामै पहिलोपटक पञ्चेबाजा बजाउन महिला उत्सुक देखिएको र त्यसैअनुसार सीप पनि सिकेकामा खुसी व्यक्त गर्दै अध्यक्ष रेग्मीले सीप वृद्धिका लागि माथिल्लोस्तरको तालिमको आयोजना गर्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?