संघ, प्रदेश तथा पालिका स्तरबाट नै कलालाई सम्बोधन हुनुपर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली ललितकला क्षेत्रको विकासका लागि संघ, प्रदेश तथा पालिका स्तरबाट नै कलालाई सम्बोधन हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अखिल नेपाल ललितकला संघको १३औं वार्षिकोत्सवको अवसरमा गरिएको ‘नेपालको ललितकला वर्तमान र भविष्य’ विषयक अन्तक्र्रियामा उनीहरूले यस्तो विचार व्यक्त गरेका हुन् । नेपाली ललितकला क्षेत्रमा लक्ष्य निर्धारण गर्दै राज्यले नीतिगत तथा कार्यक्रमिक योजनासहित काम गर्नुपर्ने भाषाविज्ञ एवं नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य डा.गोपाल ठाकुरले बताउनुभयो । उहाँले कला, साहित्य तथा संस्कृतिको सही ढंगले विकास हुन नसक्दा समाजले अग्रगति लिन नसकेको जिकिर गर्नुभयो ।

जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपाली ललितकला क्षेत्रको वर्तमान अवस्था, प्रचलित कलाका धार, सांगठनिक अवस्था एवं गर्नुपर्ने कार्ययोजनाका बारेमा चर्चा गर्नुभयो । उहाँले नेपालमा परम्परागत, लोककला तथा आधुनिक÷समसामयिक कला प्रचलनमा रहेको सुनाउँदै यिनको संस्थागत ढंगले विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिव केशरी घर्तीमगरले नेपालको ललितकला क्षेत्रको विकास, संरक्षण एवं प्रवद्र्धनका लागि सही नीति निर्माण गरी कलाकारको हितमा काम गर्ने वातावरण बनाउन पहल गर्नुपर्ने बताउनुभयो । उनले काठमाडौं केन्द्रित कलाका गतिविधि तथा संरचनालाई तल्लो तहसम्म लैजान सबैले पहल लिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका महासचिव एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले सामूहिक प्रयासविना कलाक्षेत्रले गति लिन नसक्ने विचार व्यक्त गर्नुभयो । अग्रज कलाकार एससी सुमनले नेपाली लोककलाको विकासमा राज्यले नीतिगत ढंगले सम्बोधन गर्दै कार्ययोजना बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने भएकाले नेपालको मौलिक कला संरक्षणसँगै विकासमा स्पष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो ।

यस्तै अग्रज कलाकार लोक चित्रकारले परम्परागत कलाको विकासलाई मौलिकता संरक्षणसँगै समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । त्यसैगरी अर्का अग्रज कलाकार एवं प्राज्ञ मानबहादुर दोङले संघमार्फत राज्यले ललितकला क्षेत्रमा गर्नुपर्ने कार्यका बारेमा पहलकदमी लिई नेतृत्वदायी भूमिका खेल्नेमा आफू आशावादी रहेको सुनाउनुभयो ।

कार्यक्रममा अखिल नेपाल ललितकला संघका उपाध्यक्ष प्रदीप अधिकारी ‘सुशान्त’ले नेपाली ललितकला क्षेत्रको वर्तमान अवस्था र प्रचलित मान्यताका बारेमा चर्चा गर्नुभएको थियो । संघका अध्यक्ष पाल्साङ्मो लामाले नेपालका मौलिक कलालाई राज्यको मूलधारमा समेट्दै सभ्यता निर्माणमा भूमिका खेल्ने वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका महासचिव केशवराज खनालले संविधानमा कलाको संरचनागत स्वरूप बनाउन संघ, प्रदेश तथा पालिकासम्म उल्लेख रहेको बताउनुभयो । कार्यक्रममा अग्रज कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ नारदमणि हार्तम्छाली, अग्रज कलाकार लालमान लामा, उपप्राध्यापक नरेन्द्रप्रसाद भण्डारी, राजकुमार राना मगर, सौरगंगा दर्शनधारी, कृष्णगोपाल श्रेष्ठ, चन्द्रश्याम डंगोल, माइला दोङ, अमिर शाक्य, रञ्जु पुलामी मगरलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?