डेंगु नियन्त्रणमा सरकार उदासीन, संक्रमितको संख्या २५ हजार नाघ्यो

विज्ञ भन्छन्- बेलैमा ध्यान नदिँदा अवस्था भयावह

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म नेपालभर २५ हजार ५४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नेपालमा डेंगु संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । साउनयता मात्रै ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा डेंगुबाट एक हजार ५१ जना संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाकोे तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा आठ हजार ८९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार २१८ र भक्तपुरमा ८८१ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या १२ हजार ३५ पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार २७५ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका धादिङ, चितवन, दाङ, रूपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुई सयभन्दा कम रहेको महाशाखाले जनाएको छ । प्रदेशगत रूपमा बागमती प्रदेशमा अन्य प्रदेशको तुलानामा ६ गुणा बढी संक्रमित छन् । बागमतीमा १९ हजार ९१० जना संक्रमित छन् । जबकि दोस्रो धेरै संक्रमित रहेको लुम्बिनीमा दुई हजार ८८७ जना संक्रमित छन् । सुदूरपश्चिममा ८०४, प्रदेश– १ मा ७७५, गण्डकीमा ५५६, मधेसमा ३८) र कर्णालीमा २३१ संक्रमित छन् ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । नेपालमा २०६१ मा पहिलोपटक डेंगु देखिएको थियो । त्यसपछि वर्षेनी डेंगुका बिरामी देखिने गरेका छन् ।

दुई महिना अगाडिदेखि लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु गरेको भए यस्तो अवस्था आउँदैनथ्यो : डा. पुन
डेंगु संक्रमण देशभर फैलिरहँदा सरकारले नियन्त्रणका लागि प्रभावकारी काम गर्न सकेको छैन । संघीय सरकारमात्रै होइन प्रदेश र स्थानीय सरकारहरू समेत डेंगु नियन्त्रणमा चुकेका छन् । सबैभन्दा धेरै डेंगु संक्रमित रहेको बागमतीमा समेत सरकारले कुनै प्रभावकारी कदम चाल्न सकेको छैन । नेपालमा डेंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले लामखुट्टे निर्मूल अभियानलाई तीव्रता दिनुपर्ने विज्ञहरू बताउँछन् ।

त्यसका लागि तीनै तहका सरकारबीच समन्वय गरेर लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरूको जोड छ । ‘लामखुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । पर्याप्त जनशक्ति परिचालन नहुँदा, स्थानीयले पनि साथ नदिँदा टोलटोलमा पुगेर डेंगु नियन्त्रणबारे जनचेतना फैलाउने र लामखुट्टेका लार्भा रहने सम्भावित क्षेत्र सरसफाइको काम प्रभावकारी हुन नसकेको हो ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले सरकारले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सुरु गरेको भए यस्तो अवस्था नआउने बताउनुहुन्छ । अब पनि पाठ नसिके अझै ठूलो समस्या आउन सक्ने उहाँ बताउनुहुन्छ । तथ्यांकमा आएको भन्दा घरघरमा डेंगुका धेरै संक्रमित हुनसक्ने उहाँको आशंका छ । सिकिस्त बिरामीमात्रै अस्पताल आउने गरेको भन्दै सामान्य लक्षण देखिएका बिरामी घरमै बसिरहेको हुनसक्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?