सुधारिएको प्रदर्शन गर्ने उद्देश्यमा प्रदेश १

हिमालय टाइम्स
Read Time = 6 mins

विराटनगर । प्रदेश नम्बर एक खेलाडी उत्पादन हुने प्रदेश नै हो । फुटबलका धेरै राम्रा स्टारहरू पूर्वले नेपाललाई दिएको छ तर अन्य खेलका खेलाडी उत्पादनमा प्रदेश नम्बर एक उर्वर भूमि नै मानिन्छ । त्यही उर्वर भूमिले बृहत् राष्ट्रिय खेलकुदमा ठूलै तहल्का भने मच्चाउन सकेको छैन । पूर्वका राम्रा खेलाडीहरू विभागीय क्लबहरूमा आबद्ध हुने हुनाले त्यसो गर्न नसकिएको तर्क पूर्वका खेल पदाधिकारीहरूको छ ।
सातौं बृहत् राष्ट्रिय खेलकुद आफैंले आयोजना गर्दा पनि पूर्वले पदकतालिकामा उल्लेखनीय प्रगति गर्न सकेन । नेपालगञ्जमा भएको गत आठौं संस्करणमा पनि प्रदेश नम्बर एक आठौं स्थानमा नै सीमित भएको थियो । तर, गण्डकी प्रदेशमा अब सुरु हुने नवौं संस्करणमा भने प्रदेश नम्बर एकको तालिकामा फड्को मार्ने दाउ छ ।

प्रदेश नम्बर एक खेलकुद विकास परिषद्का सदस्य-सचिव हंसराज वाग्ले भन्नुहुन्छ, ‘विभागीय टोली र बागमतीपछि पाँचौं वा छैटौं स्थानमा उक्लिने हाम्रो लक्ष्य छ ।’

प्रदेश नम्बर एकले नवौं राष्ट्रियमा समावेश ३६ खेलमध्ये लनटेनिसलाई छोडेर बाँकी ३५ खेलमा सहभागिता जनाँउदैछ ।
त्यसका लागि ७०० भन्दा बढी खेलाडीहरूको नाम दर्ता भइसकेको छ । तयारी ढिलो भए पनि जिल्लादेखि प्रदेश तहसम्मको छनोट प्रतियोगिता राम्रो तरिकाले भएको प्रदेशले जनाएको छ ।

प्रदेशले गत भदौ २९ गते इटहरी रंगशालामा छनोटको उद्घाटन गरेको थियो भने यही असोज ८ गते विराटनगर रंगशालामा छनोट सम्पन्न गरेको थियो । समापनकै बेला नवौं राष्ट्रिय प्रतियोगिताको ट्रफी विराटनगर रंगशालामा प्रदर्शन गरिएको थियो ।

पौडी, गल्फ, पाराग्लाइडिङ, कराँते, तेक्वान्दो, आइटिएफ तेक्वान्दो, सफ्ट टेनिस, कबड्डी, स्क्वास, आर्चरीजस्ता खेलहरूमा प्रदेश नम्बर एक राम्रो रहेको पदाधिकारीहरू बताउनुहुन्छ । समूहगत खेलमा फुटबल र भलिबलमा हामी कडा चुनौती पेश गर्ने प्रदेशको दाबी छ ।
कडा चुनौती पेश गर्ने दाबी गरेको प्रदेश एकले खेलाडीहरूलाई प्रतियोगिताको तालिका हेरेर एकदेखि डेढ हप्ता बन्द प्रशिक्षणमा राख्ने भएको छ । सदस्य-सचिव वाग्ले भन्नुहुन्छ, ‘नवौंको उद्घाटनअगाडि नै हुने खेलका लागि यसै हप्ताबाट बन्द प्रशिक्षण सुरु गर्दैछौं । अलि पछाडि सुरु हुने खेलको असोज २१ देखि बन्द प्रशिक्षण राख्नेछौं ।’

देश संघीय संरचनामा गएपछिको यो पहिलो बृहत् राष्ट्रिय प्रतियोगिता हो । खेलकुद विकास ऐन, २०७७ को प्रावधानअनुरूप भएको यो प्रतियोगिताअनुसार खेलाडी छनोट गरेर राष्ट्रिय प्रतियोगितामा पठाउने जिम्मा प्रदेश सरकारको हो । सोहीअनुरूप प्रदेश एक सरकारले नवौं राष्ट्रियका लागि नौ करोड १९ लाखको बजेट विनियोजन गरेको छ ।

अन्य प्रदेशभन्दा फरक १ नम्बरले जिल्ला तहको छनोटदेखि नै खेलाडीहरूलाई ट्र्याकसुट वितरण गरेको थियो । छनोटमा सहभागी सबै खेलाडीहरूलाई एक हजार ६०० भत्ता वितरण गरिएको थियो । सदस्य-सचिव वाग्लेका अनुसार प्रदेशका मन्त्रीदेखि लिएर अफिसियल, खेलाडीसम्म सबैलाई सुविधामा भेदभाव गरिएको छैन । सबैलाई समान १६ सय नै वितरण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले निश्चित समयसीमा तोकेर सहभागी सबै ११ टोलीलाई छनोटका लागि आहृवान गरे पनि धेरै प्रदेशले समयमा छनोट कार्य पूरा गर्न सकेनन् । त्यसमा प्रदेश एक पनि अछुतो रहेन । त्यसका लागि खेलस्थलहरूको खराब स्थिति र प्रदेश खेलकुदका नीतिहरू राम्ररी तयार हुन नसकेकाले पनि यस्तो भएको हो । सदस्य-सचिव वाग्लेका अनुसार प्रदेश एकले पनि त्यस्तो चुनौती बेहोर्नप¥यो ।
राष्ट्रिय खेलकुद परिषद्ले काजमा पठाएका कर्मचारी र सीमित प्रशिक्षकहरूको मद्दतमा छनोटको काम सम्पन्न गर्दा निकै कठिनाइ भएको उहाँको भनाइ छ । यी चुनौतीहरू पार गर्दै अन्ततः प्रदेश एक असोज २८ देखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा उच्चस्तरको प्रदर्शन गर्न तयार भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?