ब्याजदर नघटाए चाबी बुझाउने उद्योगीको चेतावनी

Read Time = 4 mins

काठमाडौं । निजी क्षेत्रले बैंक ब्याजदर नियन्त्रण र चालु पुँजी कर्जाको सीमा हटाउन माग गरेको छ । उद्योग वाणिज्य संघ काठमाडौंद्वारा मंगलबार आयोजित बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रियामा बैंकहरूले तरलता संकट देखाउँदै पुरानो कर्जामा समेत चर्को ब्याज असुल्न थालेको भन्दै ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैंकलाई उद्योगको चाबी बुझाउने चेतावनी दिएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले असहज अवस्थामा निजी क्षेत्र, बैंक, निक्षेपकर्ता सबै बाँच्ने गरी सरकार र नियमन निकायले काम गर्नुपर्नेमा त्यसो नगरिएको गुनासो गर्नुभयो । तर, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रमा असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरूले ब्याज बढाएको दाबी गर्नुभयो । उहाँले बैंकले बजारमा तरलतालगायतका समस्याबीच दुई पटकमात्रै ब्याजदर बढाएको भन्दै बीचमा पनि दुई महिना समय अवधि दिएर बढाएको जिकिर गर्नुभयो । हाल डलर मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायी बजारमा जाने बैंकको लागत जोड्न नहुने भन्ने विश्वमा कहीं नभएको पनि उहाँले बताउनुभयो ।

उपाध्यायका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनादेखि हालसम्म ३० देखि ४० अर्ब निक्षेप संकलन भएको र ४० अर्ब निक्षेप गर्न पनि सरकारको ९० प्रतिशत योगदान रहेको छ । ३.५ प्रतिशत आधारदर र मार्जिनमा तीन प्रतिशतको बोटल रेटमा बैंकहरू दिगो बनाउन नसकिने उहाँको तर्क थियो ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले बैंकिङ कर्जाको ब्याज उच्च हुँदा उद्यमशीलता हराउने भन्दै हालको ब्याजदर लामो समयसम्म रहन नहुने बताउनुभयो ।

संघले निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप नबढ्ने भन्दै बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्ने होडबाजीमा ब्याजदर एकल अंकभन्दा माथि पु¥याउन नहुने जनाएको छ ।

निक्षेप संकलनको होडबाजीका कारण अनियन्त्रित हुँदै गएको निक्षेप ब्याज तत्कालै नियन्त्रण हुनुपर्ने, वित्तीय स्रोत संकलनको ब्याजदर बढ्न गएमा बैंक तथा वित्तीय संस्थाको आधारदर बढ्न गई कर्जाको ब्याजदर बढाएर लाने वर्तमान प्रचलनलाई संशोधन गरी एकल अंकभन्दा कम वा केन्द्रीय बैंकको आधिकारिक मुद्रास्फीति दरभन्दा निक्षेपमा ब्याज दिने कार्यलाई निरुत्साहित गर्नुपर्ने माग गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?