बाढीपीडितलाई न दशैँ न तिहार

हिमालय टाइम्स
Read Time = 8 mins

डम्मर बुढा मगर/बागलुङ । दशैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । शहरदेखि गाउँसम्म दशैँको रौनिक निकै बढेको छ । तर, बागलुङको ढोरपाटनका बाढी पीडितलाई भने दशैँको रौनकले छुन सकेको छैन । उनीहरूलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ । विसं २०७७ भदौ १७ गते राति भुजीखोलामा आएको भीषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो ।

बाढीमा परी ३८ जनाभन्दा बढीले ज्यान गुमाउनु परेको थियो । त्यो कहाली लाग्दो घटनाले बाढीपीडिलाई हालसम्म झस्काइरहन्छ । बाढीले घरविहीन भएका पीडितले जसोतसो घर त बनाए तर ऋण भने तिर्न सकेका छैनन् । उनीहरूलाई दैनिक के खाउँ केलाउँ भन्ने पिरले सताइरहेका बेला दैलैमा आएका चाडपर्वले थप पीडा दिएको छ ।

‘दशैँ आयो, सबैका घरमा मीठो-मसिनो पाक्न थाले, हाम्रो घरमा त बिहान-बेलुकीको छाक टार्न सकस छ, बाढीले हामीहरूलाई विचल्ली बनायो, काखको नानी बगायो, गरिखाने थातथलो बगायो,’ बाढीपीडित कुलबहादुर विक भन्नहुन्छ, ‘पहिले त जसोतसो चाडपर्व त राम्रोसँग मनाउथ्यौँ, अहिले त मनले चाहेरमात्रै नहुने, मीठो-मसिनो पकाउने त टाढाको कुरा हो, बिहान-बेलुकीको छाक टार्न गाह्रो छ ।’

विकले विभिन्न संघसंस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ राहत पाएर घर बनाएको सुनाउँदै चार लाख रुपैयाँ आफूमाथि ऋण थुप्रिएको बताउनुभयो । विकले घर नबनाएको भए ऋण नलाग्ने भन्दै अहिले तिर्न नसकेर समस्या भइरहेको बताउनुहुन्छ । ‘संघसंस्थाले सहयोग गरेको दुई लाख रुपैयाँ त पाइयो, प्रदेश सरकारले दिने भनेको ५० हजार रुपैयाँ आएन, राहत पाइएला भनेर घर बनाइयो, घर बनाउँदा छ लाख ऋण लाग्यो, चार लाख मेरो काँधमाथि छ, बरू घर बनाएर सानो छाप्रो बनाएर बस्नुपर्ने रैछ, अहिले ऋणको ब्याज पनि तिर्न सकिएको छैन, दिनदिनै ब्याज बढिरहेको छ,’ विकले भन्नुभयो ।

बाढीले विकको घरजग्गासहित २२ वर्षको जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीयाकी छोरी र चार वर्षीया नातिनी गरी चारजना बगाएको थियो । आफन्त र भएभरको सम्पत्ति गुमाएपछि विक्षिप्त बन्नुभएका कुलबहदुरका आँखा चाडपर्वमा पिरवारका सदस्य सम्झिएर भिज्ने गर्छन् । यसबेला घरआँगनमा आएको चाडपर्वले बिर्सिन थालेको दर्दनाक पीडा बल्झाउने उहाँको भनाइ छ । ‘बाढीले जेठो छोरो-बुहारी, छोरी र नातिनी बगायो, अहिले पाँचजना छन्, मर्ने त मरेर गइहाले, बाँचेकाले चाडबाड मनाउन, रमाइलो गर्न खोज्छन्, सानासाना नानीहरूले मीठो खाने भन्छन्, राम्रो लाउने भन्छन्, मलाई बिहान-बेलुकाको छाक कसरी टार्ने हो भन्ने पिर छ,’ उहाँले भावुक हुँदै भन्नुभयो, ‘पैसा नहुँदा उनीहरूको इच्छालाई मार्नुपरेको छ, अरूका छोराछोरीले राम्रो लाएको मीठो खाएको देखेर होला, मैले पुर्‍याउन सकिन ।’

बाढीमा श्रीमतीसहित भएभरको सम्पत्ति गुमाउनुभएका ढोरपाटन नगरपालिका-९ का होमबहादुर विकलाई दशैँको रौनकले छुएको छैन । आफन्तसँग जग्गा मागेर घर बनाउनु भएका विकलाई दिनरात ऋणले सताएको छ । श्रीमती बाढीमा परेपछि दुई छोरा हुर्काउने, पढाउने जिम्मेवारी विकको काँधमा छ । साहुको दिनदिनैको कचकचले उहाँ तनावमा हुनुहुन्छ । ‘सबैले दशैँ आयो भन्छन्, मलाई त दशा आएको छ, दुई छोरा छन्, उनीहरूले मीठो-मसिनो खान खोज्छन्, केही खुवाउन सक्ने अवस्था छैन, बाढीले घरसहित अंशमा पर्ने सम्पत्ति बगाएको थियो, आफन्तले जग्गा दिएर ऋणधन गरेर घर बनाए,’ विकले भन्नुभयो, ‘अहिले किन बनाएछु भन्ने भयो, साहुले दिनदिनै आएर छानो निकाल्छु भन्छन्, लाखौँ ऋण छ, कमाई केही छैन कसरी तिर्ने ?, निकै समस्यामा छु ।’

बाढीमा जीवन संगिनीसहित तीन सन्तान गुमाउनु भएका निमप्रकाश विकको पीडा पनि उस्तै छ । ज्याला-मजदुरी गरे बिहान-बेलुकाको छाक टार्दै आउनुभएका विकलाई दशैँको चहलपहलले छोएको छैन । २५ वर्षीया श्रीमती चनी विक, नौँ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरासहित भएभरको जायजेथा बगाएपछि विक घरबार र आफन्तविहीन हुनुहुन्छ । विकलाई अहिले एक्लो ज्यानसमेत पाल्न धौधौ भइरहेका बेला चाडपर्वले थप पीडा दिएको छ ।

‘गरी खाउँ भने ठाउँ छैन, बस्ने घर छैन, यही बेला दशैँ आयो, दशैँले मलाई थप पीडा दिएको छ, सबैतिर रमाइलो छ, मलाई बिहान के खाउँ ? बेलुका के खाउँ भएको छ,’ विकले भन्नुभयो, ‘परिवार हुँदा सबैलाई पाल्न सक्थे, अहिले एक्लो ज्यान पाल्न मुस्किल परेको छ, चाडपर्व आएको होकी÷नआएको पत्तो छैन, मन पिरै पिरले भरिएको छ, के दशैँँ के तिहार, पहिलेको जस्तो रमझम छैन मलाई ।’

बाढीले ढोरपाटन नगरपालिका-६, ७, ८ र ९ का ३८ जनाको ज्यान लिएको थियो । २३ जनाको शव फेला परे पनि १५ जना अहिलेसम्म बेपत्ता छन् । बाढीले १३१ घरमा क्षति पुर्‍याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ढलान पुल पाँचवटा, काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाले उनीहरूका लागि पहिले राहतको व्यवस्था गरे पनि चाडपर्वका लागि कुनै सहयोग नगरेको बताउनुभयो । उहाँले राहत नपाएका पीडितलाई प्रदेश सरकारबाट आएको रकम वितरण गर्नका लागि पहल गरिरहेको बताउनुभयो ।

‘बाढीपीडित अहिले पनि निकै समस्यामा हुनुहुन्छ, धेरैले राहत पाएका छन्, अझै केहीले पाएका छैनौँ भन्ने गुनासो छ, प्रदेश सरकारबाट आएको राहत वितरणका लागि पहल थालेका छौँ’, उपप्रमुख कायतले भन्नुभयो, ‘चाडपर्वका लागि भनेर उनीहरूलाई खर्च दिएका छैनौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?