दाङमा ‘फरैना’ को परिचर्चा

Read Time = 3 mins

दाङ । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’को दाङमा परिचर्चा गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा ‘समीर’को अध्यक्षतामा उपन्यासको परिचर्चा गरिएको हो ।

सो अवसरमा भाषाविज्ञ नारायण नेपाल, साहित्यकार कमलमणि देवकोटा र उपप्रध्यापक केबी चौधरीले फरैना उपन्यासको परिचर्चा गर्नुभएको थियो । फरैना उपन्यास एउटा कमलरीको दुःख, संघर्ष गर्दै गर्दा अवस्था र त्यसपछिका उपलब्धिको बारेमा वर्णन गरिएको कार्यक्रममा बोल्ने वक्ताहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले आफ्नो सांगीतिक यात्रासँगै साहित्यिक यात्रामा प्रवेश गरेको र अझै परिस्कृत गर्दै आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउने बताउनुभयो । उहाँले फरैना एउटा नारी पात्र भएको र एउटा नारीले पनि हिम्मत गरे देशको राष्ट्रपतिसम्म बन्न सक्छ भन्ने कथावस्तु उपन्यासमा देखाइएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रध्यापक केबी चौधरीले फरैना थारू समुदायमा कमलहरीहरूले भोग्नुपरेको नारकीय जीवन र संघर्षको कथा भएको बताउनुभयो । ‘फरैनाले जमिनदार र कमैयाबीचको द्वन्द्व, अन्याय अत्याचार र विभेदको कथा बोलेको छ’, उहाँले भन्नुभयो, ‘उपन्यासमा कुनै ढाकछोप नगरी थारू समुदाय भावना व्यक्त गरिएको छ ।’ उहाँले उपन्यास एउटा उत्पीडनबाट उठेर राष्ट्रपतिसम्म बन्ने संघर्षशील नारी पात्रको सफलताको सुन्दर आख्यान भएको जिकिर गर्नुभयो ।

गजलकार एवं लेखक नारायण नेपालले पुस्तकमा पश्चिम तराईमा थारू समुदायले भोगेको ज्यादती, अन्याय र उत्पीडनबारे सरल ढंगले प्रस्तुत गरिएको बताउनुभयो । कार्यक्रममा साहित्यकार, कलाकर्मी र पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का जिल्ला सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?