रुपन्देही क्षेत्र नं २ मा बिष्णु पौडेल भर्सेस राजु गुरुङ

Read Time = 4 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवारकारुपमा गुरुङले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँसँगै मनोनयन दर्ता गराउन रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन दलका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय सम्म पुगेका थिए । युवाहरुमाझ लोकप्रिय मानिँदै आएका गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धा गर्नु हुनेभएको छ ।

मनोनयन दर्तापछि पत्रकारहरुसंग कुरा गर्दै गुरुङले यसपटक गठबन्धनले एमालेको गढ तोडिने बताउनु भयो । उहाँले पौडेलले झुट्टा आश्वासन बाँड्दै आएको आरोप लगाउँदै मतदाता यसपटक भ्रममा नपर्ने समेत बताउनु भयो। ।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रदेशसभामा (क) बाट काँग्रेसका दीर्घबहादुर केसी र (ख) मा नेकपा माओवादीका नेता बामदेव क्षेत्री घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

उता नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराउनु भएको छ ।
दलबलसहित बुटवल उपमहानगर रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका पौडेलले मनोनयन दर्ता गराउनु भयो ।

उम्मेदवारी मनोनयन दर्ता गराउनुअघि पौडेलले जनतासँग गरेका वाचा पुरा गर्न पुनः उम्मेदवारी दिएको वताउनु भयो । संचारकर्मीसँग कुरा गर्दै पौडेलले रुपन्देहीमा राप्रपासँग तालमेल भएको जनाउँदै आफ्नो पार्टीका उम्मेदवार विजयी बन्ने दावी गर्नु भयो ।

पौडेलले सधैंझैं रुपन्देहीका क्षेत्र नं. २ का मतदाताले हामीलाई निर्वाचित गर्ने विश्वास व्यक्त गर्नु भयो । पौडेलले भन्नुभयो ‘यहाँ सुरु गरिएका विकासका आयोजनाहरु सम्पन्न गर्न र थप आयोजना सुरु गर्न विशेष गरी शिक्षा स्वास्थ्य, र रोजगारीको क्षेत्रमा क्रान्तिकारी कदम चाल्नका लागि हामीलाई आफ्नो प्रतिनिधिको रुपमा मतदाताले स्वीकार गर्नुहुनेछ भन्ने विश्वास छ ।’

पौडेलले आफुले जनतासँग गरेका प्रतिवद्धता कार्यान्वयन गर्दै आएका वताउँदै जनतासँग गरिएका वाचाहरु कार्यान्वयन गर्ने बताउनु भयो । रुपन्देही २ मा मतदान केन्द्र १३१ मतदान स्थाल २३ वटा रहेका छन् । रुपन्देही २ क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वटा वडाहरु पर्छन् । यो क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?