चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

Read Time = 2 mins

चितवन । चितवन मेडिकल कलेज तोडफोडको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नौ जना विरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरुसहित नौ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको उहाँले बताउनुभयो । अन्यको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन, २०६६ को संशोधन, २०७९ अनुसार मुद्दा दर्ता गरिएको पण्डितले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ को संशोधन, २०७९ अनुसार स्वास्थ्य संस्था तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याउनेलाई तीन वर्षसम्म कैद वा रु तीन लाख जरिवाना हुने व्यवस्था रहेको छ ।

यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा क्षति भएको थियो । सो घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?