तामाकोशीका संस्थापकबाट हकप्रद रकम चुक्ता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम चुक्ता गरेका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि सेयरधनीलाई एक कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर सय रुपैयाँ अंकित दरका हकप्रद सेयर निष्कासन गर्दैछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सर्वसाधारणतर्फको सेयर निष्कासनअघि कम्पनीका संस्थापक नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम चुक्ता गरेका हुन् । संस्थापकहरूले पाँच अर्ब ४० करोड नौ लाख रुपैयाँ चुक्ता गरेका छन् ।

१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको दुई/दुई प्रतिशत संस्थापक सेयर रहेको छ । सेयर स्वामित्वअनुसार प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानले २१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयरबापतको रकम चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ८.८४, दोलखावासीको १० र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।

सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्नेछ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखावासीले एक अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्नेछ । हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोशी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवा-ब्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने बताउनुभयो । कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा छ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ । अल्पकालीन ऋणको साँवा–ब्याज चुक्तापछि बाँकी रहेको र माथिल्लो तामाकोशीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । यसैबीच कम्पनीको १५औंँ वार्षिक साधारणसभा गत बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?