बाढी पीडितका दुःख : न सुत्ने ठाउँ छ, न भोक मेट्ने कुनै मेसो

हिमालय टाइम्स
Read Time = 4 mins

विवेक खड्का/हिटा
दाङ । घरभित्रका कोठाहरू सबै हिलोले पुरिएका छन् । धान कुटाएर राखेको चामल सबै भिजेको छ । भात भान्साको लागि आगो बाल्ने ठाउँसम्म छैन । छिन-छिनमा परिरहने पानीले हरिभजन चौधरीको सातो उडाउँछ । एक निद्रा सुत्ने ठाउँ पनि ओभानो छैन । न निद्रा छ न भोक मेट्ने कुनै मेसो । हरिभजनकी श्रीमती नीमा भिजेका सामान केलाउँदै हुनुहुन्छ तर घर जस्तै मन पनि ओभानो छैन । एक छाकको लागि पनि चामल बचेन । भत्ता बुझेको पैसा पनि बाढीले बगायो । लमही नगरपालिका-२ सोनपुर निवासी हरिभजन र नीमा सरकारको पर्खाइमा हुनुहुन्छ तर त्यहाँ कसैको नजर परेको छैन । ‘हिलो मात्रै छ । चामल पनि भिज्यो । के खाने, कसरी बाँच्ने ?’ नीमाले हिमालय टाइम्ससँग भन्नुभयो- ‘कसले हेर्छ हामीलाई ?’

लमही नगरपालिका-७ हस्नापुर निवासी जयप्रकाश चौधरीको घर बाढीले भत्कियो । बाढीले घर भत्किएपछि पीडितहरूको विचल्ली भएको छ । ‘सबै सामान घरले पुरिदियो । निकाल्न खोज्दैछौं,’ उहाँले भन्नुभयो- ‘यही एकसरो कपडा बचेको छ ।’ बाढी पीडितहरूले सरकारको अनुभूति गर्न पाएका छैनन् तर स्थानीय सरकारले भने बाढीबाट भएको क्षतिको विवरण संकलन सुरु गरेको जनाएको छ ।

दाङमा करिब तीन हजार घर डुबानमा परेका छन् । राप्ती नदी, बबई नदी र अन्य खहरेखोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार ९५२ घर डुबानमा परेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । घर डुबानमा परेपछि विस्थापित भएकाहरू आफन्तको घरमा आश्रय लिएर बसेका छन् । एक सातादेखि लगातार पानी पर्दा २०३ घर पूर्णरूपमा भत्किएका छन् । एक सय बढीलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सक्रियतामा बाढीमा फसेकाहरूलाई उद्धार गरिएको हो । जिल्लाका सबैभन्दा बढी लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित भएका छन् ।

यस्तै, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिकाका अधिकांश वडा बाढीका कारण प्रभावित भएका छन् । यसपालिको बाढीले किसानले गरेको धान खेती नष्ट भएको छ । पाकेर काट्न ठिक्क परेको धान डुबानमा परेको छ । लमही नगरपालिकामा एक हजार ४६१ घर डुबानमा परेका छन् । ४३ घर पूर्णरूपमा भत्किएका छन् । यस्तै राजपुर गाउँपालिकाका २२१ घर डुबानमा परेका छन् । १५ घर पूर्णरूपमा भत्किएका छन् । राप्ती गाउँपालिकामा ६१० घर डुबानमा परेका छन् । ६५ घर पूर्णरूपमा भत्किएका छन् । गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् । ८० घर भत्किएका छन् । यो प्रारम्भिक तथ्यांक हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?