पोखरा पुग्यो रनिङ ट्रफी

हिमालय टाइम्स
Read Time = 6 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य छवटा प्रदेश तथा तीनवटा विभागीय टोलीमा पुर्‍याइएको थियो । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफी अनावरण गर्नुभयो ।
त्यस अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

राष्ट्रिय खेलकुदको गरिमा र महŒवलाई दृष्टिगत गर्दै परिषद्ले पहिलोपटक ट्रफी टुर कार्यक्रम सञ्चालनमा ल्याएको हो । ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता कराँतेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सहभागी हुनुहुन्छ ।

उहाँहरूलाई मुख्यमन्त्री पोखरेलले स्वागत गर्दै चार दशकपछि प्रतियोगिता आयोजना गर्न पाउनु गण्डकीवासीका लागि गौरवको विषय भएको बताउनुभयो । राष्ट्रमा खेलकुदको विशिष्ट महŒव रहेकाले यस खेललाई भव्यताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा ल्याइएको ट्रफी पोखराका विभिन्न स्थानका साथै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य फेवातालस्थित तालबाराही मन्दिरको परिक्रमा गराएर सुरक्षा निकायको जिम्मा लगाइएको छ । पोखराको तालबाराहीमा ट्रफीसहित ट्रफी टुरमा सहभागी राष्ट्रिय खेलाडीलाई महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत गर्नुभयो ।

चार दशकको अन्तरालपछि पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद समग्र पोखरेलीका लागि गर्वको विषय भएको महानगरप्रमुख आचार्यले बताउनुभयो । यस राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्नका लागि महानगरका तर्फबाट सक्दो सहयोग हुने उहाँले विश्वास दिलाउनुभयो ।

नवौं राष्ट्रिय खेलकुदको अवसर पारेर मंगलबार बृहत् फेवाताल सरसफाइ अभियान सञ्चालन गरिएको पनि महानगरप्रमुख आचार्यले जानकारी दिनुभयो । विसं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकुद सम्पन्न गरेको पोखराले चार दशकपछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तेजबहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताअन्तर्गत विभिन्न ३६ खेल हुने भएका छन् ।

यही असोज २८ गते औपचारिकरूपमा उद्घाटन हुने प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बागलुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैनन् ।
खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नाष्टिक, हृयाण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रंगशालामा हुनेछ । पुरुष बास्केटबल पोखरामा र महिला बास्केटबल तनहुँमा हुने भएको छ । आर्चरी र फेन्सिङ पोखरा रंगशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ ।

पौडी पोखराको फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको हृयाण्डबल एकेडेमीमा खेलाइने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?