कर्णालीबाट स्वतन्त्रसहित तीनजना मात्र महिला उम्मेदवार

हिमालय टाइम्स
Read Time = 4 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । कर्णाली प्रदेशका १० जिल्लाबाट तीनजना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन महिला चुनावमा भिड्दै छन् ।

जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा हुनुहुन्छ ।

जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिनु भएएको छ भने राप्रपा नेतृ कुन्ती दैलेखमा गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

दुवैजनाले संविधानसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएर संघीय सरकारमा राज्यमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । कुँवर २०७० को दोस्रो संविधानसभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बन्नुभएको थियो भने राप्रपा महामन्त्री शाही २०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र २०७४ मा ३ महिना शहरी विकासमन्त्री हुनु भएको छ ।

दुवैजना पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लड्नुभएको थियो । जसमा कुन्ती दुवैपटक सफल हुनु भयो भने गोमा पहिलो निर्वाचनमा असफल भए पनि दोस्रोपटक सफल हुनु भयो।

जुम्लाको विकट तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँमा जन्मनुभएकी गोमा १४ वर्षकै उमेरमा जनयुद्धमा लाग्नुभएको थियो । २०५६ सालमा वीरबहादुर कुँवरसँग उहाँले जनवादी विवाह गर्नुभयो ।

कुन्ती शाहीको राजनीतिक यात्रा भने अनेरास्ववियुबाट शुरु भएको हो । २०४७ सालमा राप्रपामा लाग्नुभएको उहाँले राप्रपाको महामन्त्री बन्न झण्डै तीन दशक संघर्ष गर्नुपर्‍यो । उहाँको पारिवारिक पृष्ठभूमि पञ्चायती राजनीति नै भएकाले उहाँ राप्रपाको राजनीतिमा समावेश हुनु भएको थियो ।

विद्यार्थी राजनीतिमा उहाँले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा निकै लोकप्रियता कमाउनुभएको थियो। अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष हुनु हुन्थ्यो ।

शाहीसँग प्रतिस्पर्धामा रहेका एमाले नेता रवीन्द्रराज शर्मा दोस्रोपटक चुनाव लड्दै हुनुहुन्छ भने गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापा दैलेखका लागि पुरानै अनुहार हुनु हो ।

त्यस्तै डोल्पाबाट प्रतिनिधिसभामा बदमी क्वारा बुढाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यसअघि डोल्पाबाट प्रदेशसभा सदस्य रहकी बुढा नेकपा एमालेले अन्तिममा आएर समाजवादीबाट एमालेमा प्रवेश गर्नुभएका गणेश शाहीलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?