हारबाट जोगियो म्याड्रिड

Read Time = 3 mins

मड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । रियलले समूह चरणको चौथो खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १-१ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै रियल समूहमा अपराजित रहेको छ ।

घरेलु टोली डोनेस्कका ओलेकसान्डर जुभकोभले गोल गर्नुभएको थियो । रियलका रुडिगरले इन्जुरी समयको थप गरिएको पाँचौं मिनेटमा बराबरी गोल फर्काउनुभयो । खेलको ४६औं मिनेटमा जुभकोभले बोगडानको पासमा गोल गर्दै डोनेस्कलाई अग्रता दिलाउनुभएको थियो । इन्जुरी समयमा रुडिगरले टोनी क्रुसको पासमा हेडमार्फत् गोल गर्दै रियललाई हारबाट जोगाउनुभयो ।

यस बराबरीसँगै गत सिजनको विजेता तथा सर्वाधिक १४ पटकको च्याम्पियन रियल म्याड्रिड समूह चरणको दुई खेल बाँकी छँदै यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

रियलले अब समूह चरणमा आरबी लाइप्जिग र सेल्टिकसँग खेल्न बाँकी छ । यी दुई खेलमा अंक गुमाए पनि रियललाई अघि बढ्न फरक पर्ने छैन । समूह ‘एफ’ मा अपराजित रहेको रियलको चार खेलबाट १० अंक पुगेको छ । समान खेलबाटै लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा उक्लँदा साख्तर पाँच अंक जोडेर तेस्रो तथा एक अंक जोडेको सेल्टिक पुछारमा छ ।

यही समूहको अर्काे खेलमा लाइप्जिगले सेल्टिकलाई २-० ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘जी’ को खेलमा म्यानचेस्टर सिटी पनि एफसी कोपेनहेगनसँग बराबरीमा रोकिएको छ । यस बराबरीका बाबजुद सिटीको चार खेलमा १० अंक छ । टोली अझै अंकतालिकाको शीर्षस्थानमा रहेको छ । सिटीले यसअघि भने तीनै खेलमा जित हासिल गरेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?