‘नालापानी’ लाई कर छुट दिन आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्राचार

Read Time = 5 mins

काठमाडौं । कात्तिक ४ गतेदेखि देशभकार सिनेमाघरमा आउने तयारी गरेको ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्र ‘नालापानी’ लाई कर छुट दिन पहल गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल गरेको बताउनुभयो ।

‘बुधबार सञ्चार सचिव डा.बैकुण्ठ अर्यालसँगको भेटमा नालापानीलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छु । सचिवले तुरुन्तै अर्थ मन्त्रालयमा पत्राचार गर्नुभएको छ’, केसीले भन्नुभयो, ‘नेपालको गौरवगाथा बोकेको यो चलचित्र नेपालको ऐतिहासिक विषयमा बनेको हुँदा र चलचित्र विकास बोर्डले विशेष चलचित्र घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरीसकेकाले पनि कर छुटका लागि योग्य छ भनेर मैले पहल सुरु गरेको हुँ । यतिमात्रै नभएर हलमा देखाइने विज्ञापनलगायत पनि सहजीकरणका लागि पहल गरिरहेको छु ।’ नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारीले ढिलै भए पनि राज्यले सुविधा दिन खोजेकोमा खुशी व्यक्त गर्नुभयो ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो । यसमा वीर योद्धा कुँवर र उहाँका ६ सय सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा जीवन्त देखाइएको छ । चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको हो ।

प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा.डा.धनराज कुँवर, प्रा.डा.त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथी डा.प्रेम सिंह बस्न्यातहरूसँग पटकपटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायत पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको जनाइएको छ ।

यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान विजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रालि, वीर गोर्खाली फिल्मस प्रालि, गंगानारायण फिल्म प्रोडक्सन प्रालि र बिजी बी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर छ ।

‘नालापानी’का एसोसिएट निर्माता सपनकुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?